कैलाशका राजा पार्वतीपति पनि उनी नै हुन्, अनि हुन् मसानवासी कालस्वरूप पनि। कस्तो कस्तो परस्पर विरोधाभाषपूर्ण लाग्छ यो शिवतत्त्व ! कतै यो द्वन्द्वात्मक सनातन संस्कृतिको द्योतक त हैन ? कि त यो सापेक्षतावादको उत्कृष्ट उदाहरण नै हो ? अबोधगम्य छ शिवस्वरूप।
अव्यक्त अनि शून्य निराकार परब्रह्म मानौं कि व्यक्त मूर्तिमय साकार ईश्वर ? भयानक रुद्र भनौं या आशुतोष (चाँडै प्रसन्न भइदिने) भगवान् ? भोलेबाबा मानौं या भैरव अवतार ? अचलेश्वर शम्भु उनै हुन्, ताण्डव नाच्ने नटराज पनि। संहारकर्ता महादेव उनै मानिन्छन्, सृष्टि जनाउने शिवलिंग स्वरूप पुजिन्छन् पनि उनी नै। कैलाशका राजा पार्वतीपति पनि उनी नै हुन्, अनि हुन् मसानवासी कालस्वरूप पनि। कस्तो कस्तो परस्पर विरोधाभाषपूर्ण लाग्छ यो शिवतत्त्व ! कतै यो द्वन्द्वात्मक सनातन संस्कृतिको द्योतक त हैन ? कि त यो सापेक्षतावादको उत्कृष्ट उदाहरण नै हो ? अबोधगम्य छ शिवस्वरूप।
ब्रह्माण्ड सृष्टिको रचनागर्भ भनौं या प्रलय–अन्त्य पछिको विस्मृति ! आदिदेखि अन्त्यसम्मको स्थायी साक्षी ! फेरि त्यही अनन्त शून्य नै त हो एकमात्र सत्य। त्यसैलाई नै त हो अव्यक्त निराकार शिवतत्त्व मानिएको। सत्यम्–शिवम्–सुन्दरम् त्यही नै त हो। तर त्यसको व्यक्त पक्ष पनि छ, अन्योन्याश्रित रूपमा सृष्टिक्रमदेखि नै गाँसिएको। आदियोगीका रूपमा हिमालयको काखमा आई योगविज्ञानको प्रादुर्भाव गरेर त्यो दिव्यज्ञान सप्तऋषिहरूमा विस्तार गरी मानवीय चेतना प्रतिस्थापन विधिको सूत्रधार पनि उनै ब्रह्माण्डका प्रभु विश्वनाथ नै त हुन्। विश्वब्रह्माण्ड, प्राणीजगत्, मानवीय अस्तित्व सबैलाई एकैसाथ समेट्न सक्ने कि त शून्यता नै हो, नत्र भने योगमय ज्ञान–विज्ञानले नै हो। अतः ‘एकतामा अनेकता’ अनि ‘अनेकतामा एकता’ यही नै त छ शिवतत्त्वको विशेषता।
अर्धनारीश्वर भनेर शिवशक्तिको भनौं या प्रकृति (स्त्री)पुरुषको समष्टिगत रूपमा पनि पुजिएका छन् शिव। शक्तिको अभिन्न आयामका रूपमा महाकाली शिवको छातीमा अडिरहेको कथात्मक प्रस्तुति पनि हामी पाउँछौं। उमाशंकर मानौं या महाकाली–महादेव, सृष्टि–स्थिति–संहार सबैमा परिपूरक देखिन्छन् स्त्री एवं पुलिंगी शक्ति। काली एवं शिवको परिपूरकता तन्त्रविद्यामा पनि साक्षात्कार भएको पाइन्छ।
सृष्टिचक्रको सुरुआती समयमा समुद्र मन्थन गर्दा नकारात्मक प्रत्युत्पादनका रूपमा आएको कालकुट विषलाई सर्वकल्याणका खातिर हाँसीहाँसी पिएर नीलकण्ठ बनेका शिवलाई लोकोपकारको प्रतिविम्ब मान्छन् सबै सनातन धर्मावलम्बीले। घाँटीको त्यही ठाउँ नै विशुद्धिचक्रको स्थान हो, जसले चित्तका हानिकारक प्रवृत्तिहरूलाई छान्ने काम गर्ने विश्वास गरिन्छ। यसरी शिवकथाका हरेक विम्बले हाम्रो जीवन र जगत्का विविध विषयलाई प्रतिविम्बित गरिरहेको पाइन्छ।
शिवसँग सम्बन्धित अन्य अवयवहरू पनि कम रुचिकर छैनन्, लाग्दैनन्–
१. उनको निधारमा रहेको अर्ध चन्द्रले समय (काल)को नियमन गर्ने शिव सामथ्र्यलाई जनाउँछ। चन्द्रमाको गुरुत्वाकर्षण शक्तिले सामयिक सामुद्रिक ज्वारभाटा उत्पन्न गराउने सांकेतिक विम्बले चन्द्रशेखर शिवको कालातीत शक्तिको प्रतिनिधित्व गर्छ।
२. शिवको शरीरमा घसिएको मसानको खरानी (भष्म)ले जीवन–मृत्युको चक्रबाट पर रहने उनको अस्तित्वलाई बुझाउँछ।
३. शिरमा रहेको जटाले उनको प्राणवायुसँगको सम्बन्धलाई जनाउँछ।
४. गंगाधर शिवको शिरबाट बहने गंगा पवित्रता, उर्बरता अनि शान्तिको द्योतक हो। ज्ञानरूपी गंगा पनि उनैबाट बहने हो।
५. उनीसँग तेस्रो आँखा पनि छ, जसलाई प्रज्ञाचक्षु मानिन्छ। मानिसको शरीरमा विद्यमान दुई आँखा ज्ञानेन्द्रीयमात्र हुन् जसले सामान्य भौतिक हेराइका लागि सहायता गर्छन्। तर त्रियम्बक शिवमा रहेको तेस्रो आँखा भने समता, साधुता, दूरदृष्टि, आशक्ति अनि कामना परित्यागका लागि आवश्यक मानिन्छ। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा तेस्रो आँखा रहने स्थानमा पिनियल ग्रन्थी रहेको हुन्छ, जसले मेलाटोनिन अनि एन–एसिटायिल–सेरोटोनिनजस्ता रसायनहरूको उत्पादन गर्छ। यी दुई तत्त्वले क्रमशः निद्रा अनि स्वस्थ मनस्थितिका लागि कार्य गर्ने गर्छन्। त्यस्तै, तेस्रो आँखा चेतनाको उच्चतम प्रयोग एवं आध्यात्मिक उन्नतिका लागि पनि महत्त्वपूर्ण ठानिएको छ। योगाभ्यासद्वारा हामी पनि तेस्रो नेत्र खोल्न सक्छौं, योगगुरु शिवले त्यही प्रेरणा नै त दिन्छन्।
६. शिवका ती आँखा आधा मात्र खुलेका छन्, जसले ब्रह्माण्डीय सृष्टिचक्र चलायमान रहेको संकेत गर्छ। ती आँखा पूरा बन्द भएमा प्रलय या संहार हुने, अनि फेरि खुलेपछि नयाँ सृष्टिचक्रको सुरुआत हुने बताइएको छ।
७. उनको घाँटीमा सर्पमालाले तीन फन्को लगाएको छ। जसले भूत, वर्तमान र भविष्य गरी कालका तीन चरणलाई जनाउँछ। शिव भने ती कालचक्रबाट निष्प्रिय छन्। शिवभित्र निष्कृय रूपमा रहेको कुण्डलिनी शक्तिलाई पनि यसले प्रतिविम्बित गरेको मानिन्छ।
८. उनको निधारको त्रिपुण्डले भने सात्विक, राजसिक अनि तामसिक गरी तीन गुणलाई जनाउँछन्। यी तीनलाई व्यक्तित्वका तीन प्रकारका रूपमा पनि व्याख्या गर्ने गरिएको छ।
९. शिवले बाघको छाला बेरेका छन्। बाघ पार्वतीदेवीको वाहन हो। यसले शिव शक्तिको स्वामी अनि उनको वासनामाथि नियन्त्रण गर्न सक्ने सामथ्र्यलाई देखाएको छ।
१०. उनले लगाएका रुद्राक्ष माला ब्रह्माण्डीय नीतिनियमहरूको परिपालनाको परिसूचक हो।
११. प्रणवनाद गर्ने डमरुले शब्दब्रह्म ओमकारको प्रतिध्वनि निकाल्छ। सृष्टिको प्रारम्भमा शिवको डमरु १४ पटक कम्पन गर्छ जसले संस्कृत भाषाका १४ स्वरवर्णको उत्पत्ति गरेको मानिन्छ। त्यसैले नै, अक्षर, भाषा अनि व्याकरणका स्वामी हुन् शिव। गहिरो ध्यानको बेलामा पनि त्यो नादब्रह्मको श्रवण गर्न सकिन्छ। संगीत अनि नृत्यका प्रवर्तक पनि हुन् शिव। ताण्डव नृत्यको बेलामा पनि डमरु बज्छ।
१२. त्रिशूलका तीन शुलहरूले शिवका तीन शक्तिहरू : इच्छा, क्रिया एवं ज्ञानको संकेत गर्छन्। त्यस्तै, यसले स्थूल, सूक्ष्म एवं कारण स्वरूप जीवका तीन शारीरिक अवस्थालाई पनि जनाउँछ।
१३. शिवको कमण्डलुमा पवित्र अमृत छ, जसलाई प्राप्त गर्न भौतिक इच्छाहरूको परित्याग गरेर अध्यात्मको शरण पर्नुपर्छ।
१४. शिवका दुई कुण्डलहरूले परमात्माका दुई स्वरूपहरूलाई जनाउँछन् : अलक्ष्य एवं निरञ्जन। अर्थात्, बाहिरी लक्षणहरूबाट पार नपाइने अनि भौतिक आँखाले नदेखिने। त्यस्तै, यिनले सृष्टिका लागि अपरिहार्य शिव एवं शक्तिका स्वरूपलाई पनि जनाउँछन्।
१५. शिवको निवास कैलाश पर्वत ब्रह्माण्डको केन्द्रभाग एवं शान्तिक्षेत्र हो।
१६. शिवको वाहन नन्दी सत्कर्म एवं धैर्यको प्रतीक हो। ध्यानावस्थामा धैर्य आवश्यक हुन्छ, अन्ततः परमात्मा तत्त्वको बोध भएरै छोड्छ।
१७. शिव एक असल श्रीमान् अनि आदर्श प्रेमी हुन्। हामीले माघ महिनाभर सुन्ने गरेको श्रीस्वस्थानी व्रतकथामा यसको प्रशस्त उदाहरण पाउँछौं। जस्तैः सतीदेवीको मृत शरीर बोकेर शोकमय अवस्थामा संसारभर विचरण गरेको, पार्वतीसितको विहार आदि प्रसंग। लिंगस्वरूपमा होस् या मूर्ति अनि तस्बिरमा, शिव पार्वतीको प्रायः अस्तित्व एकसाथ नै रहेको छ। अझ उनको अर्धनारीश्वर स्वरूप नै प्रसिद्ध छ।
१८. शिव परिवारलाई एक आदर्श परिवार मानिन्छ। दुई पत्नी पार्वती एवं गंगा, दुई पुत्र गणेश एवं कुमार मात्र नभई भूतप्रेत, एकादश रुद्र, वीरभद्र, महाकाली, भृंगीलगायत गणहरू आपसमा मिलेर बसेको पाउँछौं हामी। अझ, वाहनहरूमा नन्दी (साँढे) र बाघ, मुसा र मयूरजस्ता विपरीत अनि शत्रुतापूर्ण सम्बन्ध भएका प्राणीहरूलाई एकसाथ बाँधेर राखेका छन् शिवले बृहत् परिवारमा। यसैमा पनि द्वन्द्वभित्रको सन्तुलन भनौं या सापेक्षतावादको सिद्धान्त नै लागू भएको हो कि ? पारिवारिक मूल्यमान्यता, पे्रम, सौहार्द्रता, एकता अनि मेलको अनुपम उदाहरण पाइन्छ यहाँ।
१९. उनी सबै प्राणीलाई बराबर माया गर्ने पशुपतिनाथ पनि हुन्।
२०. पुराणका कथाहरूमा पनि वर्णित छ, उनी पक्षपाती पटक्कै छैनन्। देवता र दानव दुवैबाट पूजित अनि दुवैप्रति तटस्थ छन् उनी। वृहस्पति हुन् या शुक्राचार्य, मंगल होस् या शनि, राम हुन् या रावण, राहुकेतु नै किन नहुन् ? सबैका लागि बराबर नै छन् उनी।
अब कुरा गरौं, शिवलिंगको। ऐतिहासिक अभिलेख या प्रमाणहरूको अन्वेषण गर्दा वैदिक युगमा अग्नि, सोम आदि देवताहरू सँगसँगै रुद्रका रूपमा मानिएका, पछि गएर त्रिदेवमध्येका एक संहारकर्ता शंकरस्वरूप जानिएका महादेव अन्ततः शिवलिंग अर्थात् सृष्टिका प्रतीकका रूपमा स्थापित भएका छन्।
कसैकसैले सर्वव्यापक ब्रह्मको निराकार शून्यताको बोध गराउन यो लिंगस्वरूपको परिकल्पना गरेको हो भनेर पनि मान्छन्। अझ कोही यसलाई बीजस्वरूप ईश्वरको चिह्न नै पनि ठान्छन्। सृष्टिको सुरुवात पिण्ड या कोषबाट नै भएको थियो। जो गोलाकार थियो। त्यसैलाई तेजोमय ज्योतिर्लिंग मान्ने पनि धेरै नै छन्।भन्न सहजै सकिन्छ कि शिवतत्त्व के हो ? निर्गुण या सगुण ? संहारकर्ता कि सृष्टि रूपान्तरक ? ॐ नमः शिवायः !