क्याम्पसमा आगजनी भएपछि स्ववियु निर्वाचन प्रक्रिया स्थगित
वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले आगजनी गरेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया स्थगित भएको छ।
निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विद्यार्थीहरूले शुक्रबार क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका हुन्।
आगजनीपछि क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाले एक सूचना प्रकाशन गरी यसअघि निर्धारित स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरेका हुन्।
शुक्रबार क्याम्पसको सभाकक्षमा क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विद्यार्थी संगठनका नेताहरू बीच मतदाता नामावलीका विषयमा उत्पन्न विवादका बारे छलफल भइरहेका बेला केही विद्यार्थीहरूले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आजगनी गरेका थिए।
आजगजनीबाट शाखामा रहेका फर्निचरहरू जलेका छन्।
आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले विद्यार्थी नेताहरू सुजित गिरी, मनिष चौहान र शिवम साहलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
आजगजनीको घटनापछि शनिबारका लागि निर्धारित मनोनयन पत्र दर्ता कार्यक्रमसहित त्यसपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगित गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी गराए।
मतदाता नामावलीका विषयमा विद्यार्थी संगठनहरूले छानबिनका लागि राखेको मागलाई मध्यनजर गरी क्याम्पसका प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको लामिछानेले बताए।
उक्त समितिमा प्राध्यापक संघ, कर्मचारी संघ, लेखा शाखाका कर्मचारी, विद्यार्थी संघ संगठनका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलाई समेत सदस्यका रुपमा राखिएको छ।
निर्वाचन अधिकृत लामिछानेका अनुसार उक्त समितिले ३ दिनभित्र फागुन २१ मा प्रकाशित मतदाता नामावलीको छानबिन गरी प्रतिवेदन बुझाउने छ।
त्यसपछि उक्त प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशित गरी पुनः अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिने लामिछानेले जानकारी दिए।
उनले त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको चैत ५ मा हुने मतदान भने प्रभावित नहुने गरी आफूहरू अगाडि बढ्ने पनि प्रष्ट पारे। यसैबीच शुक्रबार नै विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले राजीनामा दिएका छन्।
मतदाता नामावलीमा जानीजानी फर्जी विद्यार्थीको नाम समावेश गरेको आरोप लगाउँदै विद्यार्थी संघ संगठनहरूले उनको राजीनामा मागेपछि उनले क्याम्पस प्रमुख चौरसियालाई राजीनामा पत्र बुझाएका हुन्।
निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीमा १० हजार २३२ जना विद्यार्थीको नाम समावेश थियो। तर विद्यार्थी संघ संगठनहरूले नामावलीमा करिब ८ सय फर्जी विद्यार्थीको नाम समावेश गरिएको भन्दै शुक्रबार विवाद गरेका थिए।
क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विद्यार्थी कल्याण शाखाका प्रमुखले आफू निकटका विद्यार्थी संगठनलाई जिताउने नियतले ८ सय फर्जी विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरेको नेविसंघका क्याम्पस इकाई समिति सभापति मनोज कुमार साहले आरोप लगाए।
त्यहि कारण आफूहरूले मतदाता नामावली बारे छानबिन गरी त्यसमा संलग्न दोषीलाई कारबाही गर्नु पर्ने माग राखेको उनले बताए। यता निर्वाचन अधिकृत लामिछानेले पनि फागुन २१ मा प्रकाशित मतदाता नामावलीमा प्राविधिक त्रुटि हुन पुगेको स्वीकार गरे।
त्यही कारण विद्यार्थी संगठनहरूको मागलाई ध्यानमा राखेर छानबिनका लागि क्याम्पस प्रशासनले छानबिन समिति गठन गरेको उनले प्रष्टिकरण दिए।