राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : कांग्रेस केन्द्रीय सदस्य चौरसिया
वीरगन्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्ने बताएका छन्। अहिलेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने चौरसियाको भनाइ छ।
आइतबार नेपाली कांग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखाले वीरगन्जमा आयोजना गरेको नगर स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राष्ट्रपति निर्वाचनमा मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुने बताए।
पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य समेत रहेका चौरसियाले राष्ट्रपति एमालेले अगाडि सारेको व्यक्ति हुने सम्भावना नरहेको पनि बताए।
यदि एमालेको राष्ट्रपति बनेको खण्डमा त्यो एमालेको रबर स्टाम्प मात्र बन्ने खतरा भएका कारणले नै प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा अडान राखेको चौरसियाले बताए।
अहिले प्रधानमन्त्री दाहाल , एमाले र त्यसका अध्यक्ष केपी ओलीको घेरामा परेका कारण उनि निरिह बनेको भन्दै चौरसियाले त्यस कारण पनि नयाँ गठबन्धनको आवश्यकता भएको जिकिर गरे।
फरक प्रसंगमा चौरसियाले चुनाव बितेको चार महिना भइसक्दा पनि कांग्रेसभित्र चुनावको तुष बाँकी रहेकोले यसले संगठनलाई कमजोर बनाएको बताए।
चुनावका तिता-मीठा कुरा बिर्सिएर सबै नेता कार्यकर्ता एकजुट भएर पार्टी संगठनलाई मजबुत बनाउनु पर्नेमा उनले जोड दिए।