मुलुक बर्सेनि व्यापारघाटामा
भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँको व्यापार घाटा भएको थियो।
काठमाडौं : स्वदेशमा संभावित वस्तुको समेत उत्पादन हुन नसक्दा बर्सेनि व्यापारघाटा हुने गरेको छ। सरकार बर्सेनि व्यापारघाटा बेहोर्न बाध्य छ।
तर, गत वर्षको तुलनामा व्यापारघाटा १८.७१ प्रतिशतले कमी आएको भन्सार विभागको तथ्यांकले देखाउँछ। स्वदेशमा उत्पादन वृद्धि भएर व्यापारघाटा कम नभई निर्यातमा कमी भएका कारणले भएकोे जानकार बताउँछन्। उद्योगीहरू आयातित बजारीकरणमा रूपान्तरण भएकै कारण उद्योगधन्दा धराशायी भइरहेको छ। कृषिजन्य उत्पादनको लागत बढ्दा कृषक पलायन भइरहेका छन्। नेपालमै उत्पादन हुन सक्ने वस्तुहरूको पनि अर्बौंैको आयात भइरहेका छन्।
अर्थविद् ज्ञानेन्द्र अधिकारीले निजी क्षेत्रले सजिलो बाटो रोजेकाले उद्योग फस्टाउन नसकेको बताए। कृषिमा रूपान्तरण गर्न सरकारले उत्पादनका आधारमा अनुदान दिनुपर्ने उनको धारणा छ। सरकारले चालू आर्थिक वर्षमा उत्पादनमा जोड दिने घोषणा गरेको थियो। तर, सात महिना बितिसक्दा पनि उत्पादन बढ्न सकेको छैन। अर्थविद् अधिकारी सरकारले औद्योगिक वातावरण बनाउन र कृषिको लागत कम गर्ने वातावरण बनाउनुपर्ने जोड दिन्छन्।
तीन तहका सरकारले नेपालमै संभावनाका उत्पादन बढाउन निजी क्षेत्र र सहकारीलाई प्रोत्साहन गर्न सके व्यापारघाटा छिट्ट्रै न्यूनिकरण गर्न सकिने उनी सुनाउँछन्। भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँको व्यापार घाटा भएको थियो।