‘म अन्नपूर्ण पत्रिका पढ्दै थिएँ। १८ वर्षको छोरीले आत्महत्या गरेको, त्यसको पाँच दिनपछि बाबुले आफ्नै घर जलाएर आत्मदाह गरेपछि सन्तान बिचल्लीमा परेको थाहा पाएँ’, दीनबन्धुले भने, ‘समाचार पढेर मेरो आँखामा आँसु आयो। मेरो आफ्नो खातामा भएको पैसा जति सहयोग गरेरै सकिसकेको थिएँ। मसँग सहयोग गर्ने पैसा थिएन। त्यसपछि छोरा नवीन बन्धुसँग पीडितको आँसु पुछ्ने इच्छा व्यक्त गरेँ। छोराले दिएको रकमले यहाँसम्म सहयोग गर्न आएँ।’
दैलेख : होचो कद। सेतै फुलेको कपाल। बुढ्यौलीले पनि छोइसकेको छ। बस्ने र उठ्ने बेला हातगोडा काप्छन्। उमेरले पनि नौ दशक छोइसकेको छ। तर पनि समाजसेवाको हुटहुटी उस्तै छ। दान गर्न पोखरा देखि दैलेखसम्मको यात्रा।
उनी हुन, मनकारी मन भएका पोखरा महानगरपालिका–५ पस्र्याङका दीनबन्धु कोइराला। ८९ वर्षका उनी बिहीबार दैलेख आइपुगे। पोखराबाट हवाईजहाजमा नेपालगन्ज र त्यहाँबाट सार्वजनिक बस चढेर दैलेख सदरमुकाम पुगेका दीनबन्धुमा थकानको आभास नै थिएन। उनी दैलेखको एक बेसहारा परिवारलाई सहयोग गर्न पोखराबाट आएका हुन्। सदरमुकामबाट जिसस प्रमुख नमराज शाही र उपप्रमुख केशवको साथमा दीनबन्धु भैरवी गाउँपालिकासम्म पुगे। गाउँपालिकाका अध्यक्ष रीता शाही, उपाध्यक्ष देवी भण्डारी, पूर्वअध्यक्ष प्रेमबहादुर बुढालगायतले उनलाई गाउँमा स्वागतसँगै सम्मान गरे।
त्यसपछि दीनबन्धुले भैरवी–४ को एक परिवारलाई आर्थिक सहयोग गरे। गत पुस २३ गते आफ्नै घरमा आगो लगाएर आत्मदाह गरेका स्थानीय ४० वर्षीय नरेश विकको परिवारलाई दीनबन्धुले १ लाख २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। घर निर्माण, खाद्यान्न र लत्ताकपडा व्यवस्थापन र बालबालिकाको पढाइ खर्चस्वरूप उनले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। नरेशले आत्मदाह गरेपछि अन्नपूर्ण पोस्ट्मा ‘बाबुको आत्मदाहपछि ४ सन्तानको बिचल्ली’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। दीनबन्धुले अन्नपूर्ण पोस्ट्को त्यही समाचारले आफूलाई दैलेखसम्म पुर्याएको बताए।
नरेशले आत्मदाह गरेको पाँच दिनपहिले मात्र जेठी छोरी सुनिताले आत्महत्या गरेकी थिइन्। उक्त घटनापछि नरेशकी श्रीमती सोना कामीसहित चार सन्तान बिचल्लीमा परेका छन्। उनीहरूको बस्ने घर छैन। आफन्तको आश्रयमा कष्टकर जीवनयापन गरिरहेका उनीहरूको घर निर्माणका लागि दीनबन्धुले आर्थिक सहयोग गरेका हुन्।
‘म अन्नपूर्ण पत्रिका पढ्दै थिएँ। १८ वर्षको छोरीले आत्महत्या गरेको, त्यसको पाँच दिनपछि बाबुले आफ्नै घर जलाएर आत्मदाह गरेपछि सन्तान बिचल्लीमा परेको थाहा पाएँ’, दीनबन्धुले भने, ‘समाचार पढेर मेरो आँखामा आँसु आयो। मेरो आफ्नो खातामा भएको पैसा जति सहयोग गरेरै सकिसकेको थिएँ। मसँग सहयोग गर्ने पैसा थिएन। त्यसपछि छोरा नवीन बन्धुसँग पीडितको आँसु पुछ्ने इच्छा व्यक्त गरेँ। छोराले दिएको रकमले यहाँसम्म सहयोग गर्न आएँ।’
उनले यसअघि इलाम पुगेर सहयोग गरिसकेको बताए। उनले बाबुले आत्मदाह गरेपछि बिचल्लीमा परेको बालबालिकालाई पठनपाठनमा सहयोग गर्न गाउँपालिकासँग आग्रहसमेत गरे। गाउँपालिकाका अध्यक्ष रीताकुमारी शाहीले पीडित परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिँदै पालिकाले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन्। उनले पीडित परिवारलाई आवास निर्माण गर्ने बताइन्। गाउँपालिकाले दीनबन्धुलाई मायाको चिनो र धन्यवादपत्र प्रदान गरेको छ।
दीनबन्धुले आफूले दिएको रकमले घर निर्माण गर्न पीडित परिवारलाई आग्रह गरेका छन्।
दीनबन्धुको अर्को नाम ‘वैज्ञानिक बा’
मनकारी दीनबन्धु सहयोग गर्दै हिँड्छन्। उनको हाते झोलामा अन्नपूर्णसहित विभिन्न पत्रिकामा प्रकाशित दुई दर्जनभन्दा बढी समाचारहरूको कटिङ फोटोकपी गरेर राखेका छन्। ताकि दुःखी, गरिब र बेसाहाराहरूलाई सहयोग गर्न सकियोस्। उनले २०७५ मा प्यूठानको झिमरुक गाउँपालिका–४ बांगेमरोठ सादनठुटका बेसाहारा दिदी–बहिनीलाई ३ लाख सहयोग गरेका थिए। यो मात्र नभई उनले थुप्रै बेसहारा घरपरिवारलाई सहयोग गरेका छन्।
दीनबन्धुलाई पोखराका स्थानीयले ‘वैज्ञानिक बा’ भनेर चिन्छन्। ‘मलाई चिन्नेले वैज्ञानिक बा भन्छन्’, उनी भन्छन्। पोखराका रैथाने उनले २०१७ सालमै एसएलसी उत्तीर्ण गरेका थिए। एसएलसीपछि उनले भूमिसुधारमा १० वर्ष जागिरे जीवन बिताए। त्यसपछि खाद्य संस्थानमा १८ वर्ष काम गरेँ।
लोक सेवा आयोग पास गरेर खाद्य संस्थानमा जोडिएका दीनबन्धुले नायब सुब्बाबाट अवकाश लिए। २०५२ ताका जागिरे जीवनको अवकाशपछि उनले दृष्टिविहीन व्यक्तिहरूका लागि उपयोगी सामग्री बनाउन लागे। दृष्टिविहीनहरूका लागि केही गर्ने अठोटसहित उनले उपयोगी सामग्री बनाएर पोखरा–१२ को अमरसिंह माविमा दृष्टिविहीन विद्यार्थीलाई पढाउन उपयोग गरे।
दीनबन्धुले दृष्टिविहीनहरूका लागि उपयोगी ५० प्रकारका सामग्री निर्माण गरेका छन्। तीमध्ये अतिउपयोगी १४ प्रकारका शैक्षिक सामग्री अमरसिंह माविलाई दिए। ‘मैले बनाएका सामान विभिन्न विद्यालयलाई दिन्छु’, उनले भने ।