मकवानपुर र कलैयाको विजयी सुरुवात
सिमराः कलैयामा मंगलबारदेखि टी-२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ।
कलैया क्रिकेट कपको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा मकवानपुर र आयोजक विजयी भएका छन्।
सिद्धेश्वर खेल मैदानमा भएको उँद्घाटन खेलमा मकवानपुरले भारतको बेतियालाई ५२ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रन जोडेको थियो।
मकवानपुरका लागि सुमन सुनारले दुई छक्का र तीन चौकाको मद्यतबाट ३४ बलमा ४२ रन बनाए। बेतियाका बलर सूर्य मोहनको बलमा एलबिडब्लु हुँदै सुनार पेभेलियन फर्किदा मकवानपुरका अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन्।
अतिरिक्त २० रन पाएको मकवानपुरले बेतियासामु एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेतिया १७।५ ओभरमा एक सय १२ रनमै समेटियो।
बेतियाविरुद्ध मकवानपुरका शुभ कंसकार र आशिष पोखरेलले समान चार–चार विकेट लिए भने रिजन ढकालले दुई विकेट आफ्नो नाममा लेखाए। तीन ओभरमा एक मेडनसहित ११ रन खर्चिएर चार विकेट लिएका मकवानपुरका आशिष म्यान अफ दि म्याच घोषित भए।
यसैगरी दोस्रो खेलमा आयोजक कलैया क्रिकेट क्लबले चितवनमाथी आठ विकेटको जित दर्ता गर्यो। टस जितेर बलिङ रोजेको कलैयाले चितवनलाई एक सय ३७ रनमा रोक्न सफल भयो। चितवनले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रनको लक्ष्य प्रस्तुत गर्यो।
चितवनका लागि सनम बुढाथोकीले ४५ रन बनाउँदा कमल परियारले २९ र गौतम केसीले अविजित २७ रन बनाए। बलिङतर्फ कलैयाका लागि तृतराज दासले चार र बसिर अहमदले दुई विकेट लिए। दासले चार ओभरमा एक मेडन दिदै १५ रन खर्चिएर चार विकेट लिएका थिए।
जवाफी ब्याटिङमा आक्रामक देखिएको कलैयाले १३।३ ओभरमै जित निकाल्यो। बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका कलैयाका तृतराज दासले अविजित ७९ रन बनाउँदै जित सहज बनाए।
४० बलमा नौ छक्का र तीन चौका प्रहार गरेका दास खेलको म्यान अफ दि म्याच समेत घोषित भए। कलैयाका अनिल कुमार साहले ३२ रन जोडे।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा चितवन र मोतिहारी भिड्ने छन् भने दोस्रो खेल वीरगन्ज र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ। कलैया, वीरगन्ज, मकवानपुर, चितवन, भारतको बेतिया र मोतिहारी गरी ६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन्।