गरिबलाई परिचयपत्र वितरण
डँडेलधुरा : डँडेलधुराको गन्यापधुरा गाउँपालिकामा गरिब परिचयपत्र वितरण गरिएको छ। गन्यापधुरा गाउँपालिका—५ रेल भन्ने स्थनमा एक कार्यक्रमका बीच ५८ जनालाई गरिब परिचयपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले वताए।
पहिलो चरणमा गाउँपालिकाको दुर्गम वडाबाट गरिब परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ भएको पालिका अध्यक्ष कार्कीले जानकारी दिए। नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सञ्चालित र गाउँपालिकाको सहजीकरणमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत ५८ जनालाई गरिब परिचयपत्र वितरण गरिएको हो।
गन्यापधुरामा ५ वडा रहेका छन्। ५ वडाका करिब १ हजार २ सय ५ जनालाई वितरण गर्ने योजना रहेको छ। ‘गाउँपालिकामा तथ्यांक संकलन, सोको विश्लेषण, प्रारम्भिक सूची प्रकाशन, गाउँपालिकामार्फत गुनासो संकलक र प्रशोधन गरी अन्तिम नामावली स्वीकृतिपश्चात् परिचयपत्र वितरण गर्ने कार्य सुरुवात गरिएको हो’ गाउँपालिका उपाध्यक्ष ज्ञानु सेठीले भने।