आत्माले देहको माध्यमबाट कर्म गर्दा देहको आकर्षणमा आउन थाल्छ अनि मानव आत्मा काम, क्रोधादि विकारको वशमा पर्न थाल्छ। पापाचार र दूराचार बढेपछि यी विकारबाट मुक्त बनेर काम गर्ने मानव नै देवता हुन्।
प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीमा महाशिवरात्रि पर्व मनाइन्छ। नेपाल, भारत तथा हिन्दू धर्मावलम्बीको बहुलता भएको क्षेत्रमा यो पर्व धूमधामसँग मनाइन्छ। यस पर्वमा भगवान् शिवको आराधना, ध्यान, भजन, कीर्तन आदि गरेर भक्तहरूले भक्ति तथा श्रद्धाभाव व्यक्त गर्छन्। विश्वका करिब ६० मुलुकमा रहेका करोडौं ब्रह्माकुमारिज अभियन्ताहरूले पनि यो पर्व धूमधामसँग मनाउँछन्।
वास्तवमा भगवान् शिव को हुनुहुन्छ ? उहाँको नाम, रूप, देश, काल कुन हो ? उहाँले यस सृष्टिमा के कर्तव्य गर्नु भएको थियो र किन उहाँको यति महिमा छ ? उहाँलाई हामीले कसरी बुझेका छौं र उहाँको व्रत गर्ने फलदायी उपाय के र कसरी हुन सक्छ ? यिनै जिज्ञासाको निरूपणका लागि स्वयं परमपिता परमात्मा शिवले सृष्टिको नियमअनुसार चलाउनु भएका महावाणीका आधारमा केही गुह्य रहस्य स्पष्ट गर्ने प्रयास गरिएको छ।
यस पर्वलाई सृष्टिमा काम, क्रोध, लोभ, मोह, अहंकारको बिगबिगी भएको सृष्टिकै घोर अज्ञान अन्धकार क्षणमा भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट शिवरात्रि नामकरण गरिएको हो। शिव र पार्वतीको विवाह भएको दिनका रूपमा पनि वर्णन गरिएको महाशिवरात्रि पर्वलाई सम्पूर्ण दीन, दुःखी र कष्टपूर्ण जीवन बिताइरहेका प्राणीको हृदयमा धर्मको उदय गराउने दिनका रूपमा पनि लिने गरिन्छ।
सम्पूर्ण आत्माका परलौकिक परमपिता परमात्मा शिव अजन्मा, अभोक्ता, अशरीरी, अयोनिज हुनुहुन्छ। उहाँ एक निराकारी र अविनाशी सत्ता हुनुहुन्छ। शिव ज्योतिर्बिन्दु स्वरूप हुनुहुन्छ। शिव जन्म–मरणको चक्रमा आउनुहुन्न तर सृष्टिको नियमअनुसार कल्पको एकपटक भारतखण्डमै परकाया प्रवेश गरेर सत्य ज्ञानको उद्वोध गर्नुहुन्छ। यही सत्य ज्ञानद्वारा काम, क्रोध, लोभ, मोह, अहंकार आदि विकारबाट ग्रसित मानव सभ्यता र त्यसबाट प्रकृतिमा परेको प्रभावबाट मुक्त गर्न धर्म ग्लानिको चरम स्थिति यस कलियुगको अन्त्यको समयमा आफूले नियुक्त गरेको भाग्यशाली रथको मुखारबिन्दुबाट यो ज्ञान दिनुहुन्छ। वास्तवमा जुन दिन यस सृष्टिमा भगवान् शिव परकाया प्रवेश गर्नुभयो, त्यही परमात्मा शिवअवतरणको दिनलाई नै शिवरात्रि भनिएको हो। यही दिन चक्रका रूपमा घुमिरहने सृष्टि चक्रको आरम्भको दिन पनि हो।
परमपिता परमात्मा शिवले सम्पूर्ण मनुष्य आत्माहरूलाई सत्य ज्ञान दिन शिवको रथ भनिएको आत्मालाई ब्रह्मा नाम दिनुभएको छ। त्यो ज्ञान निराकार शिवले प्रत्येक जीवात्मामा रहने निराकार आत्मालाई ब्रह्मामुखद्वारा दिनुहुन्छ। त्यो ज्ञान प्राप्त गर्ने सौभाग्यशाली आत्माहरू नै पार्वती हुन्। जन्म–मरणको चक्रमा आउने आत्माहरू परमपिता परमात्मा शिवका पारलौकिक सन्तान हुन्। अलौकिक रूपमा आत्माको परमात्मा शिवसँग सर्वसम्बन्ध हुन्छ। त्यसैले सांसारिक रूपमा पतिपत्नीको सम्बन्धलाई अत्यन्तै प्रिय सम्बन्धका रूपमा हेरिने भएकाले शिवले पार्वतीलाई अमरकथा सुनाउनु भयो भनिएको हो।
यथार्थमा निराकार परमात्माले साकार देहधारी ब्रह्मा तनको सहयोगले ज्ञान दिनु भएको हो। आत्माले जीवको सहारा नलिई कर्म गर्न नसकेजस्तै परमात्माले पनि जीवात्मालाई आधार बनाएर मात्रै सृष्टि रचना अर्थात् नवीन ज्ञान दिएर सृष्टिमा सत्यज्ञान दिने कार्य गर्नुहुन्छ। शिवका उपासकहरूले यथार्थमा शिवलाई आफ्ना पारलौकिक पितामात्र होइन, माता, बन्धु, सखा, पतिका रूपमा पनि लिन्छन्। त्यसैले भक्तिमार्गमा शिवलाई पार्वतीका पतिका रूपमा चित्रित गरिएको हो। परमपिता परमात्माले दिनु भएको ज्ञान एक पार्वतीलाई मात्र होइन, अपितु सम्पूर्ण आत्मालाई दिनु भएको हो।
निराकार ज्योतिर्विन्दु शिव यस सृष्टिका सर्वमान्य, सर्वशक्तिमान्, सर्वोपरी, सर्वज्ञ, सर्वश्रेष्ठ सत्ता हुनुहुन्छ। उहाँ नै प्रेम, शान्ति, सुख, ज्ञान, पवित्रता र शक्तिका स्रोत र सागर पनि हुनुहुन्छ। उहाँ नै यस अनादि सृष्टिका रचयिता हुनुहुन्छ। त्यसैले विश्वमा सबैजसो धर्म, आस्था र विश्वासमा परमात्मा अर्थात् परमेश्वरलाई ज्योति वा प्रकाशका रूपमा नै पूजा आराधना गरिन्छ। जब आत्मा देहको बन्धनमा आउँछ तब उसमा देह र देहको दुनियाँप्रति आकर्षण उत्पन्न हुन्छ। त्यस आकर्षणले मानिसलाई स्वार्थी काम गर्न प्रेरित गर्छ। सत्ययुग त्रेतामा मनुष्य आत्मामा देहको आकर्षण हुँदैन। आफूलाई आत्मा हुँ भन्ने चेतना मुखरित हुन्छ।
मानिसले कुनै पनि कामादी, क्रोधादि विकारको वश भएर मानव कल्याणको प्रतिकूल हुने कर्म गर्दैन अर्थात् कुनै विकर्म गर्दैन भने समाजमा स्नेह र सद्भाव कायम रहन्छ। मानिसले आफ्नो क्षमताअनुसार कर्म गर्छ र आवश्यकताअनुसार उपभोग गर्छ। तर जब आत्माले देहको माध्यमबाट कर्म गर्दागर्दै देहको आकर्षणमा आउन थाल्छ अनि मानव आत्मा काम, क्रोधादि विकारको वशमा पर्न थाल्छ। त्यसपछि पापाचार र दूराचारको उत्पत्ति हुन्छ। यिनै विकारबाट उठेर काम गर्ने मानव नै देवता हुन्। यी विकारको वश भएर काम गर्ने मानिस नै असुर हुन्। अहिले कलियुगमा मानव मात्रमा कुनै कुनै रूपमा आसुरी अवगुणहरूको बाहुल्य छ। परमात्मा शिवले हामीलाई यिनै आसुरी अवगुणलाई त्याग्ने ज्ञान र शक्ति दिनुहुन्छ।
परमात्माले आत्मा, परमात्मा र सृष्टिचक्रको यथार्थ ज्ञान दिनुहुन्छ। राजयोग साधनाको मार्ग प्रशस्त गर्नुहुन्छ। विश्व कल्याणको कार्य गर्न प्रेरित गर्नुहुन्छ। यही गीता ज्ञान हो। यही ज्ञानलाई जीवनमा धारण गर्न सकेमा मानव देवता बन्छ, यो धराधाम स्वर्ग बन्छ। मानव चिन्तन र व्यवहारको प्रभाव प्रकृतिमाथि पर्छ। मानव आत्माले दैवीगुणयुक्त कर्म गर्न थालेपछि प्रकृति पनि शान्त बन्छ। वातावरण स्वच्छ बन्छ।
अहिले परमात्मा शिव यस धर्तीमा परकाया प्रवेश गरी यो तमोप्रधान सृष्टिलाई परिवर्तन गरेर सतोप्रधान स्वर्ग बनाउने कार्यमा लागिरहनुभएको छ। मनुष्य आत्मालाई यो ज्ञान दिएर स्वपरिवर्तनद्वारा विश्व परिवर्तन गर्ने कार्यमा निमित्त बनाइरहनु भएको छ। भारत राजस्थानको माउन्ट आबुस्थित मधुवनमा शिव परमात्मा ब्रह्मातनमा अवतरण भएर विश्व परिवर्तन गर्ने कार्यका लागि ब्रह्मालाई निमित्त बनाएर सेवा गरेको त्यो तपोभूमि हो यो। जहाँ केही समय पहिला रसियाका एक वैज्ञानिकले विश्वमा सबैभन्दा शान्तिपूर्ण स्थानको खोजी गर्ने क्रममा आए। उनले स्वनिर्मित यन्त्रद्वारा शान्ति मापन गर्दा विश्वमा सबैभन्दा शक्तिशाली शान्तिको प्रकम्पन पाएको पाए। त्यसै स्थानलाई ब्रह्माकुमारीजहरूले विश्वको सबैभन्दा श्रेष्ठ तीर्थस्थलका रूपमा लिए। जुन एउटा संयोगमात्र नभई यथार्थ पनि हो।
सोही स्थानलाई परमपिता परमात्मा शिवले चारधाममा रूपमा पनि चित्रित गर्नु भएको तथ्य छ। अहिले नेपालको नगरकोटस्थित ज्ञानसरोवर एकेडेमी परिसरमा पनि त्यही चारधामको नमुना तयार गरी त्यहाँ शान्ति र शक्तिको अनुभूति गर्न जानेको लहर चलेको छ। परमात्मा अवतरण स्थल आबु जान नसक्नेहरूका लागि यो एक सुवर्ण अवसर पनि हो। परमात्मा शिवको आराधना गर्नु भनेको उहाँको गुण र शक्तिलाई जीवनमा धारण गर्नु र गराउनु हो। शिव स्वयं विश्वकल्याणकारी हुनुहुन्छ। त्यसैले मनुष्य आत्माले पनि आफ्ना पिता परमात्मा शिवको पथगामी बनी विश्वकल्याणकारी बनेर कुनै पनि स्वार्थ नलिई मानव आत्मा र चराचर प्रकृतिको कल्याण हुने कार्य गर्नुपर्छ। शिव सन्देश पनि यही हो।
- लेखिका ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक हुन्।