रामचन्द्रलाई जुरेको शीतल निवास

रामचन्द्रलाई जुरेको शीतल निवास

सायद, शीतल निवासको बागडोर सम्हाल्ने ‘भाग्य’ लिएर आएका थिए। पहिलो प्रयासमै चाबी हात प¥यो ।

नेपालीमा उखानै छ, १२ वर्षमा खोलो पनि फर्किन्छ। रामचन्द्र पौडेलको जीवनमा यो उखानले मेल खाएको छ। प्रधानमन्त्री पद ‘फुत्केको’ १२ वर्षपछि रामचन्द्रले राजनीतिक शक्ति प्राप्त गरेका छन्। मुलुकको अभिभावक (राष्ट्रपति) बन्ने मौका पाएका छन्। पार्टी र सत्ता नेतृत्वको ‘फस्टम्यान’ बन्न उनले पटकपटक संघर्ष गरे। तर दुर्भाग्य नै मान्नुपर्छ, उनलाई ती पद जुरेकै रहेनछन्। सायद, उनले शीतल निवासको बागडोर सम्हाल्ने ‘भाग्य’ लिएर आएका थिए। किनकि, पहिलो प्रयासमै शीतल निवासको चाबी हात परेको छ।  

कांग्रेसले पटक–पटक सत्ताको स्वाद चाख्दा पनि २०६७ सालमा मात्रै रामचन्द्रले प्रधानमन्त्रीको उम्मेदवार बन्ने मौका पाएका थिए। तर, त्यतिबेला राजनीतिक परिस्थिति यस्तो बन्यो कि, उनी एक्लो उम्मेदवार हुँदा पनि प्रधानमन्त्री बन्न बहुमत जुटाउन सकेनन्। त्यसैकारण, निर्वाचन प्रक्रिया बीचमै स्थगित गर्नुप¥यो। त्यसपछिका राजनीतिक चलखेलमा उनले उम्मेदवार बन्ने मौका पनि कहिल्यै पाएनन्। ‘चलायमान’ राजनीतिमा रामचन्द्र जहिल्यै किनारमा परे। 

कुनै बेला बीपी कोइराला निकट भएर राजनीति गरेका पौडेल कोइराला परिवारको ओझेलमा परिरहे। कहिल्यै पनि फस्ट म्यानका लागि अघि सारिएनन्। फस्ट म्यान बन्न नसकेपछि उनी गिरिजाप्रसाद कोइरालासँग एउटै पार्टीमा बस्न नसक्ने निष्कर्षमा पुगेका थिए। शेरबहादुर देउवासँगै मिलेर नयाँ पार्टी गठन गर्ने तयारी गरेका थिए। तर, २०५९ सालमा कांग्रेस विभाजन हुँदा उनले कांग्रेसमै बस्ने निधो गरे। त्यतिबेला रामचन्द्रलाई कांग्रेस प्रजातान्त्रिकको ‘फस्ट म्यान’ (सभापति) बन्न शेरबहादुर देउवाले नै अफर गरेका थिए। कांग्रेसमै बसे पनि रामचन्द्रको भाग्य कहिल्यै खुलेन। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको छायाँमा परिरहे। ‘कोइराला परिवारवाद’ को प्रसंग उठ्दा बाहिर देखाइने पात्र बनाइए, तर अवसरमा पछि नै पारिए। 

राजनीतिमा रामचन्द्र ‘चतुर खेलाडी’ मानिँदैनन्।  ‘सानो चित्त’ र दाउपेचमा खेल्न नसकेकै कारण पौडेल कहिल्यै ‘फस्ट म्यान’ बन्न सकेनन्। त्यति मात्र होइन, कांग्रेसभित्र पौडेल कहिल्यै पनि गुट नबनाउने नेताका रूपमा चिनिए। त्यसैकारण पार्टीमा उनको ‘स्थायी गुट’ बनेन। प्रजातन्त्र, मानवअधिकार र समाजवादका पक्षधर रामचन्द्र कांग्रेसमा सिद्धान्त, निष्ठा र विचारक नेताका रूपमा चिनिए। हुन पनि, किसानका कुरा उठाउने थोरै नेतामा रामचन्द्र पर्छन्। 

नेपालीमा उखान छ, सोचेको पुग्दैन, भाग्यमा लेखिएको टर्दैन। देउवा नै दाहिना भएपछि रामचन्द्रको भाग्य चम्क्यो। 

सुशील कोइरालाको निधनपछि देउवा इतर ‘गुट’को नेताका रूपमा रामचन्द्र अघि सारिए। सुशीलको निधनपछि उनी कार्यवाहक सभापति बने। १३औं महाधिवेशनबाट उनी ‘कार्यवाहक’को फुर्को हटाउन चाहन्थे। तर, देउवासँग पराजित भए। त्यसपछि पार्टी र सरकारको नेतृत्व एकल रूपमा देउवाले गर्दै आए। १३औं महाधिवेशनपछि देउवा इतर गुट पनि विभिन्न उपगुटमा विभाजित हुँदै गयो। पार्टीको १४औं महाधिवेशनमा त इतर गुटले रामचन्द्रलाई ‘गुटको नेता’ पनि स्वीकार गरेन। त्यसबेला उनि यति किनारमा परे कि, अब आफूले कसैलाई संरक्षणसमेत गर्न नसक्ने स्थितिमा पुगेको गुनासो पोखे। त्यतिबेला उनको प्रस्ताव थियो– इतर गुटबाट एक जनामात्रै उम्मेदवार बन्ने। त्यसका लागि कि अरूबीच सर्वसम्मति हुनुप¥यो, कि त सर्वसम्मत रूपमा आफूलाई स्वीकार गर्नुपर्ने।’ तर शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा चुनाव लड्ने अड्डी कसे। शशांक कोइराला भने रामचन्द्रप्रति ‘लचिलो’ बनेका थिए। आफ्नो प्रस्तावमा सहमति नजुटेपछि १४औं महाधिवेशनमा पौडेल ‘निष्क्रिय’ जस्तै बसे। ‘प्यानल’भित्रै तँछाडमछाड चलेपछि पौडेलले केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा भाग लिएनन्, उम्मेदवारी मनोनयन कार्यक्रममा पनि सहभागी भएनन्। उनको निष्क्रियताको फाइदा देउवालाई भयो। त्यसैबेलादेखि देउवा र पौडेल नजिक बने। चुनावपछि देउवालाई संसदीय दलको नेता बनाउन पौडेलले भूमिका खेले। देउवा संसदीय दलको नेता बने। देउवाले रामचन्द्रलाई राष्ट्रपति बनाउने वचन दिई नै रहे। 

तर, त्यतिबेलासम्म पौडेलको भविष्य अन्योलमै थियो। किनकि, माओवादीले प्रधानमन्त्री नपाए कांग्रेससँगको गठबन्धन त्याग्ने धम्की दिइरहेको थियो। ग¥यो पनि त्यस्तै। कांग्रेसलाई छोडेर एमालेको समर्थनमा माओवादीले सत्ता बनायो। एमालेलाई राष्ट्रपति दिने भद्र सहमति गरे प्रचण्डले। फेरि राजनीतिक बजारमा चर्चा चल्यो– रामचन्द्र अभागी नै हुन्। यसपटक पनि केही नपाउने भए।’ तर, भित्रभित्र राजनीतिमा दृश्य– अदृश्य चलखेल भइरहेका थिए। कांग्रेसलगायतका पुरानो गठबन्धनका सबै दलले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संसद्मा विश्वासको मत दिए। त्यसपछि त प्रचण्डको बोली फेरियो, कांग्रेसको आस पलायो। माओवादीभित्र बहस भयो– सभामुख एमालेको पाइसकेको अवस्थामा राष्ट्रपति पनि एमालेले पायो भने त देशमा एकछत्र राज गर्छ, कुनै पनि बेला सत्तापलट गरेर देशलाई आफू अनुकूलको बाटोमा हिडाउँछ। हुन त, नयाँ संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले गरेको संसद् विघटनको बचाउ गरेदेखि नै माओवादी र कांग्रेस हच्किसकेका थिए। उनीहरू राष्ट्रपति एमालेलाई कुनै हालतमा स्वीकार नगर्ने निष्कर्षमा पुगिसकेका थिए। ‘शक्ति सन्तुलन’ हुने भन्दै राष्ट्रपति कांग्रेसलाई दिनुपर्नेमा माओवादी मानसिक रूपमा तयार भइसकेपछि कांग्रेसभित्र राष्ट्रपति को त भन्ने जिज्ञासा पैदा भएका थिए। नेताहरूका अनुसार, संसद्को निर्वाचन अघि नै प्रचण्ड र देउवाबीच भद्र सहमति थियो। चुनावपछि देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री। कांग्रेस संसदीय दलको नेता चुनावको तीन दिन अघि मात्रै पनि देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने वचन दिएको त्यतिबेला वार्तामा सहभागी नेताहरू बताउँछन्। तर जब, प्रचण्डले सत्ता छोडन आग्रह गरे, देउवाले मानेनन्। त्यसपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको सहारा माग्न निस्केका थिए। 

कांग्रेसले पनि विश्वासको मत दिइसकेपछि प्रचण्डले एमालेसँगको मित्रता तोड्न सुरु गरे। कांग्रेससँग नजिक भए। यो सुईंको पाएपछि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बन्न ‘प्रस्ताव’ गरे। तर राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नदेखेपछि ओलीको प्रस्ताव स्वीकार गरेनन्। उनी कांग्रेससहितको पुरानो गठबन्धनमै समाहित भए। पुरानो गठबन्धन ब्युँतिने अवस्थामा कांग्रेसले जोसुकैलाई अघि सारे पनि राष्ट्रपति जित्ने निश्चित थियो। यस्तोमा जिज्ञासा थियो– राष्ट्रपतिमा देउवाले के गर्लान् ? आफैं उम्मेदवार बन्छन् वा रामचन्द्रलाई अघि सार्छन् ?’ तर देउवा इमान्दारपूर्वक आफ्नो वचनमा अडिए, बिना टेन्सन रामचन्द्रलाई उम्मेदवार अघि सारे। कांग्रेसी नेताहरूका अनुसार देउवाले पौडेललाई अघि सारेर आफ्नो वचन पूरा गरेका हुन्। देउवा नै दाहिना भएपछि अनि, चम्क्यो रामचन्द्रको भाग्य। 

झन्डै १३ वर्षको जेलजीवन, लामो त्याग र संघर्षशील रामचन्द्रले २०५१ सालमा सभामुख बनेका थिए। उनले २०४८ सालमै संसदीय चुनाव जितेका थिए। २०६२ सालमा पार्टीको महामन्त्री बने। २०६४ सालमा कांग्रेसको उपसभापति बने। यसबीचमा उपप्रधानसहित विभिन्न मन्त्री बन्ने मौका पाए। पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक गरी १३ वर्ष त जेलजीवन नै बिताए। 

राजनीति र नेताप्रति बढ्दो वितृष्णा र अवसरमा एकाधिकारवादका कारण रामचन्द्रले फ्रस्टेसन पनि व्यक्त गर्थे। उनले पार्टीको १३औं महाधिवेशनको उद्घाटन सत्रमा ‘कहिलेकाहीँ त आत्महत्या गरौं जस्तो लाग्छ’ भनेर भाषण नै गरे। तर नेपालीमा अर्को पनि उखान छ, सोचेको पुग्दैन, भाग्यमा लेखिएको टर्दैन। त्यस्तै भएको छ, रामचन्द्रलाई। कार्यकारी हुने सपनालाई शीतल निवासको यात्रा जुरेको छ। अब देशलाई सही अभिभावकत्व दिने, राजनीतिका विकृतिलाई अन्त्य गर्न पहल गर्ने र राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने। संविधानतः राष्ट्रपति आलंकारिक हो। तर राजनीतिक सक्रियता, चलखेल र जोडघटाउका कारण पार्टीहरूले यो पदलाई कार्यकारी जस्तै बनाउन खोजेका छन्। आफू अनुकूल हुँदा राष्ट्रपतिले गर्ने गल्तीलाई पनि सही मान्ने र आफू अनुकूल नहुँदा राष्ट्रपतिले गरेको सही कार्यलाई पनि गलत देख्ने राजनीतिमा ‘गम्भीर’ रोग छ। शीतल निवासको अग्लो भवनबाट न्याय र अन्याय छुट्टियोस्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.