सरकारसँग जग्गा माग्दै वीरगन्जमा दलित सुकुम्वासीको प्रदर्शन
वीरगन्ज : दलित सुकुम्वासीहरूले सरकारसँग जग्गा माग्दै सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन्।
चुरे तथा वन जंगल संरक्षण अभियान पर्साको अगुवाइमा उनीहरूले वीरगन्जको छपकैयामा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले भूमिहीन, गरिब र सुकुम्वासीलाई जग्गा र घर देऊ, भूमिहिन र अव्यवस्थित बसोवासीहरूको समस्या सामधान गर लगायतका नारा लगाएका थिए।
छपकैयाको पासवान टोलमा गरिएको प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय सहसंयोजक रानी रायले सरकारले आफूहरूको पीडा नसुनेपछि सडकमा उत्रिएर प्रदर्शन गर्नु परेको बताइन्।
मधेस प्रदेशका मुख्यमन्त्री र प्रदेश सांसदहरूलाई भेटेरै भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूको समस्या समाधानका लागि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताइन्।
कोणसभालाई सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियान पर्साका उपाध्यक्ष विजय कुमार पासवानले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूका लागि सरकारले जग्गाधनी प्रमाणपुर्जाका साथै गास, बास र कपासको व्यवस्था गर्नुपर्ने आफूहरूको माग रहेको बताए।