विश्व अर्थतन्त्रको मन्दीले नेपाली सेयर बजार प्रभावित

विश्व अर्थतन्त्रको मन्दीले नेपाली सेयर बजार प्रभावित
सांकेतिक तस्बिर।
सुन्नुहोस्

‘कोरोना महामारी, रूस–युक्रेन युद्धलगायतका कारण विश्व अर्थतन्त्र समस्याग्रस्त भएको छ। त्यसको असर नेपाली अर्थतन्त्रमा परेको हो।’

काठमाडौं : पुँजी बजारका सरोकारहरूले विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपाली सेयर बजार प्रभावित भएको बताएका छन्। पुँजी बजारको रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्न नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको प्रशिक्षण कार्यक्रम उनीहरूले सेयर बजारको अवस्थाका बारेमा बताएका हुन्। 

नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा शुक्रबार र शनिबार काभ्रेको पनौतीमा कार्यक्रम गरेको हो। समापान समारोहमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले विश्व अर्थतन्त्रका कारण नेपाली सेयर बजारमा असर परेको बताए। ‘अहिले सेयर बजारको परिसूचक किन घटिरहेको छ भनेर प्रश्न आइरहेको छ। यस मामलामा देशभित्रको अवस्था हेरेर मात्रै हुँदैन,’ उनले भने, ‘कोरोना महामारी, रूस–युक्रेन युद्धलगायतका कारण विश्व अर्थतन्त्र समस्याग्रस्त भएको छ। त्यसको असर नेपाली अर्थतन्त्रमा परेको हो।’ 

यस्तै, सीडीएस एन्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले पुँजी बजारका लागि केन्द्रीकृत ग्राहक पहिचान विवरण (सेन्ट्रल केवाईसी) लागू गर्ने तयारी भइरहेको बताए। ‘लगानीकर्तालाई धेरै ठाउँमा केवाईसी भर्नुपर्दा झन्झट भइरहेको छ। खर्च पनि उत्तिकै छ,’ उनले भने, ‘पुँजी बजारको कुनै एक निकायमा केवाईसी भरेपछि, अर्को ठाउँमा भर्न नपर्ने गरी नयाँ प्रविधि ल्याउने तयारी गरिरहेका छौ।’ उनले अक्सन मार्केट सञ्चालन गर्न कार्यविधि बनाएर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेस गरेको पनि जानकारी दिए।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले सेटलमेन्ट ग्यारेन्टी फन्ड नहुँदा पनि ब्रोकर कम्पनीले लगानीकर्ताको भुक्तानी समयमा गर्दै आएको बताए। ‘नेपालको पुँजी बजारको इतिहासमा एकैदिन २२ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुँदा पनि ब्रोकर कम्पनीले सहज रूपमा समयमै राफसाफ गरेका थिए,’ उनले भने ‘अहिले ब्रोकर कम्पनीले भुक्तानी दिँदैनन् भनेर आक्षेप लाग्ने गरेको छ।’ 

समारोहमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले पुँजी बजारबारे रिपोर्टिङ गर्दै आएका पत्रकारलाई यो कार्यक्रम उपयोगी भएको बताए। ‘यद्यपि, यो अझै पर्याप्त छैन। पुँजी बजारका विषयमा अझै धेरै आयामहरू बाँकी नै छन्,’ उनले भने। विशेषगरी पत्रकारलाई पुँजी बजारका नीति नियमन, अभ्यास तथा प्रविधिबारे जानकारी राख्न सहयोग पुगेको उनले बताए।

कार्यक्रममा ‘केन्द्रीय निक्षेप तथा राफसाफ सेवा विद्यमान अवस्था, सम्भावना र चुनौती’ र ‘धितोपत्र व्यवसाय, बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता, सीमित र पूर्ण कार्य गर्ने ब्रोकर, स्टक डिलर, लगानी व्यवस्थापन, सामूहिक लगानी योजना, वैकल्पिक लगानी कोष, धितोपत्र व्यवसायको चुनौती’ का विषयमा प्रशिक्षण दिइएको थियो। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.