योगमायाको त्यो विद्रोह

योगमायाको त्यो विद्रोह
सुन्नुहोस्

योगमाया न्यौपाने, नारी मुक्ति आन्दोलनकी एक अभियन्ता। उनको परिचय यतिमा मात्रै सीमित छैन। सामाजिक आन्दोलनका क्रममा जीवन समर्पित गर्ने साहसी नारी हुन्। उनी समग्र समाजकै मुक्ति आन्दोलनकी अग्रणी योद्धा हुन्। मुलुकको इतिहासमा उनको विशिष्ट पहिचान छ। ऐतिहासिक पात्र पनि हुन्, योगमाया। उनको जन्म विस १९२४ मा भोजपुरमा भएको हो। 

तत्कालीन शासकविरुद्ध योगमायाले गरेको विद्रोह विश्वकै लागि नौलो मानिन्छ। सतीप्रथाविरुद्ध योगमायाको अतुलनीय योगदान छ। योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीकी प्रतीक पनि हुन्। बूढीऔंठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर गर्ने उनी आँसु कवयित्री थिइन्। उनको एक मात्र प्रकाशित पुस्तक सर्वार्थ योगवाणीलाई उनको सबैभन्दा महŒवपूर्ण योगदान मानिन्छ। 

जो साहसी र निडर थिइन्। उनले तत्कालीन राणाशासनको बेलामा नारी शोषण, बालविवाह, सती प्रथा, कमाराकमारी प्रथा, जातपात, छोइछिटो, उचनीच, दमन, उत्पीडनलगायतका विरुद्ध आवाज उठाएकी थिइन्। त्यतिबेला रजस्वला हुनुअगावै विवाह हुने चलन थियो। उनको पनि बालविवाह भएको थियो। बिहेपछि चार–पाँच वर्ष माइतीमा बस्ने चलन हुन्थ्यो। तर योगमायाले त्यो सुविधा पाइनन्। दिनरात सासूको बुहार्तन र कष्ट सहन नसकेर उनी १२ वर्षको उमेरमा भागेर माइती पुगिन्। माइतीमा पनि हेलाँ गर्न थालेपछि उनी आसामतिर लागिन्।

आसाम पुगेर त्यहाँ उनले पुनर्विवाह गरिन्। एक छोरी जन्मिइन्। गाउँमा पुराण लगाउने हल्ला सुनेर दम्पती नै छोरी लिएर पुराणस्थल पुगे। पुराणमा परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा नर्कको यातना भोग्नुपर्ने बताइएपछि उनलाई आफूले गल्ती गरेको बोध हुन्छ। प्रायश्चित गर्ने भनेरै दम्पती छुट्टिएर बस्न थाल्छन्। छोरी भने योगमायासँगै बस्न थालिन्। आमाछोरी एक्लै बस्न गाह्रो भएपछि उनी पुनः माइत जान्छिन्। माइतीमा बस्दा पनि कुरा काट्न थालेपछि उनी स्वर्गद्वारी पुग्छिन्। त्यहाँ साधना गरेर गुफामा वर्षाैं समय बिताएकी थिइन्। जाडो महिनाका बेला अरुण नदीमा आधा शरीर डुबाएर ध्यान गर्थिन्। गर्मीमा ध्वनि जगाएर आगोको राप नजिकै बसेर तपस्या गर्थिन्।

योगमायालाई सती प्रथा उन्मूलन र नारी मुक्ति आन्दोलनकी अग्रणी महिलाको परिचयमा मात्र सीमित राख्न मिल्दैन। उनले घूस लेनदेनविरुद्ध पनि आवाज उठाएकी थिइन्। कर्जा दिएर तमसुकमा रकमको अंक बढाउने, तिरिसक्दा पनि तमसुक नच्यात्ने, सरसापटीमा दोब्बर असुल्ने, ठगी गर्नेलगायत आर्थिक अनियमिततामा पनि सुधारको पहल गरेकी थिइन्। कवितामार्फत घुसखोरीबाट फस्टाउने र जनतालई आधारभूत अधिकारबाट पनि वञ्चित गर्ने शासकहरूको खुलेर आलोचना गरेकी थिइन्। 

विसं १९८० को दशकको उत्तरार्धमा देशमा राणाशासनविरुद्ध असन्तुष्टि र असहमति बढ्दै गएको थियो। त्यसको प्रतिक्रियास्वरूप तत्कालीन सरकारले विद्रोहीविरुद्ध थप क्रूरता प्रदर्शन गरेको थियो। योगमाया र उनका अनुयायीले माग गरेका सुधारक तŒवहरूलाई राज्यले बेवास्ता गरेको थियो। उनको समूहका गतिविधिमाथि निगरानी राखिएको थियो। यद्यपि भ्रष्ट र क्रूर प्रशासनको सार्वजनिक रूपमा विरोध गर्न भने छाडेकी थिइनन्। 

जुद्धशमशेरले आश्वासन पूरा नगरेको भन्दै योगमायाले २४० इच्छुक भक्तसहित अग्नि समाधिमा बसेर प्राण त्याग गर्ने योजना बनाइन्। तर जुद्धशमशेरले सुरक्षाकर्मी खटाएर कार्यक्रम बिथोल्न आदेश दिए । त्यसपछि कतिपय पुरुष भक्तलाई धनकुटा कारागार र महिलालाई भोजपुरस्थित राधाकृष्ण मन्दिरमा थुनिएको थियो। थुनामुक्त भएपछि उनले आत्मत्यागी योजनालाई निरन्तरता दिँदै १९९८ असार २२ गते  जल समाधि लिने निर्णय गरिन्। 

जल समाधिको धार्मिक अनुष्ठान असार २१ गते राति सुरु भयो। २२ गते बिहान ४ बजे योगमायाले अरुण किनारमा शिरमा बलेको दियो राखी चट्टानमा चढेर जल समाधि लिएकी थिइन्। उनीसंगै ६५ जना अनुयायीहरूले त्यस दिन एकपछि अर्को गर्दै नदीमा हाम फाले। महिला समितिको स्थापना गरेर वि.सं १९७७ मा नेपालमा सती प्रथामाथि रोक लगाउनेको श्रेय योगमायालाई नै जान्छ। समाजमा व्याप्त अत्याचार र भ्रष्टाचारको विरोध गर्दै इतिहासमै सबैभन्दा ठूलो जलसमाधि लिने योगमायाको योगदानको कदर गर्दै उनका नाममा २०७२ सालमा हुलाक टिकट प्रकाशित गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.