भृकुटी तारा
भृकुटी राष्ट्रिय विभूति हुन्। मुलुकको सम्बन्ध तिब्बतसम्म विस्तार गर्ने कोशेढुंगा बनिन्। उनी, नेपालकी राजकुमारी थिइन्, तर तिब्बतसँगको सम्बन्ध विस्तार गर्न त्यहाँकी रानी बन्न तयार भइन्। तिब्बतकी रानी बनेपछि उनले नेपाली कला, कौशललाई दूरदेशसम्म प्रसिद्ध बनाइन्। र, इतिहासमा अमर छाप छोडेर गइन्। मुलुकलाई अतुलनीय योगदान पुर्याइन्।
लिच्छविकालीन राजा अंशुबर्माकी छोरी थिइन् उनी। राजा अंशुबर्माले नेपालको सम्बन्ध भारत र तिब्बतसँग सन्तुलनमा राखेको कुरा इतिहासमा पानामा सुरक्षित छन्। मित्रराष्ट्रहरूसँग सम्बन्ध अझ मजबुत बनाउन उनले बहिनीको विवाह भारतका सम्राट् हर्षवद्र्धनसँग गराए। र छोरी भृकुटीको विवाह तिब्बतका राजा श्रङचङ गम्पोसँग गराए। त्यसैकारण नेपाल र तिब्बतको बहुआयामिक सम्बन्ध छ। उत्तरी भूभाग जोडिएका यी देशहरूको भौगोलिक मात्रै होइन सांस्कृतिक तथा धार्मिक सम्बन्ध पनि मजबुत छ। ईस्वी सम्बत ६१८/६५० (मिति निश्चित नभएको) को ताका राजा श्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह भएपछि नेपालतिब्बत सम्बन्ध अझ बलियो भएको मान्यता छ।
भृकुटीले विवाहपछि ल्हासामा दाइजोको रूपमा नेपाली कालीगढ र कलाकृतिहरूसँगै लिएर गएकी थिइन्। सयौंको संख्यामा बुद्धका मूर्तिहरू दाइजोको रूपमा लगेकी थिइन्। नेवारी कलामा पोख्त कालीगढहरूलाई उनले तिब्बतमा नेपाली कलाकृति बनाउन लगाइन्। नेपाली कालीगढको सीपलाई तिब्बतमा पनि प्रसिद्ध बनाइन्। तिब्बतको प्रख्यात तेह्रतले पोताला दरबार (रेड प्यालेस) उनैको आग्रहमा बनेको थियो। नेपाली कालीगढहरूले भृकुटीको इच्छाअनुसार दरबार बनाएका थिए। उक्त रातो दरबार सन् १९९४ मा विश्व सम्पदा सूचीमा परेको थियो।
त्यसैगरी भृकुटी र श्रङचङ गम्पोले अर्को भव्य मन्दिर हाउस अफ विजडम (द चुलाङ खाङ) निर्माण गरेका थिए। यो मन्दिर हाल जोखाङ मन्दिरको नाममा परिचित छ। यो मन्दिर ल्हासाको केन्द्रमा छ। तिब्बत पुग्ने नेपालीहरू ती कलाकृतिहरू देखेर शिर ठाडो भएको महसुस गर्छन्।
भृकुटीले नेवारी बौद्धिक अभ्यासमा आधारित ‘बज्रयाना’ को महŒव फैलाउने काम पनि गरिन्। नेपाली बुद्धिजम अभ्यास र प्रक्रियालाई तिब्बतीहरूको मनमनमा राख्न सफल भइन्। उनकै पालादेखि तिब्बती बुद्धिजमको सम्बन्ध नेवारी बुद्धिजमसँग जोडिएको हो ।
भृकुटीले ‘मनुवज्र’ को एउटा सक्कली मूर्ति ल्हासा पुर्याएकी थिइन्। तर मंगोल आक्रमण र सन् १९६० को आगलागीमा परेर दुई पटक मूर्तिमा क्षति पुगेको थियो। मूर्तिको माथिल्लो भाग चीनमा र तलको भाग ल्हासास्थित फोहोरको डंगुरमा भेटिएको किंवदन्तीहरू छन्। पछि उक्त मूर्र्तिलाई जोडिएको थियो।
जोखाङ मन्दिर र मठ बनाएर तिब्बतमा बुद्धिजम (बौद्धधर्म) फैलाउन योगदान गरेकी छन्। त्यसैबेला तिब्बत, नेपाल र भारतका बौद्ध धर्मावलम्बी विद्वानहरूले बुद्धिष्ट लिपिलाई तिब्बती भाषामा अनुवाद गरेका थिए। भृकुटी नेपाल र तिब्बतमा एकदमै चर्चित छिन्। उनलाई देवी ताराको अर्को अवतारको रूपमा हेरिन्छ। उनको विवाहलाई एउटा कोशेढुंगो मानिन्छ। उनको विवाह तिब्बतमा बुद्धिजमको सुरुवाती बिन्दु मानिन्छ।