स्वस्थ ज्येष्ठकाल
स्वस्थ्य जीवनशैलीले डिमेन्सियालगायत धेरै रोगहरूबाट बच्न सकिन्छ। त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु उपयुक्त हुन्छ।
उमेर ढल्किँदै जाँदा विभिन्न रोगले सताउँछन्। हृदयरोग, मधुमेह र क्यान्सरजस्ता रोगहरू वयस्कमै देखिन थालिसकेको छ। यी रोगका साथै अन्य समस्याले बुढेसकाललाई असहज बनाउने गरेको छ। वृद्ध अवस्थामा हुने विभिन्न समस्यामध्ये डिमेन्सिया पनि हो। डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग मात्र होइन। मस्तिष्कमा रोग लागेपछि पनि डिमेन्सिया हुन्छ। मस्तिष्कमा रोग नलागेका नब्बे वा सय वर्षका वृद्धवृद्धामा डिमेन्सियाका लक्षणहरू देखिँदैनन्।
डिमेन्सिया कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा ‘स्मृति भ्रंश’ भन्ने रोग तीन हजार वर्षभन्दा पहिलेदेखि नै छ। जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको छ। ६० वर्षको उमेरपछि बिर्सने बानी बढ्न थाल्छ। यो समस्या बढ्दै गए डिमेन्सियानामक रोग लागेको पनि हुन सक्छ। यो रोग लागेपछि सम्झने, इष्टमित्र चिन्ने, आफन्तहरूको नाम सम्झने, सरसफाइ, नुहाइधुवाइ तथा दिसा, पिसाब गर्नेजस्ता कार्यहरू गर्ने क्षमतामा ह्रास आउँछ। पहिले गर्दै आएका महŒवपूर्ण कार्यहरू गर्ने शक्ति पनि क्षीण हुँदै जान्छ।
डिमेन्सिया धेरै किसिमका हुन्छन्। तीमध्ये बढी देखिने अल्झाइमर्स डिमेन्सिया हो। यो रोग लाग्नुका कारणबारे धेरै अनुसन्धानहरू भइरहेका छन्। हर्पिज सिम्पेलक्स भाइरसको संक्रमण र अल्झाइमर्स डिमेन्सियाको केही अन्तरसम्बन्ध भएको पाइएको छ। यस भाइरस संक्रमणको राम्रो उपचार गरेर अल्झाइमर्स रोक्न सकिन्छ कि भन्ने तथ्यहरू प्नि सार्वजनिक भएका छन्। डिमेन्सिया रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्दछ। उमेर बढ्दै जाँदा डिमेन्सिया हुने सम्भावना पनि बढ्दै जान्छ। प्रायः ६५ देखि ७० वर्ष उमेरसमूहमा डिमेन्सिया हुने सम्भावना करिब एक प्रतिशत हुन्छ। ९०–९५ उमेरसमूहका व्यक्तिलाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।
मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने गर्छ। कुनै विषयलाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने ठीक, बेठीक कुराको निर्णय लिने र समस्या परेमा समाधानको खोजी पनि गर्छ। यस्तैगरी आफू कुन ठाउँमा छु, के कस्तो अवस्थामा छु, आफ्नो घर÷डेरामा कुन कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने पनि मस्तिष्कबाट हुन्छ। अभिव्यक्त गर्न खोजेको कुराहरूको सही शब्दहरूको चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ। तर डिमेन्सिया रोग सुरु भएपछि लक्षणहरू विस्तारै देखिन थाल्छन्। अलिअलि गरेर बढ्दै जान्छन्। रोग बढी सकेपछि मस्तिष्कले पहिले सहज रूपमा गर्दै आएका कामहरू पनि भुल्न थाल्छ। खास गरेर पहिले सजिलै सम्झिने कुराहरू बिर्सने सुरु हुन्छ।
डिमेन्सिया रोग लागेपछि विभिन्न किसिमका लक्षणहरू देखिन्छन्। यस किसिमका लक्षणहरू परिवारका सदस्यहरूले थाहा पाउन सकिन्छ। विगतमा गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने हुन्छ। परिवारका सदस्यहरूको नाम सम्झन पहिले कुनै कठिनाइ नहुने गरेकोमा रोग लागेपछि बिर्सिराख्ने र सम्झाए पनि एकैछिनमा बिर्सिने हुन्छ। पैसा, गरगहना, साँचो वा कागजपत्रहरू राखेको ठाउँ प्रायःजसो बिर्सिने र घण्टौं खोजी गर्नुपर्ने हुन्छ। (तर कहिलेकाहीँ बिर्सने जो कोहीलाई पनि हुन सक्छ यसलाई रोग मानिँदैन।) समय तथा स्थानको ज्ञान हराउने। महिना, बार, गतेजस्ता कुराहरूको सम्झना हँुदैन। आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने हुन्छ। रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने, खाना माग्ने समस्या हुन्छ। आफ्नै छोरा, छोरी, बुहारीलाई नचिन्ने, हजुर, तपार्इं, भन्ने, हुन्छ। आफ्नै परिवारका सदस्यहरूलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि ? सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउनेजस्ता लक्षणहरू देखिन्छन्।
डिमेन्सियाका बिरामीहरूमा देखिने सबै लक्षणहरू एकै चोटी देखिँदैनन्। सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ। र रोग बढ्दै गएपछि थप लक्षणहरू पनि देखिँदै जान्छन्। डिमेन्सिया धनी, गरिब, महिला, पुरुष, जुनसुकै जातजाति र भाषाभाषीलाई हुन सक्छ। याद राख्नुपर्ने मुख्य कुरा के हो भने डिमेन्सिया रोग हो। बुढेसखालको लक्षण होइन। तर पनि हाम्रो समाजमा यो बुढेसकालका कारण भएको हो भन्ने गलत सोचाइ व्यापकरूपमा छ।
किन यस्तो रोग लाग्छ भन्नेबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन्। मस्तिष्कका स्नायुकोषहरू मर्दै जाने र मस्तिष्कमा भएका केही रसहरू उत्पन्न गर्ने स्नायुकोष (न्युरोन्स) पनि हराउँदै जाने गरेको पाइएको छ। डिमेन्सिया हुने कारणहरू धेरै छन् तीमध्ये करिब ७० प्रतिशत बिरामीहरू अल्जाइमर्स रोगका कारण हुने गरेको छ। अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो। डिमेन्सिया हुन सक्ने अन्य कारणहरूमा अत्यधिक मदिरा सेवन, एचआईभी÷ एड्स, पोषण तŒवको कमी, र मस्तिष्कमा रक्तसञ्चार राम्रो हुन नसक्नु आदि मुख्य हुन्। डिमेन्सिया रोग लागि सकेपछि उपचार गरेर पूूरै निको हुने सम्भावना निकै कम हुन्छ।
धेरैजसो डिमेन्सियाका बिरामीहरूमा लक्षणहरू विस्तारै सुरु हुन्छन्। सुरुमा बिर्सने, आफूले गर्दै आएको काम गर्न कठिनाइ हुने र रिसाउने लक्षणहरू देखिन्छन्। यस्ता लक्षणहरूलाई परिवारजनले बुढेसकाल लागेर होला भनेर सामान्य रूपमा लिन्छन्। रोग निकै बढी सकेपछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ।
सुरुसुरुमै रोगको निदान हुन सके केही औषधिहरूको प्रयोग गरेर रोकथामसम्म गर्न सकिन्छ। रोग बढी सकेपछि औषधिले रोकथाम गर्न पनि सकिँदैन। त्यसैले रोगको निदान छिटो हुन सके राम्रो हुन्छ। परिवारले पनि डिमेन्सिया रोग लागेको जानकारी पाएपछि के कसरी स्याहार, सुसार गर्न सकिन्छ भन्ने बारेमा पनि ध्यान दिन तथा तयारी गर्न सकिन्छ।
रोगको निदान गर्ने भनेको बिरामीको सम्झना शक्ति ठीक छ कि छैन भनेर चिकित्सकले परीक्षण गर्ने हो। अन्य कुनै रोगको कारण हो कि ? भनेर खोजीनीति गर्ने र रगत आदिको परीक्षण गर्ने गरिन्छ। उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको रहेछ भने उपचार पछि निको हुन्छ। अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरण शक्ति हराउँदै गएको हो भने यकिन भएपछि बिरामीको स्याहारसुसार र ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ। सुरुको अवस्था हो भने औषधिको प्रयोग पनि गर्न सकिन्छ।
ब्रिटिस मेडिकल जर्नल (जनवरी २०१२) अनुसार एसिटाएल कोलिननामक न्युरोट्रन्समिटरले मस्तिष्कमा न्युरोन्स (नर्भ सेल्स) हरू बीच नयाँनयाँ कनेक्सन वा सम्पर्क स्थापना गर्ने काम गर्छ। जति राम्रो र बलियो यस्ता कनेक्सनहरू भए त्यति मस्तिष्क तेजिलो हुन्छ। यो न्युरोट्रान्समिटरको कमी हुँदै जाँदा, न्युरोन्सहरू सुक्दै जान्छन्।
एसिटाएल कोलिन उमेर बढ्दै जाँदा, घट्दै जान्छ। जस्तै हाम्रो मांसपेशीहरू कुनै पनि शारीरिक व्यायाम वा परिश्रम नगरे घट्दै जान्छन्। त्यस्तै मस्तिष्कलाई सक्रिय राख्न व्यायामको आवश्यकता पर्छ।
व्यक्तिगत सरसफाइ र खानपिन आदि साना बच्चाबच्चीलाई गरे जस्तै गर्नुपर्ने हुन्छ। दिउँसो सुत्न दिँदा राति ननिदाउने समस्या हुने हुँदा राति सुत्ने बानी बसाल्नु राम्रो हुन्छ। खास गरेर सहरमा घरको ढोका, घर कम्पाउन्ड भए ढोका÷गेट राम्रोसँग बन्द गर्नुपर्छ, अन्यथा घरबाहिर गएमा बिरामी आफैं
घर फर्किन सक्दैनन् र परिवारलाई बिरामी खोज्न सास्ती हुन सक्छ। बिरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नं. भएको कार्ड राखिदिएमा हराएमा पनि खोज्न सजिलो हुन्छ। नाम÷फोन नंं भएको ब्रासलेट (चाँदी वा अन्य धातुको ) लगाइदिँदा पनि हुन्छ। अन्य समस्याहरू जस्तै आँखामा मोती बिन्दु, सुन्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदि भए त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ। लडेर चोटपटक लाग्ने र विभिन्न संक्रमणहरू भएर समस्या हुन सक्ने भएकोले त्यसतर्फ सतर्क हुनु जरुरी छ। निद्रा नलाग्ने, रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषिधहरूको प्रयोग गर्न सकिन्छ। अनुपयुक्त व्यवहार गर्ने जस्तै कपडा खोल्ने, नांगै हुने, यौनांग खेलाउने, रिसाउने, कुटपिट गर्ने वा तोडफोड गर्ने जस्ता समस्या भए मनोरोग विशेषज्ञसँग सल्लाह लिएर औषधिहरूको प्रयोग गर्न सकिन्छ।
बिरामीहरू विस्तारै आफूले आफ्नो हेरचाह बिल्कुलै गर्न नसक्ने अवस्थामा पुग्छन्। बिरामीमा देखिने परिवर्तनलाई रोग मानेर रेखदेख गर्नु गराउनु आवश्यक हुन्छ। यसलाई बोझको नलिँदा मानसिक तनाव पनि त्यति हुँदैन। यो रोगबाट बच्न र बचाउन सकिन्छ कि भन्ने सम्बन्धमा धेरै अध्ययनहरू भएका छन्। तर यसबाट बच्ने उपाय भेटिएको छैन। विभिन्न अध्ययनहरूबाट यो रोगबाट पूरै बच्ने सम्भावना नभेटिए पनि केही तथ्यहरू भने पत्ता लागेका छन्। जुन अपनाउँदा यो रोग नलाग्न सक्छ।
स्मरण शक्तिमा कमी आउने अरू धेरै कारणहरू छन्। जस्तै केही भिटामिनहरूको कमी (जस्तै, भिटामिन बी १२), केही हर्मोनहरूको कमी (लो थाइराइड हर्मोन) र केही औषधिहरूको प्रयोगले पनि स्मरण शक्तिमा ह्रास आउन सक्छ। त्यस्तै गरेर डिप्रेसन, मानसिक तनाव, निद्राको समस्या, लागूऔषधको प्रयोग वा धेरै मदिरापानका कारण पनि स्मरण शक्तिमा कमी आएको हुन सक्छ। यी कारणहरूले गर्दा स्मरण शक्तिमा ह्रास आउनुका कारणहरू पत्ता लगाई कमी भएको तŒव पूर्ति गर्दा फाइदा हुन्छ।
धूमपान नगर्ने, मधुमेह, उच्च रक्तचाप नियन्त्रण गर्ने, वजन सन्तुलित बनाउने, नियमित शारीरिक व्यायाम गर्ने र रगतमा कोलेस्टेरोलको मात्रा बढी छ भने नियन्त्रणमा ल्याउनु पर्छ। यी प्रयासहरूले हृदयघात हुनबाट बचाउँछन्। साथै डिमेन्सियाको रोकथाममा महŒवपूर्ण योगदान पुग्छ। सन्तुलित भोजन गर्नु र पोषण तŒवको कमी हुन नदिनु आवश्यक छ। टाउकोमा जोडले चोटपटक लागेमा पछि गएर डिमेन्सिया हुने सम्भावना हुन्छ। यसतर्फ पनि ध्यान दिनुपर्छ।
मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ। तनाव हुँदा कर्टिसोलनामक हर्मोन शरीरमा बढी निस्कन्छ। जुन शरीर र मस्तिष्कलाई हानिकारक छ। तनावको उचित तवरले व्यवस्थापन गर्न आफ्ना समस्याहरू मिल्ने साथी वा परिवारका सदस्यसँग आपसमा बाँड्नुपर्छ। समस्या लुकाउनेभन्दा समाधानको प्रयास गर्नुपर्छ। शारीरिक व्यायाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहार, संगीत श्रवणबाट पनि फाइदा लिन सकिन्छ। यसबारे थप जानकारी विशेषज्ञबाट परामर्श लिन सकिन्छ।
भनिन्छ, मस्तिष्कलाई कि त प्रयोग गर वा गुमाउ। केही काम छैन भनेर चुप लागेर निराश भई बस्नु हुँदैन। यसका सट्टा नयाँ नयाँ विषयबारे पढ्ने, सिक्ने आदि गर्दा फाइदा हुन सक्छ। स्वस्थ्य जीवनशैलीले डिमेन्सियालगायत धेरै रोगहरूबाट बच्न सकिन्छ। त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु उपयुक्त हुन्छ।
(डा. उपाध्याय, वरिष्ठ मनोचिकित्सक हुन्।