थप तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिएसँगै रिक्त भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको हो।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै थप तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिइएको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस ११ गते गठित मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन; सहरी विकास मन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएको र रिक्त रहेको मन्त्रालयको जिम्मेवारीसहित कार्यभार प्रधानमन्त्रीलाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
अहिले प्रधानमन्त्रीसँगै प्रचण्डसँग वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय छन्।