डढेलोको जोखिम ‘१० गुणा बढी’

डढेलोको जोखिम ‘१० गुणा बढी’
फाइल तस्बिर।

अनियन्त्रित डढेलो मानिस, जैविक विविधता, पारिस्थितिक प्रणालीका लागि विनाशकारी बन्न सक्छ। साथै, हरित गृह ग्यासको उत्सर्जन बढाउने हुँदा तापक्रम वुद्धि हुनेछ।

काठमाडौं : सन् २०२१ को डढेलोलाई सन् २००२ पछिको डरलाग्दो मानिएको एक अध्ययनले देखाएको छ। ‘एम्प्लिफाइड ड्राउट ट्रेन्ड इन नेपाल इन्क्रिज द पोटेन्सियल फर हिमालयन वाइल्ड फायर’ नामक अध्ययनले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि बढेसँगै संसारभरी नै डढेलोको घटना बढेको देखाउँछ। उक्त अध्ययन त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद  पोखरेलले ताइवान, जर्मनी र अमेरिकी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूसँग मिलेर गरेका हुन्। 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२१ मा  ६ हजार ५३७ वटा डढेलोको घटना भएका थिए। त्यतिबेला काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एकयूआई) को मात्रा ६३२ थियो। जुन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेभन्दा बीसौं गुणा बढी हो। शून्यदेखि ५० एकयूआईलाई स्वस्थ्य मानिन्छ । 

शून्यदेखि ५० एक्यूआईलाई स्वथ्य र १५० माथिलाई अस्वथ्य। २ सयसम्म पुगेपछि संवेदनशील समूहलाई असर गर्छ। ३ सय एकयूआई सबैका लागि जोखिमयुक्त तथा आपतकालीन मानिने विज्ञहरूले बताएका छन्। सन् २०१६ र २००९ मा पनि अत्यधिक डढेलोको घटना भएको सो अध्ययनले देखाएको छ। प्रदूषणको तह खतराभन्दा माथि पुगेपछि सन् २०२१ को मार्च अन्तिम साता सरकारले ३ दिन विद्यालय बन्दको घोषणा गरेको थियो। 

काठमाडौं बाहिर लागेको सक्रिय डढेलोले उपत्यकामा प्रदूषणको तह उच्च बिन्दुमा पुगेको थियो। बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको थियो। यो वर्ष पनि सन् २०२१ को जस्तै घटना दोहोरिन सक्ने देखिएको डा.पोखरेलले जनाए। उनले भने ‘सन् २०२१ को जतिकै सुक्खा छ। तापक्रम वृद्धि पनि त्यस्तै छ। यस्तै सुक्खा रहिरहे २०२१ जस्तै हुने देखिएको छ।’ 

नेपाल सधैं आगलागीबाट प्रभावित छ। औषतभन्दा कम वर्षा हुँदा तापक्रम सामान्यभन्दा तातो हुन्छ। त्यसको असर विनाशकारी डढेलोको रूपमा देखिन्छ। आगलागीको मुख्य कारण सुक्खा र तापक्रम वृद्धि नै देखिएको छ। जलवायु परिवर्तनका कारण चरम मौसमी घटना बढ्ने प्रक्षेपण अध्ययनहरूले देखाइसकेका छन्। त्यसैले डढेलो रोकथाममा सम्पूर्ण निकाय तत्काल लाग्नुपर्ने देखिएको उनले जनाए।

पोखरेलका अनुसार २०२१ को डढेलोलाई केन्द्रित भएर नेपालको डढेलोको अवस्था कस्तो छ ? भनेर अध्ययनमा हेरिएको थियो।  डढेलोको पूर्वानुमान गर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा स्टाटिस्टिकल मोडल बनाएर हेरेको बताए।  अहिलेको अवस्था हेरेर अर्को महिना डढेलोको अवस्था कस्तो हुन्छ  भन्न सकिन्छ कि सकिन्न भन्ने विषयमा समेत अध्ययन गरेको उनले बताए। 

उनका अनुसार हालको अवस्था हेरेर भविष्यमा हुनसक्ने डढेलोको अवस्था आँकलन गर्न सकिने अध्ययनको निचोड छ। ‘अहिले भएको सुक्खापनको आधारमा, कुन समय, कति आगलागी हुन्छ भन्ने अनुमान गरिन्छ।  डढेलो बढ्ने नै देखिन्छ’, पोखरेलले थपे ‘यो वर्ष पनि २०२१ को अवस्था दोहोरिने आँकलन छ। सुक्खा र पानी नपर्ने देखिएपछि निश्चित क्षेत्रमा आगो लाग्न सक्ने अनुमान गरिन्छ।’ 

अध्ययनका क्रममा धेरैवटा स्याटेलाइटका रेकर्ड अध्ययन गरिएको थियो। वर्षा र तापक्रम मापनका आधारमा स्याटेलाइटको तथ्यांक हेरिएको हो। अध्ययनले पनि जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण हरित गृह ग्याँसको उत्सर्जनले यस्ता घटना बढेको जनाएको छ । उक्त असर भविष्यमा  पनि रहने देखिएको छ। 

  •     सन् २००५ देखि २०२२ सम्म डढेलोमा परी मर्नेको संख्या : ११९ जना, घर जलेका : ९८७ वटा
  •     सन २०२१ मा  डढेलोका घटना : ६ हजार ५३७ वटा
  •     सन् २०१६ मा आगलागी : ७ हजार ७६७ 
  •     सन् २०११ देखि २०२२ सम्ममा डढेलोका घटना : ३६ हजार २५३
  •     सन् २०३० सम्ममा १२ प्रतिशत र सन् २०५० सम्ममा ३० प्रतिशत हुँदै यस शताब्दीको अन्त्यतिर ५० प्रतिशत डढेलो बढ्ने आँकलन। 
  •     यो वर्षको माघ मसान्तसम्म मुलुकभरि जम्मा ११.६ मिलिमिटर पानी परेको छ। सरदर ३०.७ देखि ७१.२० मिलिमिटर वर्षालाई औसतभन्दा कम मानिन्छ। 

वर्ष दिन लगाएर गरिएको अध्ययनमा सन् २०२०÷२०२१ मा आगलागीको सिजन सामान्यभन्दा ४ महिना पहिला सुरु भएको देखाउँछ। औषतभन्दा कम वर्षा हुँदा तापक्रम सामान्यभन्दा तातो हुन्छ। त्यसको असर विनाशकारी डढेलोको रूपमा देखिएको हो। अहिलेसम्मको रेकर्ड हेर्दा सन् २००९/२०१६/२०२१ मा भएको हो। यी वर्षहरूमा औषतभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले प्रस्ट्याउँछ। 

विभागका अनुसार यो वर्षको  माघ मसान्तसम्म मुलुकभरी जम्मा ११.६ मिलिमिटर पानी परेको छ। सरदर ३०.७ देखि ७१.२० मिलिमिटर वर्षालाई औसतभन्दा कम मानिन्छ। 

डढेलोको ‘पिक’ सिजन आउँदै

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्माले डढेलो र आगलागीको सिजन आउँदै गरेको बताए। उनले भने, ‘आगलागीको मुख्य समय (पिक सिजन) वैशाखको दोस्रो सातादेखि सुरु हुन्छ। तर, अहिले नै आगलागीको असर सुरु भइसकेको  छ।’
प्राधिकरणका अनुसार गत वैशाखयता ९८ वटा वनमा डढेलोको घटना भइसकेका छन्। त्यसमा १ को मृत्यु २ घाइते र जंगल छेउका ३४ परिवार प्रभावित भएका छन्। 

त्यस्तै, २ हजार २६२ घटनामा ८४ जनाको मृत्यु भएको छ। ३१८ घाइते र २ हजार ६२८ परिवार प्रभावित भइसकेका छन्। शर्माका अनुसार ‘डढेलो’ भन्नाले जंगल मा झाडीमा लाग्ने आगो र ‘आगलागी’ भन्नाले घरबस्तीमा लाग्ने आगो भन्ने बुझिन्छ। उनका अनुसार प्राधिकरणमा कतिपय घटनाहरू रिपोर्ट भएका छैनन्। प्रहरीबाट जाहेरी आएपछि मात्रै रेकर्ड राखिन्छ। प्रहरीबाट रेकर्ड नआएसम्म तथ्यांक राख्ने गरिएको छैन। गत वर्ष आगलागीमा परी ३ जनाको मृत्यु भएको रेकर्ड प्राधिकरणसँग नभएको बताए। डढेलो र आगलागीका घटना जलवायु परिवर्तनसँग अन्तर्सम्बन्धित रहेको उनको भनाइ छ। भन्छन्, ‘सुक्खा भएपछि डढेलो लाग्ने सम्भावना धेरै हुन्छ।’  

सन् २००५ देखि २०२२ सम्मको तथ्यांक हेर्दा डढेलोमा परेर १ सय १९ जनाले ज्यान गुमाएका छन्।  जंगल नजिकै रहेका ९ सय ८७ घर जलेका थिए। सन २०२१ मा ६ हजार ५३७ वटा डढेलोको घटना भएका थिए। त्यसैगरी सन् २०१६ मा ७ हजार ७६७ वटा आगलागी भएको थियो। सन् २०११ देखि २०२२ सम्ममा ३६ हजार २५३ वटा डढेलोको घटना भएको थियो।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी) को रिपोर्टअनुसार डढेलो संसारभरी बारम्बार र तीव्र रूपमा बढ्दै जाने देखिएको छ। सन् २०३० सम्ममा १२ प्रतिशत र सन् २०५० सम्ममा ३० प्रतिशत हुँदै यस शताब्दीको अन्त्यतिर ५० प्रतिशत बढ्ने आँकलन गरेको छ। जलवायु परिवर्तन, जमिनको प्रयोगमा आएको परिवर्तनका कारण यस्ता घटना बढ्ने पनि उल्लेख छ। 

अनियन्त्रित डढेलो मानिस, जैविक विविधता, पारिस्थितिक प्रणालीका लागि विनाशकारी बन्न सक्छ। साथै, हरित गृह ग्यासको उत्सर्जन बढाउने हुँदा तापक्रम वुद्धि हुनेछ। विकासोन्मुख देशहरूले जलवायुको जोखिम बुझ्न अत्यावश्यक रहेको र समाधानका  लागि काम गर्न आवश्यक रहेको सुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.