१४ वर्षपछि शालिक र स्मृति प्रवेशद्वार निर्माण
स्याङ्जा : तत्कालीन माओवादी र नेपाली सेनाको मुठभेडमा मारिएका पृथ्वी गौतम (विक) को शालिक सहित स्मृती प्रवेश निर्माण गरिएको छ।
पुतलीबजार नगरपालिका-३, लत्रेपिपलस्थित उनको जन्मथलोमा उनको शालिक र प्रवेशद्वारको नेकपा माओवादी केन्द्रका महासचिव देव बहादुर गुरुङले उद्घाटन गरेका छन्।
१८ वर्षअघि २०६१ पुस ३ गते पर्वतको भुकताङलेमा तत्कालीन शाही नेपाली सेनाले गौतमलाई पक्राउ गरेपछि दोहोरो भिडन्तका नाममा हत्या गरेको गुरुङले बताए।
त्यतिबेला उनी १९ वर्षका थिए। गौतमको मृत्युको चार वर्षपछि २०६५ सालमा प्रवेशद्वारसहित शालिक निर्माण थालिएको थियो। निर्माण थालेको १४ वर्षपछि निर्माण पूरा भएको हो।
निर्माणमा संघीय सरकारको १० लाख, पुतलीबजार नगरपालिकाको ३ लाख २० हजार, संसद कोषको ५० हजार र गौतम परिवार ३ लाख रुपैयाँको आर्थिक सहयोग सहित १६ लाख ७० हजार खर्च भएको छ।