युद्धकै विषयमा साथीले गरेको पोस्टलाई पनि उनले सेयर गरेकी थिइन्। त्यसपछि सुरु भयो यो नाटक। ओलेसियाले सम्झिइन्, ‘धेरै पुलिस घरभित्र छिरे।
विश्वविद्यालयकी विद्यार्थी ओलेसिया क्रिभसोभाका धेरै कक्षा छुटिरहेका छन्। किनकि २० वर्षीया ओलेसिया हाल घरमै नजरबन्दमा छिन्। उनका खुट्टामा इलेक्ट्रोनिक ट्याग छ। यसमार्फत प्रहरीले उनका हरेक गतिविधि निगरानी गर्न सक्छ। उनको कथित अपराध के हो त ? धेरैलाई जिज्ञासा लाग्न सक्छ। ओलेसियालाई सामाजिक सञ्जालमा युद्धविरोधी पोस्ट गरेको आरोपमा पक्राउ गरिएको हो। तीमध्ये एक गत अक्टोबर महिनामा रूसलाई क्रिमियासँग जोड्ने पुलमा भएको विस्फोटका विषयमा थियो। ‘मैले पुलको बारेमा इन्स्टाग्राम स्टोरी पोस्ट गरें’, ओलेसियाले भनिन्, ‘त्यहाँ घटेको घटनाले युक्रेनीहरू कसरी खुसी भएका थिए भन्ने देखाउन पोस्ट गरेको थिएँ।’
युद्धकै विषयमा एक साथीले गरेको पोस्टलाई पनि उनले सेयर गरेकी थिइन्। त्यसपछि सुरु भएको थियो यो नाटक। ‘म मेरी आमासँग फोनमा कुराकानी गर्दै थिएँ’, ओलेसियाले सम्झिइन्, ‘तब मैले अगाडिको ढोका खोलेको सुनें। धेरै पुलिस घरभित्र छिरे। उनीहरूले मेरो फोन खोसे र मलाई भुइँमा सुत् भनेर चिच्याए।’ ओलेसियालाई आतंकवादको औचित्य प्रमाणित गरेको र रूसी सशस्त्र सेनालाई बदनाम गरेको आरोप लगाइएको थियो। उनले १० वर्षसम्म जेल सजाय भोगेकी छिन्। ‘इन्टरनेटमा केही पोस्ट गरेकोमा कसैले यति लामो जेल सजाय भोग्न सक्छ भन्ने मैले कल्पनासमेत गरेको थिइनँ’, ओलेसियाले भनिन्, ‘मैले रूसमा अनौठा फैसलाहरू गरिएका रिपोर्टहरू पढेको थिएँ। तर मैले त्यसमा खासै ध्यान दिएकी थिइनँ र आफूले बोल्ने क्रम जारी नै राखें।’
अर्खान्जेल्स्कको उत्तरी संघीय विश्वविद्यालयकी विद्यार्थी ओलेसियाको नाम अब उपरान्त रूसको आतंकवादी र चरमपन्थीको आधिकारिक सूचीमा थपिएको छ। ‘मलाई स्कुलमा गोली हान्ने सुटरहरू र इस्लामिक स्टेट समूहकै रूपमा एउटै सूचीमा राखिएको जब मैले महसुस गरें, मलाई यो पागलपन हो जस्तो लाग्यो’, ओलेसिया सम्झन्छिन्। घरमा नजरबन्दको नियमअनुसार उनलाई फोनमा कुराकानी गर्न र अनलाइनमा बस्नसमेत प्रतिबन्ध लगाइएको छ। ओलेसियाको दाहिने खुट्टामा ट्याटु गरिएको एउटा आकर्षक चित्र छ। उक्त चित्रमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई माकुराको रूपमा चित्रण गरिँदै लेखिएको छ, ‘तपाईं ठूलो दाजुको निगरानीमा हुनुहुन्छ।’ तर ओलेसियाको सन्दर्भमा भने यस्तो देखिन्थ्यो कि उनलाई कुनै दाजुले नभई उनकै साथीहरूले निगरानी गरिरहेका थिए।
‘एउटा साथीले च्याटमा मेरो बारेमा पोस्ट देखाए’, ओलेसिया भन्छिन्, ‘म कसरी विशेष सैन्य अपरेसन’को विरुद्धमा थिएँ भन्ने विषयमा उक्त पोस्ट थियो। च्याटमा सम्लग्न धेरै जसो व्यक्तिहरू इतिहासका विद्यार्थी थिए। मेरो निन्दा गर्दै अधिकारीहरूलाई उजुरी गर्ने कि नगर्ने भन्दै उनीहरूले छलफल गरिरहेका थिए।’ च्याट गर्नेमध्येकै एउटाले कमेन्टमा ओलेसियालाई आरोप लगाउँदै भनेका थिए, ‘पराजयवादी र चरमपन्थी चरित्रको उत्तेजक पोस्टहरू लेखेकी छन्। यो युद्धको समयमा उपयुक्त हुँदैन। त्यसैले यसलाई मौलाउनु अगाडि नै निमोठिनु पर्छ।’
पहिले उनलाई सम्झाउने प्रयास गरौं र त्यसपछि पनि उनले बुझिनन् भने सुरक्षाकर्मीलाई यसको समाधान गर्न दिनुपर्ने कमेन्टमा लेखिएको थियो। ‘निन्दित हुने व्यक्तिहरूको विषयमा उजुरी गर्नु देशभक्तको कर्तव्य हो,’ अरू कसैले कमेन्टमा यस्तो लेखेका थिए। जब अभियोजन पक्षका साक्षीहरूको सूची अदालतमा पढियो, ओलेसियाले च्याट गर्ने विद्यार्थी साथीहरूका नामहरू पहिचान गरिन्। क्रेमलिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य कारबाही’ सुरु गरेको एक वर्ष बितेको थियो। उक्त शब्दावली रूसले छिमेकमा आफ्नो पूर्ण मात्रामा आक्रमणको लागि प्रयोग गर्दै आएको छ। आक्रमणको केही साताभित्रै, राष्ट्रपति पुटिनले रूसी जनतालाई ‘साँचो देशभक्तहरूलाई देशद्रोहीहरूबाट’ अलग गर्न आह्वान गरेका थिए।
त्यतिबेलादेखि रूसभरि युद्धका आलोचकहरू विरुद्ध सोभियत शैलीको निन्दा गरिएका समाचारहरू बाहिरिएका थिए। तिनमा आफ्नै सहकर्मीहरूलाई निन्दा गर्दै शिक्षक र कर्मचारीलाई जानकारी दिने विद्यार्थी समावेश थिए। आक्रमणको सार्वजनिक आलोचना तथा अन्य व्यक्तिको आलोचना पुन : पोस्ट गर्नु निकै खतरनाक मानिन्छ। रूसी अधिकारीहरूले युक्रेनमा आक्रमणको लागि पूर्ण र अविचलित समर्थनको अपेक्षा गर्छन्। यदि तपाईं यसलाई समर्थन गर्नुहुन्न भने कम्तिमा मौन बस्नुहुनेछ भन्ने अपेक्षा गरिन्छ। तपाईं चुप लागेर बस्नुभएन भने असहमतिलाई दण्ड दिन दमनकारी कानुनहरू पर्याप्त छन्। यसमा सेनाको बारेमा झुटो सूचना फैलाउने र सेनालाई बदनाम गर्ने विरुद्धका कानुनहरू समावेश छन्।
अर्खान्जेल्स्क सहरको एउटा नौ तले अपार्टमेन्टको भित्तामा युक्रेनमा मारिएका एक रूसी सैनिकको विशाल तस्बिर झुन्ड्याइएको छ। उक्त तस्बिरमा ‘योद्धा हुनु भनेको सधैंभरि बाँच्नु हो’ भन्ने लेखिएको छ। देशभक्तिको सन्देश प्रेरक छ। अर्खान्जेल्स्कको सडकमा युद्ध विरोधी टिप्पणीहरूको लागि अभियोगको सामना गरिरहेका रूसीप्रति हामीले थोरै सहानुभूति पनि पाउँछौं। ‘जसले हाम्रो सेनालाई बदनाम गर्छन् वा अफवाह फैलाउँछन्, उनीहरू मानसिक रोगी हुन्’, कन्स्टेन्टिनले मलाई भने, ‘उनीहरूलाई तोपको चाराका रूपमा अगाडि लाइनमा पठाइनुपर्छ।’ ‘विशेष अपरेसनको आलोचकहरूप्रति मेरो दृष्टिकोण नकारात्मक छ’, एकाटेरिनाले मलाई भनिन्। तर अनलाइनमा केही पोस्ट गरेकै कारण यति लामो जेल सजाय, त्यो कठोर होइन र ? मैले सोधें। ‘मानिसले आफ्नो विवेक प्रयोग गर्नुपर्छ’, एकाटेरिनाले जवाफ दिइन्, ‘यदि उनीहरू यही देशमा बस्छन्, उनीहरूले यसै देशले प्रदान गरेका सबै सुविधाहरूको आनन्द उठाउँछन् र उनीहरू देशभक्त हुन् भने कानुनको पालना गर्नु आवश्यक छ।’
त्यसै दिन केही बेरपछि ओलेसियालाई आफ्नो फ्ल्याटबाट बाहिर निस्कने अनुमति दिइयो। तर अदालतको सुनुवाइमा उपस्थित हुन मात्र उनलाई बाहिर निस्कन दिइएको थियो। बचाव पक्षका उनका वकिलहरूले उनीमाथि लगाइएको प्रतिबन्ध हटाउन न्यायाधीशलाई मनाउन खोजिरहेका थिए। ओलेसियाको टि–सर्टमा ‘स्कुल बस’ लेखिएको प्रहरी भ्यानको तस्बिर छ। आफ्ना अधिकारीहरूको आलोचनाका लागि रूसी युवालाई कसरी सजाय दिइन्छ भन्ने उक्त तस्बिरले प्रष्ट्याउँथ्यो। अदालतमा न्यायाधीशले उनलाई घरमै नजरबन्दमा राख्न आदेश दिए। ‘राज्यसँग बहस, लोकतन्त्र वा स्वतन्त्रताको लागि कुनै ठाउँ छैन’, ओलेसियाले भनिन्, ‘तर उनीहरू सबैलाई थुनामा राख्न सक्दैनन्। कुनै दिन उनीहरूको राज पनि समाप्त हुनेछ।’
- स्टिभ रोजेनबर्ग