यूएईविरुद्ध नेपालले फिल्डिङ रोज्यो, सन्दीप प्लेइङ ११ मा
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ। पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ।
विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ।
नेपाली टिममा एक परिवर्तन भएको छ। बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा नटुङ्गिएकाले सन्दीप लामिछानेलाई देश बाहिर जाने अनुमति दिएको थिएन। यद्यपि, सर्वोच्चले खेल सकिएको १५ दिन भित्र देश फर्किनु पर्ने शर्त राखेर अनुमति दिएपछि सन्दीप बुधबार यूएई पुगिसकेका छन्।
नेपाली टिमः कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, गुल्शन झा।