भारत जाने कामदारका लागि ५ लाखको बिमा

भारत जाने कामदारका लागि ५ लाखको बिमा
आप्रवासी कामदारहरूको बिमाबारे सरोकारवालाबीच अन्तक्रिया कार्यक्रम। तस्बिर : कृष्ण बिष्ट
सुन्नुहोस्

बैतडीको पाटन नगरपालिकाले भारत जाने कामदारका लागि पनि बिमा कार्यक्रम सुरु गरेको छ।

बैतडी : पासपोर्ट र भिसा प्रणाली लागू भएका देश अथवा तेस्रो मुलुक जानेहरूका लागि सरकारले अनिवार्य बिमाको व्यवस्था गरेको छ तर पासपोर्ट भिसा बिना नै जान पाउने देश भारत हो। बैतडीको पाटन नगरपालिकाले भारत जाने कामदारका लागि पनि बिमा कार्यक्रम सुरु गरेको छ। आवधिक रोजगारीको क्रममा भारतमा रहेकाहरूको सुरक्षाको लागि वार्षिक दुर्घटना बिमा गर्न लागेको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए। 

भारत जाने कामदारको तथ्यांकसमेत उपलब्ध नहुने अवस्थामा नगरपालिकाले सबै आप्रवासी कामदारको बिमा कार्यक्रम अघि सारेको हो। ‘भारतमा रोजगारीका लागि गएका कामदारहरूको ५ लाख रुपैयाँसम्मको दुुर्घटना बिमा गर्ने अभियानको सुरुवात गरेका छौं। दुर्घटनामा परेका अवस्थामा सोही बिमाबाट निःशुल्क उपचार हुन्छ’, नगर प्रमुख रावलले भने। 

नगरपालिकाले बिमाका लागि सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ। प्रत्येक वडा कार्यालयबाटै आगामी फागुन ११ गतेबाट बिमा फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ। यहाँका धेरै युवा रोजगारीका लागि भारत जाने गरेका छन्। त्यहाँ गएकाहरू दुर्घटनामा परी अंगभंग भएर फर्किने गरेकाले निःशुल्क उपचार गर्न कार्यविधि बनाएर बिमा गर्न लागिएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए। 

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीले बिमा कार्यक्रममा साझेदारी गरेको छ। रोजगारीका लागि भारतमा रहेकाहरूको परिवारले समेत बिमा भर्न सक्ने छन्। बिमाकै लागि पहिलो किस्ता भर्न चालू आर्थिक वर्षमा नगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ भने साझेदार निकाय रुडेसले १ लाख ९३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। पाटन नगरपालिकामा १५ सयभन्दा बढी नागरिक आवधिक रोजगारीको लागि भारतमा रहेको नगरपालिकाले जनाएको छ। सबैलाई यस कार्यक्रममा समेट्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। वडा कार्यालयबाट भारतमा रहेकाहरूको तथ्यांक संकलन गरेका छन्। पाटन–८ का वडाध्यक्ष हरिश बिष्ट भन्छन्, ‘रोजगारीमा जानेको अभिलेख राखेका छौं। घाइते वा मृत्यु भएका परिवारलाई आयआर्जनमूलक कार्यमा समेट्ने योजनामा छौं।’

आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालका अनुसार सुदूरपश्चिमका ९ जिल्लाबाट झन्डै ७ लाख मानिसहरू कामका लागि भारत जाने गरेका छन्। कामका लागि भारत गएर अंगभंग भएका, भारतमा बेपत्ता भएका, मृत्यु भएका परिवारलाई कुनै पनि सेवासुविधा छैन। निड्सका कार्यक्रम प्रबन्धक प्रकाश भडै भन्छन्, ‘पछिल्लो अध्ययनमा १० वर्षयता भारतमा बेपत्ता र मृत्यु हुनेको संख्यामा मात्रै पाँच सयभन्दा बढी छ। दुर्घटनाका घटनाको कतै रेकर्ड नै छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.