नारी सशक्तिकरणका लागि हातेमालो गरौं : प्रदेश प्रमुख शर्मा
हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नारी सशक्तिकरण तथा लैंगिक समानताको बलियो आधार तयार गर्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले लैंगिक विकास र सशक्तिकरणका विविध आयाममध्ये आर्थिक,सामाजिक,राजनीतिक तथा संस्थागत सशक्तिकरण गर्दै सामाजिक विभेद तथा हिंसा र अन्याय अन्त्य गरिनुपर्ने उल्लेख गरे ।
लैंगिक समानताका लागि नेपालको संविधान तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले महिला हक–अधिकारलाई सुनिश्चित गरेको भन्दै यसको पूर्ण कार्यान्वनका लागि समाजका सबै वर्ग,समुदायको समान सहभागिता र योगदान आवश्यक पर्ने उनले बताए ।
नारीलाई पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न नारी दिवसले प्रेरित गरोस् भन्ने कामना गर्दै शर्माले पितृसत्तात्मक सोचलाई परास्त गर्दै लगिनुपर्ने उल्लेख गरे ।
उनले नारीलाई रोजगारीमा अवसर,न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न सबैलाई आह्वान गरेका छन्।