देउडा गीतको गहिराइ

देउडा गीतको गहिराइ

देउडा, यति मीठो र आत्मीय संस्कृति हो जसका कारण त्यस भूगोल मित्रका मानिसको अनुहार उज्यालो देखिन्छ।

काली कर्णालीको समृद्ध संस्कृतिको नाम हो देउडा, द्यौणा। यो संस्कृतिको भूगोलभित्र यसबाहेक अरू थुप्रै आदिम संस्कृति अटाएका छन्। मांगल, फाग, सगुन, छैट, पैठ, हुड्केली, भारत, होरी, चाँचरी, रनपुतला भस्सो आदि। यी संस्कृतिले पनि काली कर्णाली प्रदेशको जनजीवनलाई सांस्कृतिक रूपमा वैभवशाली तुल्याएको छ।

हरेक महिनामा दृश्य र अदृश्य संस्कृति र परम्पराले समाजलाई कतै न कतै प्रभाव पारिनै राखेको देखिन्छ। जनमानसमा लगभग परिचित भइसकेको विसुपर्व (नयाँ वर्षको पहिलो दिन) र गौरापर्व (भदौ महिनामा मनाइने नारी प्रधानपर्व)ले ती प्रेसका प्राचीन सांस्कृतिक सभ्यताको ऐनाको काम गरेको देखिन्छ।

देउडा, यति मीठो र आत्मीय संस्कृति हो जसका कारण त्यस भूगोल मित्रका मानिसको अनुहार उज्यालो देखिन्छ। जसको रसस्वादनले समग्र समाजलाई गुलियो पारिदिन्छ। हरेक विधाका गीत यसमा अटाउने हुँदा हरेक वय र उमेरका नरनारीलाई प्रेमको भाव जगाउँछ, मातृभूमिप्रतिको स्नेह र आत्मीयता देखाउँछ। देउडा गीत कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र किन सीमित ? देशका अन्य भू–भागमा किन फैलन सकेको छैन ? यसबारे अनुसन्धान गर्नु, चर्चा र बहस गर्नु आवश्यक देखिन्छ। भू–बनोटमा नेपाल सानो छ, तर यो देशको संस्कृति, भाषा र जनजातिको गरिमा विशाल छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ ? मा हाम्रो देशको महत्त्व कति छ भन्नेबारे अर्थपूर्ण तरिकाले व्याख्या गरेबाट प्रष्टै थाहा हुन्छ। बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पाको बिँड भने जस्तै छ हाम्रो मातृभूमि।

फूल लाउन्या नेपाल वाङ्ग्यो फूल क्यान फुल्दो हो
चैत्रका चाखुणी जन मन क्यान डुल्दो हो ?

अर्थ– सयपत्री, गोदावरी, मखमली फूलहरू ढकमक्कै फुलेको देखेर कवि, गीतकार आफैं प्रश्न गर्छन्– यी फूलहरू पहिरने मानिस नेपाल (काठमाडौं) गएको छ, प्रिय फूल तिमी किन फुलिरहेछौं। जसरी चैत महिनाका उराठ र लामा दिनहरूमा च्याखुराहरू चारोका लागि डुलिरहन्छन्, त्यसैगरी यो मन पनि विरिक्तिएर किन डुलिरहन्छ।

अपठित गीतकारले सुन्दर फूललाई प्रश्न गर्छ, वनमा डुल्ने च्याखुरासँग मनको तुलना गर्छ। यो भाव कसरी मनैबाट निस्केको होला। मनको आत्मीय साथी हो देउडा गीत। यो गीतले प्रकृतिसँग आफूलाई हराउँछ, समाजलाई संस्कृतिप्र्रति चेतनशील गराउँछ। प्रकृतिसँग आफूलाई हराउँछ, वर्तमान राजनीतिक क्षेत्रमा विश्वास र इमानदारिताको खडेरी परेको बेलामा देउडा गीतले भातृत्वको 
सन्देश दिन्छ  :

सज हिँड मौवाका रूख गाई नाद्या सरानी
तमी मेरा गलीकण्ठ ताई मेरो परानी।

कविले कल्पना गर्छ– गाईमातालाई जंगलको बाटो कटाउनु छ, तारो भएकी ती गाई ब्याउने बाली छन्, जति हिँडे पनि यात्रा टुंगिन्न तर स्याउली सोतरका लागि नभै हुन्न। सँगैका साथी तिमी जतिसुकै टाढा वा निष्ठुरी भए पनि तिमी मेरा गलीकण्ठ (घाटी) हौं, तिमी मेरो प्राण हौं। देउडा, गीतमात्र होइनन्, पद्य कविता पनि हुन्। भावपक्ष गहिरो भएकाले देउडा कविले मात्र अर्थ बुझ्छ। सामान्यभन्दा कवि हृदय भएका स्रष्टाले देउडा कविताको जवाफ कवितामार्फत नै दिने गर्छ। जसलाई सामान्य व्यक्तिले गीतको प्रत्युत्तर पनि भन्ने गर्छन्। चेतनाको गहिराइमा डुबेपछि देउडागीत, गीतमा मात्र सीमित नभएर पद्य कविताका अंश हुन् भन्न पनि रुचाउँछु। यी गीत र कविताको उर्वर भूमि भनेकै वनजंगल हुन्।

प्रकृतिले गीत जन्माएको हुन्छ। फरक छ कि सबै गीत कविता बन्दैनन्, सबै कविता गीत पनि बन्दैनन्। शब्द र भावले सन्तुलित विचार बोकेकाले मनका मखमलीपत्रमा गीतको बास हुन्छ। तिनै गीत खेलका रूपमा परिणत हुँदा मनोरञ्जनको माध्यम बन्छन्। तर, देउडा खेललाई मनोरञ्जन मात्रभन्दा संस्कृतिमाथि अन्याय हुन्छ। मनोरञ्जन र संस्कृति बराबरी रूपमा अनुभूत गर्न सकिन्छ। वि.सं. १८१६ मा भएको सुगौली सन्धिअघिको नेपालको भू–खण्ड कुमाउ, गडवाल र देहरादुनसम्म फैलिएको थियो। त्यहाँ नेपाली मूलका मानिसको बाक्लो बस्ती छ। देउडा संस्कृतिलगायत सुदूरपश्चिमको सशक्त संस्कृति ती ठाउँहरूमा पनि छताछुल्ल भएर पोेखिएको वर्तमानमा पनि देख्न पाइन्छ  :

सोर् भन्नु पिथौरागढ भण्डी टनकपुर
म भन्या खेल खेल्न लाग्याँ क्याछ तम्रो सुर

पिथौरागढ, हलद्वानी आदि क्षेत्रलाई समग्र रूपमा सोर भनिन्छ। जहाँ नेपाली कामको खोजीमा बर्सेनि पुगेका हुन्छन्। जसरी उत्तरी भारतको व्यापारिक केन्द्र टलकपुरमा नेपालीहरू काम गर्छन्। कुनै बेला ती ठाउँहरूमा पनि नेपाली भाषा र संस्कृति अटाएको थियो  :

कुमाउको झगडी जग्गा गैझ डोटी डोटी
आधा कर्म हिरामोती आधाकर्म खोटी।

भनिन्छ– सुगौली सन्धि अघिसम्म कुमाउका बासिन्दाहरूको प्रशासनिक कार्य पनि डोटी जिल्लाले हेर्ने गथ्र्याे। पश्चिमको प्रमुख प्रशासकीय केन्द्र डोटीलाई गौणा पनि भनिन्थ्यो। देहरादुन, गडवाल र कुमाउका मानिस पनि डोटीको प्रशासनप्रति भरभरोसा राख्थे।

काली कर्णालीको समृद्ध संस्कृतिको नाम हो देउडा, द्यौणा। यो संस्कृतिको भूगोलभित्र यसबाहेक अरू थुप्रै आदिम संस्कृति अटाएका छन्। मांगल, फाग, सगुन, छैट, पैठ, हुड्केली, भारत, होरी, चाँचरी, रनपुतला भस्सो आदि।

डोटीको न्याय हालको सर्वाेच्च अदालतझंै सम्मानित दियो। जग्गासम्बन्धी मुद्दामा जित्ने मानिसको भाग्य हीरामोती जस्तै र हार्नेको चाहिँ खोटी कर्म जस्तै भएको छ भनी गीतमा व्याख्या गरिएको पाइन्छ। इतिहासलाई सम्झाउने मात्र नभएर नेपालको अधीनमा रहेको हालको भारतको उत्तराखण्डको खेतीपाती र फलफूल सम्झेर आँसुकवि एवं देउडा गीतांगीले उल्लेख गरेका छन्  :

ताल स्याउ अलमोडा आलु रानीखेत केला
सम्झन्छु धुणुक्क रुन्छु साई सम्झ्याका बेला।

कामको खोजीमा बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, कालीकोट, जुम्ला दैलेखलगायत धेरै जिल्लाका युवामाथि उल्लेखित ठाउँमा जाने गर्छन्। त्यहाँ ६/७ महिना भारी बोकेर पैसा कमाउँछन्। वर्षाैंदेखिको यो चलन विद्यमान छ। घरमा जहानपरिवार छोडेर गएपछि श्रीमतीले साई (श्रीमान्) सम्झेर धुरुक्क आँसु निकाली रुने गर्छिन्। अकुल्याई (सम्झना) लाग्छ भन्ने कुरा गीतमा उल्लेख गरेको पाइन्छ। नैनीताल क्षेत्रमा स्याउ, अलमोडा आलु, रानीखेत केराका लागि प्रख्यात छ भनी गीतमा बताइएको छ। देउडा, सामान्य नभएर गहनभाव र अर्थ बोकेका साहित्यिक र वस्तुपरक गीतहरू हुन्। देखेको भरमा र सुनेको आधारमा देउडाको धर्म राखी गीत तयार पार्नुलाई हल्का रूपमा लिन हुँदैन। एकातिर भाषाको संरक्षण भएको देखिन्छ भने अर्काेतिर मौलिक संस्कृतिको विस्तार भएको पाइन्छ गीतमा  :
शिवजी शिवका स्थान जोगी बस्या ध्यान
एकै सूर्य घाम ताप्दा छौं भेट हुँदैन क्यान ?

४० सालमा रेडियो नेपालमा रेकर्ड गरेको यो गीत अर्थपूर्ण छ। भगवान् पशुपतिनाथको मन्दिरमा शिवजी हुनुहुन्छ। पशुपतिनाथ मन्दिरको वरिपरि स्वदेश र विदेशबाट आएका सयौं साधुसन्त र जोगीहरू ध्यानमा बसेका देखिन्छन्। वर्षभरिका चाडपर्व घरमा भित्रिन्छन् तर आफन्त र परिवारजन विदेशमा छन्। एउटै सूर्यको घाम तापेर पनि भेट न हुनु कस्तो अनौठो भएको छ।

यस गीतले दार्शनिक पक्ष ओगटेको बताउँछन् प्रसिद्ध नियात्राकार प्रतीक ढकाल। सुदूरपूर्वका बुद्धवीर लामा, सूर्य थुलुङ, कविता आले, मानसिङ थुलुङ, लंका गोले, कुवेर राई, गणेश रसिक, शम्भु राई, हिरण्य भोजपुरे, उषाकिरण अधिकारीलगायत (३८/४० को दशकका)ले पंक्तिकारद्वारा स्वरबद्ध देउडा गीत सुनेर रेडियो नेपालमा यस्ता गीत भित्रिनु दुर्लभ कार्य भएको टिप्पणी गरेका थिए। लोचन भट्टराई, कविता आले, जानकी भट्टराईले त मेहनतका साथ केही देउडा भाका पस्केका छन्। देउडा भूमिबाहेक अन्य कुन कुन कलाकारले मीठो स्वर भरेर सुदूरपश्चिम र कर्णालीलाई गुन लगाएका छन्  :
ठोरै ठोरै पुलिस बस्या वनवासाका पुल
घर झाउकी यै बसौंकी भन् पदम्का फूल।

यो घटना प्रधान गीत हो। नेपाल–भारतको बीचमा बग्ने महाकाली नदीमा शारदा ब्यारेज छ। जुन ब्यारेज इष्ट इन्डिया कम्पनीले सन् १९२८ मा बनाएको थियो। ३४ गेट रहेको सो ब्यारेजलाई वनवासाको पुल पनि भनिन्छ। भारतीय प्रहरीले नेपाली यात्रुमाथि निगरानी राखेर दु :ख दिने गर्छन्। एउटा गीतकारले उनीहरूको सम्मान गर्दै पदमको फूलको उपमा दिएर भन्छ– तपाईंहरू नै निधो गर्नुहोस्– म स्वदेश (घर) जाऊँ या यही ठाउँ (भारत)मा बसौं ? कति अर्थ लुकेको छ यो गीतमा ! कति मर्यादाका शब्द अटाएका छन् यी देउडा गीतमा ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.