जोगिरा सर र र...
सांस्कृतिक रूपमा हेर्ने हो भने पनि थोरै चाडपर्वमध्ये होली तराई र पहाडलाई दरिलोसँग जोड्ने एउटा पर्वका रूपमा स्थापित बनेको साहित्यकार तथा लेखक नित्यानन्द मण्डल बताउँछन्।
जनकपुरधाम :
कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग
कौन तालपर गोरिया नाचे, कौन तालपर हम
जब फागुन महिना लाग्छ। जाडो महिना विस्तारै सकिँदै गएर घाम न्यानो हुँदै गर्दा होली पर्व सुरु भइसकेको हुन्छ। अनि, मिथिलाञ्चल क्षेत्रमा गाउन सुरु हुन्छ ‘जोगिरा सर र र...।’ तराईका क्षेत्रमा जोगिरा गाउँदै आत्मियता साटिँदा पहाडी क्षेत्रमा फागु नाचले गाउँ–सहर जाडेको भेटिन्छ। एक दिनअघि पहाडी र एक दिनपछि तराईका क्षेत्रमा होली पर्व मनाए पनि आपसी सद्भाव, भ्रातृत्व र उमंगको सन्देश दुवै क्षेत्रमा यसले बाँडेको छ। तराई र पहाड जोड्ने सांस्कृतिक सेतु बनेको छ।
कतै साताभर त कतै एक वा त्योभन्दा बढी दिन मनाइने यो पर्वले संस्कृति र परम्पराको झल्को मात्रै दिँदैन प्रेम र सद्धभाव पनि बाँडेकै हुन्छ। अझै यो समयमा गाउने गीत संगीतको महŒव छुट्टै छ। गीतको माधयबाट इतिहास र पौराणिक कुरालाई टपक्कै टिपेर पुस्ता हस्तान्तरण भइरहेको हुन्छ। तराईको संस्कार संस्कृति पहाडमा थाहा हुन्छ, पहाडको तराईमा।
किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबिर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘ !! जोगिरा..सररर..!!’
गीतकै माध्यमबाट अबिर, पिचकरी र लोलालाई जोडिन्छ र मनोरञ्ज गरिन्छ। संस्कृति विद् भन्छन्, ‘संगीत बिना मिथिलाञ्चलमा होलीको परिकल्पना नै गर्न सकिँदैन। यहाँ होली पर्व मन भित्रको कुन्ठित विचारलाई समाप्त पार्ने पर्वका रूपमा लिइन्छ।’ मिथिलाको लोकगीत जोगिरा गाउँदै आएका धनुषा हरिहरपुरका ८० वर्षीय नथुनी महतो यो समय गाउने जोगिरासहित अन्य होली विशेष गीत संगीतले सबैको मन छुन्ने र मनका कुन्डित भावलाई पनि हटाउने बताउँछन्। ‘कुन्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यमका रूपमा मिथिलाञ्चलमा गाइने जोगिरा गीतलाई लिइन्छ। जोगिरा गीतको माध्यमले समाजमा व्याप्त कुरीतिहरूमाथि व्यांग्यात्मक शैलीमा प्रहार गरेको हुन्छ,’ उनी भन्छन्।
जोगिराले संस्कृतिको सम्झना मात्र नभई त्योप्रतिको समर्पण भाव बोकेको हुन्छ। यसले भक्तिको लयमात्र नभई दुःख र जीवनका तीता अतित बिर्साउने काम पनि गरेको हुन्छ। अबीर एवं रङको महिमा एकै समयमा एकसाथ सुन्न र ग्रहण नै गर्न पाइने भएकाले यो पर्वको महŒव बढ्दै गएको यसलाई नजिकबाट नियालिरहेका संस्कृति विद् बताउँछन्। तर, पछिल्लो समय जोगिरा जोगाउनै मुस्किल पर्ने होकी भन्ने चिन्ता पनि उत्तिकै रहेको जोगिराका गायक महतो बताउँछन्।
के बालक, के वृद्ध यो पर्वमा नरमाउने कुनै उमेर समूह छैनन्। अझै युवा पुस्ताको त पृय पर्व नै बनेको छ। यो पर्वमा सबैका हातमा विभिन्न रङसहित अबिरका पोका भेटिएकै हुन्छन्। घरघरमै पानीमा घोलिएका रङका बाल्टिन सजिएकै हुन्छन्। घर एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका हुन्छ। अनि यहीँबाट आत्मियता सुरु हुन्छ। रंगले एकको मन अर्कोसँग जोडाएको हुन्छ।
वर्षमा एक दिन पर्व मनाउने भएकाले मिठो मसिनो पकाउने र बाँड्ने चलन चलेकै छ। घर–घरमा गृहिणी मालपुवा, सेलरोटी र विभिन्न मिठो परिकार पकाउन व्यस्त भेटिन्छन्। तराई मधेसको मिथिला, भोजपुरालगायत क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा हराएको भेटिन्छ।
अबिर लगाउने तथा प्रेम र सद्भाव प्रकट गरिने चाड होलीमा ‘बुरा नमानो होली है’ भन्दै रङ, अबिर खेल्दा आफूभन्दा ठूलोलाई लगाइन्छ भने उमेर अनुसारको माफी मागिन्छ पनि। पर्वमा रङ, अबिर खेल्दा शिष्टताको ख्याल गर्ने मैथिल संस्कृति छ। नाता सम्बन्धका मान्यजनमा दर्शाउने शिष्टता स्थापित गर्ने परम्परा पनि बनेको छ होली। यो क्षेत्रमा मान्यजनसँग आदरभाव साथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्।
होली पर्वसँगै जोडिन्छ मिथिला माध्यमिकी परिक्रमा पनि। मिथिला माध्यमिकी परिक्रमा १४ दिनको यात्रा सकेर जनकपुरधाम आएपछि पूर्णिमाका दिन जनकपुर अन्तरगृह परिक्रमा पूरा गरेको भोलिपल्ट होली पर्व मनाउने मैथिली परम्परा छ।
राक्षसी प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व मित्रता, भाइचारा र आपसी सद्भाव बढाउने रिसराग बिर्साउने अवसर हुने मैथिलीका प्राध्यापक श्यामसुन्दर शशिको भनाइ छ। ‘रङ, अबिरको प्रयोगले यो पर्व उमंग र उल्लासमय बन्छ। मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर, बस्तीमा होली गीत गुञ्जिएका छन्। जताततै रङ अबिरको माहोल छ। पर्वले मानिसमात्र होइन, सडक, बाटा, घरआँगन सबै रङ, अबिरले राताम्य हुन्छन्।’ होलीमा अन्य आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ।
पहाड–मधेस जोड्ने सेतु
सांस्कृतिक रूपमा हेर्ने हो भने पनि थोरै चाडपर्वमध्ये होली तराई र पहाडलाई दरिलोसँग जोड्ने एउटा पर्वका रूपमा स्थापित बनेको साहित्यकार तथा लेखक नित्यानन्द मण्डल बताउँछन्। ‘होलीमा भेदभाव हँुदैन। गरिबले पनि रंगकै होली खेल्छ, धनीले पनि त्यसकै। उमेरले पनि होली खेल्न रोक्दैन। बालबालिका, युवा हुन् वा वृद्ध सबैमा यसको उमंग हुन्छ। यसले पहाडमा जन्मिइ–हुर्किएको र तराईमा हुर्किएको भनेर पनि छुट्याउँदैन,’ उनले भने। होली मात्र होइन, कुनै पनि चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सामीप्यता वृद्धि गर्छ र मानिसहरूलाई समान धरातलमा ल्याउँछ। नेपालको तराई र पहाड दुवै क्षेत्रमा धुमधामका साथ मनाइने पर्व हो होली।
होलीमा भेदभाव हँुदैन यसले पनि यो पर्वको महत्व बढाएको मधेस प्रज्ञा प्रष्ठिानका सदस्य डा. गोपाल ठाकुर बताउँछन्। ‘यसले पहाडमा जन्मिइ–हुर्किएको र तराईमा हुर्किएको भनेर पनि छुट्याउँदैन। त्यहाँ लिंगको असमानता पनि हुँदैन। अझ रोचक कुरा त के छ भने मुस्लिम समुदायका मानिसहरू रंग खेल्न रुचाउँदैनन्। तर, उनीहरू पनि सामूहिक रूपमा होलीमा सामेल हुन्छन् र हिन्दूहरूसँगै प्रेम र सद्भाव बाँडिरहेका पाइन्छन्।’
जाडो बिदाइ, गर्मी स्वागत
होलीका विविध आयाम छन्। मुख्य रूपमा यो पर्व वसन्त ऋतुको आगमनको पर्व हो। मधेसी जति पनि गर्मी खप्न सक्छन्। कठ्यांग्रिँदो जाडो र शीतलहरले उनीहरूलाई सास्ती थप्छ। होली जाडोको बिदाइ र गर्मीको आगमनको संकेत हो। यही बेला मधेसका खेत खलिहानमा गहुँका बाला लहलह झुलेका हुन्छन्। तोरी फुलेर खेत पहेँलिएका हुन्छन्। यो किसानका लागि फुर्सदको समय पनि हो। साँझको शीतल हावा, वसन्त ऋतुको आगमन र कृषि कर्मबाट हुने फुर्सदको सदुपयोग जोगिरा गाएर गर्छन् मधेसका किसान। यस्ता सामूहिक गायनकै कारण होली भित्रिएको सन्देश जन–जनमा पुग्छ।
परम्परागत मान्यता
यो पर्वसँग कतिपय पौराणिक प्रसंग पनि गाँसिएका छन्। मिथिला क्षेत्रमा भने राम र सीताको प्रसंगलाई जोडिन्छ। त्रेतायुगमा विवाहपश्चात् फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा घुम्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनक नन्दिनी किशोरीजी (सीता) ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेको कथन छ। उनीहरूले वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा फागु खेलेको सम्झनामा होली पर्व सुरु भएको मानिने अग्निकुण्डका महन्थ नवलकिशोर शरण बताउँछन्।
यसैसँग अर्को कथा पनि जोडिन्छ। सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेका थिए। हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवानको नाम जप्तै शान्त रहेकाले त्यसकै उत्सवका रूपमा होलि मनाइएको बताउँछन् मिथिला परम्पराका ज्ञाता मधेस प्रज्ञा प्रतिष्ठानका डा. रामभरोष कापडी ‘भ्रमर’। मिथिलामा भने पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले राम र सीताको सन्दर्भ जोडेर यस पर्वको ओज बढाएको मैथिलीका प्राध्यापक श्यामसुन्दर शशि बताउँछन्।
विकृति पनि कम छैन
एक होइन अनेक रंगको लेपन शरीरमा लगाउनु भनेको उत्साह र उमंगलाई मनैदेखि आत्मसात् गर्नु हो। यस्तो अवसर होलीमा आउँछ। पर्वहरू आफ्नै सांस्कृतिक धरातल र शास्त्रीय मान्यताहरूबाट निर्देशित भई पर्वका राम्रा विधिविधानहरूलाई अंगिकार गरेर पर्व मनाए समाजलाई अगाडि बढाउन मद्दत पुग्छ। तर, अहिले पर्वहरूका सांस्कृतिक र शास्त्रीय परम्पराबाट हटेर विकृति बढाउँदै लगेको समाजिक अभियन्ता सुशील कर्ण बताउँछन्।
‘पर्व आयो कि हाम्रा मनमा उमंग होइन चिन्ता बढ्न थाल्छ। फागु पनि त्यसैको मारमा छ। फागु मनाउनुको सामाजिक र सांस्कृतिक महत्व सचेत नागरिकका हिसाबले सचेत वर्गले बुझाउनु पर्ने हो, तर त्यो भएन। यसैकारण, होलीमा विकृति बढेको छ। विकृति रोक्न प्रहरी सक्रिय हुनुपर्छ।’ पर्वमा अरूलाई पीडा दिएर मज्जा लिने मानसिकता हावी भएको कर्णको तर्क छ।