समाधिस्थलको खरानीबाट अस्तित्वको खोज

समाधिस्थलको खरानीबाट अस्तित्वको खोज

विविध शिल्पका दृष्टिकोणले धनी दमाईं जाति आर्थिक रूपमा गरिब छन्। गरिब भएकैले सम्मान र पहिचान छैन समाजमा।

समाजशास्त्रीय अध्ययनको सन्दर्भमा डोरबहादुर विष्टद्वारा नेपाली भाषामा लिखित ‘सबै जातको फूलबारी’ र अंग्रेजी भाषामा लिखित ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट : नेपाल्स स्ट्रगल फर मोडर्नाइजेसन’ नामक पुस्तकलाई धेरै महत्त्वका साथ सम्झने गरिन्छ। मेरिय हेल्फरले सन् १९६९ मा नेपालका दमाईं जातिबारे अनुसन्धान गरी पेरिसबाट फ्रेन्च भाषामा एउटा पुस्तिका प्रकाशित गरेको र त्यो नै दमाईं जातिबारे छुट्टै अध्ययन गरी तयार पारिएको पहिलो कृति भएको उल्लेख छ।

पछिल्लो पटक यसरी समाजशास्त्रीय अध्ययन गरी तयार पारिएको एउटा पुस्तक हो, ‘रैथाने दमाईं जातिको लोकजीवन’। लेखक हुन्– डीबी नेपाली ‘दमु’, इन्दिरा घले र डा. गोविन्द सार्की (नेपाली)। यस पुस्तकलाई सम्पादन गरेका छन्, साहित्यकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले। पुस्तकलाई प्रकाशन गरेको छ मकालु प्रकाशन गृहले।

औसत पुस्तकहरूको भन्दा ठूलो आकारको छ यसको। ६०२ र ं४२ गरी जम्मा ६४४ पृष्ठको बृहत् पुस्तक किन लेखियो ? कसका लागि लेखियो ? किन गरियो दमाईं जातिकै बारेमा अध्ययन–अनुसन्धान ? किन यति धेरै मिहिनेत गरियो अल्पसंख्यक (२.५ प्रतिशत) दमाईं जातिको खोजीनीति गर्न र पुस्तक लेख्न ? बरु यति नै मिहिनेत गरेर कुनै एनजीओ÷आईएनीओका लागि अरू नै विषयमा अध्ययन–अनुसन्धान गरेर यति नै आकारको पुस्तक लेखेको भए लाखौं रुपैयाँ आम्दानी हुन्थ्यो होला ! नाम र दाम दुवै मिल्थ्यो होला ! पुस्तक देखेपछि यस्तो प्रश्न मनमा उब्जिन सक्छ। पुस्तक पढेपछि उपर्युक्त प्रश्नहरूको जबाफ आफसेआफ मिल्छ।

दलित भनेर परिभाषित गरिएको छ दमाईं जातिलाई। त्यसमाथि राज्य र समाज दुवैबाट शोषित र पीडित पनि छन् यही दमाईं जाति। त्यसैले त सडकमा आवाज उठ्ने गरेको छ यस्तो शोषण, दमन, विभेद र उत्पीडनविरुद्ध। अनि सामाजिक रूपान्तरणका लागि पनि। हो, यस्तै आवाजलाई प्रतिनिधित्व गर्छ यो ‘रैथाने दमाईं जातिको लोकजीवन’ले पनि। यस्तै, शोषण, दमन, विभेद र उत्पीडनविरुद्ध निकै शालीन र भद्र आवाज छ यो पुस्तकभित्र। जुन आवाज वर्षौंसम्म पनि निरन्तर गुजिरहनेछ र राज्यलाई यस्तो शोषण, दमन, विभेद र उत्पीडन अन्त्यका लागि घचघच्याइरहनेछ। पटकपटक राज्यलाई ब्युँझाइरहने छ। यसमै छ यो रैथाने दमाईं जातिको लोकजीवनका बारेमा अनुसन्धान गरिनु र यो बृहत् पु्स्तक लेखिनुको औचित्य पनि।

समाजमा सबैभन्दा बढी हेपिएका र विभेदमा पारिएका जातिमा पर्छन्, दमाईं, कामी र सार्की। सामाजिक दृष्टिले विभेद, दमन र उत्पीडनमा परेका यी जातिमाथि आर्थिक शोषण पनि उत्तिकै हुँदै आएको छ। यही आर्थिक शोषणकै कारण दलित जातिको आर्थिक हैसियत कहिल्यै उकासिन सकेन। सधैं अभावैअभावमा बाँच्न बाध्य पारियो देशका सबै दलित जातिलाई। विभेद अन्त्य र सामाजिक रूपान्तरणका लागि भनेर गाउँ पसेका एनजीओ र आईएनजीओहरूले पनि दलितहरूका बारेमा थप हल्ला फैलाएर दलितलाई नै थप पीडा दिने काम मात्रै गरे, तर सामाजिक रूपान्तरणमा कुनै सुधार भएन। त्यसैले दलित सधैं दलित नै भएर बाँच्न विवश भए, छन्।      

दमाईं जातिको समाजशास्त्र सम्पन्न छ, तर अर्थशास्त्र भने निकै तन्नम। त्यसैले विविध शिल्पका दृष्टिकोणले धनी दमाईं जाति आर्थिक रूपमा भने निकै गरिब छन्। गरिब भएकैले उनीहरूको सम्मान र पहिचान छैन समाजमा। उपेक्षित छन् समाजबाट र राज्यबाट पनि। शिल्पी समुदायमा विशिष्ट स्थान हुँदाहुँदै पनि समाजमा उपेक्षित, अपहेलित र उत्पीडित भएर बाँच्नुपर्दाको मुख्य कारण उनीहरूको शिल्पको न्यून मूल्यांकन, त्यसलाई न्यून तहको पेसा ठान्ने साामाजिक प्रवृत्ति र त्यो शिल्प अथवा त्यो श्रमको न्यून कदर हो। पुस्तकभित्र यही आशय छ। ऐतिहासिक कालदेखि राज्यको सामाजिक, सांस्कृतिक र प्रशासनिक कार्यमा समेत विविध किसिमले महत्त्वपूर्ण योगदान गर्दै आएका छन् दमाईं जातिले। जसका एक ज्वलन्त उदाहरण हुन् बिसे नगर्ची। दमाईं जातिप्रति राज्यबाटै भएको सामाजिक र आर्थिक विभेद पनि हो। 

रैथाने दमाईं जाति को हुन् र के हुन् ? कसरी उत्पत्ति भयो दमाईं जातिको ? किन दलित भए दमाईं जाति ? र दलित भएकै कारण समाज र राज्यबाट कति अन्याय, अत्याचार, शोषण, दमन, विभेद, उत्पीडन र उपेक्षा सहनुपर्‍यो दमाईं जातिले ? यस्तै प्रश्नको जबाफ खोज्ने काम भएको छ ‘रैथाने दमाईं जातिको लोकजीवन’ पुस्तकभित्र। साँच्चै भन्ने हो भने पुस्तकका लेखकहरूले लेखकीयमा भनेजस्तै खरानीको समाधिस्थलबाट अस्तित्वको खोजको परिणाम हो यो पुस्तक। यसभित्र के छ र के छैन भनेर खोज्नुभन्दा धेरैथोक छ भनेर पढ्नु र बुझ्नु उचित हुन्छ। झन्डै १० वर्षको अथक मिहिनेतले तयार भएको यो पुस्तकमा रैथानै दमाईं जातिको त इतिवृत्त नै छ।

दमाईं जातिको उत्पत्ति र इतिहास; दमाईं गुरु परम्परा; कलौंती दमाईं मातृभाषा, दमाईं भातृभाषाका केही शब्द र लिपि; जिल्लागत रूपमा दमाईं जातिको जनसंख्या विवरण; रैथाने दमाईं जातिका थरहरू; दमाईं पोसाक तथा वस्त्र र आभूषण; दमाईं जातिका प्रमुख चाडपर्व, दमाईं जातिको लोकसंस्कृति; दमाईं जातिको प्राचीन बस्ती; दमाईं जातिको नाच संस्कृति; रैथाने दमाईं लोकशिल्पकला प्रविधि; दमाईं जातिको लोकसंस्कृति र पञ्चैबाजा; दमाईं जातिका केही मौलिक बाजा; कामी–दमाईं–सार्की जातिको परिचय, पञ्चैबाजाको केही स्वर लिपि, रैथाने दमाईंसँग लोकविज्ञान, दमाईंको पहिचान र विविधता; दमाईं जातिको आर्थिक अवस्थालगायतका विषयमा अति महत्त्वपूर्ण र दुर्लभ जानकारीहरू यस पुस्तकमा समेटिएका छन्। साथसाथै विश्वमा मानव उत्पत्तिको क्रम; नेपालमा मानव विकासको सन्दर्भ; नेपालमा जातीय विभाजनको परम्परा; लिपिको परिचय, विकासक्रम र प्राचीनता; नाच वा नाट्य परम्पराको इतिहास; संगीतको इतिहास, उत्पत्ति र विकास, संगीत कलाको सिद्धान्त र प्रक्रियाहरू; स्वर लिपको मौलिकता; बाजामा रसको सन्दर्भ आदि विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका थप जानकारी पनि छन्। 

रैथाने दमाईं जातिको जीवनसँग प्रत्यक्ष जोडिएका परम्परागत मौलिक लोकबाजा, लोकसंगीत, लोकसंस्कार, लोकसंस्कृति, ज्ञान, सीप तथा प्रविधिका बारेमा लेखिएकाले पुस्तकको नाम/शीर्षक ‘रैथाने दमाईं जातिको लोकजीवन’ सार्थक बनेको छ। एउटै जाति विशेषका यति धेरै र यति महत्त्वपूर्ण अभिलेखहरू इतिहासको गर्तमा लुकेर बसेका छन् भने हामीले खोजिपस्यौं भने हाम्रा सयौं जाति र जनजातिका अरू थुप्रै यस्तै बृहत् ग्रन्थ तयार हुन सक्छन्। यस्ता ग्रन्थहरू हाम्रो मौलिक पहिचानका दस्तावेज हुन् र हाम्रा बौद्धिक सम्पत्ति पनि हुन्। यस्ता धेरै सम्पत्तिको खोज र अन्वेषण गर्नसके हाम्रा सयौं थरी जात–जातिका उत्पत्ति र विकासका मौलिक इतिहास, परम्परा, धर्म, संस्कृति, सभ्यतालगायत उनीहरूको आर्थिक तथा सामाजिक अवस्थाको जानकारी प्राप्त हुन सक्छ।

सम्पादक ढुंगानाले ‘नेपाल धेरै सन्दर्भले खुला संग्रहालय सरह छ। दमाईं जातिको लोकजीवन पनि आफैंमा खुला संग्रहालय होभन्दा अत्युक्ति नहोला। सुनौला सम्भावनाहरू बोकेको दमाईं जाति हालको परिवेशबाट माथि उठ्ने हो भने ‘नुन’ बोकेर गुजारा गरिरहनुपर्ने तहबाट फड्को मार्न सफल हुने निश्चित छ।’ इतिहास बचाउन र पहिचान जोगाउन पनि यस्ता अभिलेख र ग्रन्थहरू आवश्यक हुन्छन्। इतिहासै मेटियो भने गौरव गर्नलायक वस्तु केही बाँकी रहन्न। नेपाल प्रज्ञा प्रतिष्ठानले अझै यस्तो विशेष कार्य गर्न सकेको छैन। यद्यपि लेखकत्रयको जाँगर र मिहिनेतलाई सलाम गर्नुपर्ने हुन्छ। 

इतिहासलाई कुल्चेर अघि बढ्नै सकिन्न। यो पुस्तक दमाईं जातिका सम्बन्धमा एउटा ऐतिहासिक दस्तावेज नै हो। यसको महत्त्व पछिसम्म पनि रहनेछ। धेरै ठूलो आँट, धैर्य र मिहिनेतले यति महत्त्वपूर्ण ग्रन्थ तयार पार्ने कार्य प्रशंसायोग्य मात्रै होइन कदरयोग्य र पुरस्कारयोग्य पनि छ। यति ठूलो आँट, धैर्य र मिहिनेतको कतै न कतैबाट कदर हुनैपर्छ। जसबाट फेरि पनि महत्त्वपूर्ण कार्य गर्न चाहनेलाई पनि हौसला मिलोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.