नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु
काठमाडौं : राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए। ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो। विज्ञ भन्छन्, ‘हाम्रो जस्तो सानो मुलुकमा यो ठूलो क्षति हो। ’ पछिल्लो समय नेपालमा चट्याङका घटना बढेका छन्। विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा मृत्यु हुनेको संख्या सयनजिक छ।
भौगोलिक अवस्थितिका कारण चट्याङको दृष्टिले संसारकै तीन उच्च जोखिमयुक्त क्षेत्रमध्ये नेपाल पनि पर्छ। चट्याङका घटना प्राकृतिक विपद्मा पर्ने भए पनि यसबाट जोगिन अपनाउनुपर्ने सावधानीमा ध्यान नदिँदा मृत्यु र घाइते हुनेको संख्या बढेको चट्याङविज्ञ डा. श्रीराम शर्मा बताउँछन्। उनले सन् २०२१ मा ‘चट्याङको जोखिम र मानिसमा परेको प्रभाव’ का बारेमा अध्ययन नै गरेका थिए। उक्त अध्ययनमा नेपालमा चट्याङका घटनाका कारण हुने क्षति बढ्दै गएको देखिएको शर्मा बताउँछन्। भन्छन्, ‘प्रत्येक डिग्री तापक्रम बढ्दा १० देखि १२ प्रतिशत चट्याङको जोखिम बढ्छ। तर, त्यसको सुनिश्चित आधारहरू भने छैनन्। यो जलवायु परिवर्तनसँग पनि जोडिने भएकाले पछिल्लो समय जलवायु परिवर्तनसँगै चट्याङको घटना पनि बढेको छ। ’
सरकारले सन् २०१७ मा ९ ठाउँमा ‘चट्याङ डिटेक्सन सेन्टर’ को स्थापना गरेको थियो। स्टेसनहरू राखेको डेढ वर्षसम्म चले, त्यसपछि केही आंशिक मात्रै चलेका छन्। यो पूर्ण सञ्चालन भए मात्रै चट्याङको पूर्वानुमान गर्न सकिन्छ।
सुमनकुमार रेग्मी
प्रवक्ता, जल तथा मौसम विज्ञान विभाग
विज्ञहरूका अनुसार मार्च महिनादेखि चट्याङ सुरु हुन्छ। गत आइतबारदेखि मुलुकका विभिन्न स्थानमा वर्षा भएको थियो। करिब साढे चार महिनापछिको पहिलो हिउँदे वर्षाले पनि मेघगर्जन र चट्याङ पारेको थियो। यस अवधिमा चट्याङमा परेर तीन जना घाइते भएका थिए। एकैपटकमा यस्तो क्षति हुनु गम्भीर विषय भएको चट्याङ विज्ञ शर्मा बताउँछन्।
चट्याङबाट बच्न थोरैमात्रै सावधानी अपनाएमा मात्रै धेरैको ज्यान जोगिन सक्छ। तर, सरकारले यो विषयमा ध्यान नदिएको आरोप लाग्ने गरेको छ। यो विषयमा अझै सरकारी तवरबाट गम्भीर रूपमा अध्ययन, अनुसन्धान नै भएका छैनन्। सन् २०१७ मा चट्याङको पूर्वसूचनाका लागि ९ वटा स्टेसन स्थापना भएका थिए। अहिले ती चट्याङ सेन्सर स्टेसनहरू निष्क्रिय अवस्थामा छन्।
सरकारी एक अध्ययनका अनुसार सन् २०११ देखि २०२३ सम्म चट्याङका कारण ११ सय ३५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार यस अवधीमा २ हजार ६ सय ६१ वटा घटना भएका छन्। १ सय ५२ वटा संरचनाहरूमा क्षति भएका छन्। २ हजार ४ सय ७४ पशुधनको नोक्सान भएको छ। साथै ८ करोड ८० लाख बराबरको धनजनको नोक्सान भएको अनुमान गरिएको छ। यो अध्ययन भए पनि यसबाट बच्न भने सरकारले कुनै पहल र चासो भने राखेन।
चट्याङ भयावह विपद् : अध्ययन
अमृत कलेज, लैनचौरमा समेत कार्यरत चट्याङ विज्ञ डा. श्रीराम शर्मा पछिल्लो समय जलवायु परिवर्तनका घटनामा यो पनि जोडिने बताउँछन्। चट्याङका घटना बढ्नुमा जलवायु परिवर्तन पनि एउटा कारण रहेको उनको भनाइ छ।
यसको असरका घटना नेपालमा पनि क्रमशः बढ्दै गएको शर्मा बताउँछन्। महिनौंसम्म गड्यांगुडुङ मात्रै गर्ने, पानी नपरे पनि चट्याङ पर्नेजस्ता नयाँ घटना देखिन थालेको उनको भनाइ छ। यो विषयमा गम्भीर अनुसन्धान तथा अध्ययन हुनुपर्ने र सचेतनाका लागि सरकारको पहल आवश्यक रहेको शर्मा बताउँछन्। पहिले बर्खाको समयमा बढी चट्याङ पर्ने गरे पनि अहिले हिउँदमा नै यस्ता घटना हुन थालेको छ। यो असामान्य अवस्था रहेको उनको तर्क छ चट्याङ के हो ?
प्रत्येक डिग्री तापक्रम बढ्दा १० देखि १२ प्रतिशत चट्याङको जोखिम बढ्छ। यो जलवायु परिवर्तनसँग पनि जोडिने भएकाले पछिल्लो समय जलवायु परिवर्तनसँगै चट्याङको घटना पनि बढेको छ।
डा. श्रीराम शर्मा
चट्याङविज्ञ
डा. शर्माका अनुसार चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो। यो हावामा नै बग्ने गर्छ। चट्याङमा बग्ने करेन्ट घरमा बिजुलीमा आउने करेन्टभन्दा हजार गुणा बढी हुन्छ। यसबाट नेपालको दक्षिणपूर्वी क्षेत्र धेरै प्रभावित छ। चट्याङ पर्नलाई सामान्यतया बादलभित्र उथलपुथल हुनुपर्छ। त्यसका लागि जमिन र पानीको जोडिएको ठाउँ (इन्टरफेस) नजिक भएपछि उथलपुथल बढी हुन्छ।
नेपालको दक्षिण क्षेत्र, भुटान, त्रिपुरा, बंगालको खाडीलगायतका क्षेत्रमा चट्याङ धेरै पर्छ। दक्षिणी सिमाना र उत्तरतिरका पहाडी जिल्लामा बारम्बार चट्याङका घटना भएको देखिएको छ। मौसमी चक्रअनुसार चट्याङको सिजन मार्चमा सुरु भएर अगस्टमा सकिने गर्छ। अहिले विश्वमानै प्राकृतिक विपद्मा भूकम्पपछि चट्याङ दोस्रो ठूलो मृत्युको कारण बनेको छ।
प्रिमनसुन सिजन र मनसुनमा बढी घटना भएका छन्। सन् २०१६ देखि २०२० सम्मको तथ्यांकमा प्रत्येक वर्ष एक लाखभन्दा बढी चट्याङका घटना भएको रेकर्ड छ। पहाडी क्षेत्रमा मध्यम खालको र दक्षिणतिर ठूला घटना भएको देखाएको छ। नेपालको हिमाली जिल्लामा यस्ता घटना खासै भएका छैनन्। तर, देशको मध्य भागतिर पनि यसबाट हुने क्षति बढेको देखिन्छ।
गृह मन्त्रालयले ९ वर्षको अवधिलाई केन्द्रमा राखेर गरेको एक अध्ययनमा यो अवधिमा ९ सय ३० जनाको मृत्यु भएको छ। साथै २ हजार ४ सय ५४ जना घाइते भएका छन्। त्यसमध्ये ५०.८ प्रतिशत पुरुष र ३५.३५ प्रतिशत महिला छन्। तर, १४ प्रतिशत घटनामा कुन लिंगका मानिस परेका छन् भन्ने प्रष्ट छैन। महिलाहरूभन्दा पुरुष घरबाहिरका क्रियाकलापमा सक्रिय भएकाले यस्ता घटनामा परेको विश्लेषण गरिएको छ।
विकासोन्मुख देशहरूमा बढी घटना
विकासोन्मुख देशहरूमा चट्याङले धेरै मानिसको मृत्यु हुँदै आएको शर्माको अध्ययनले देखाएको छ। चट्याङ प्रतिरोधी घर, कार्यालय र सवारीहरू नहुँदा बढी क्षति हुन्छ। यसबाट हुने जोखिमका बारेमा अज्ञानता, घटना भएमा के, कसरी उपचार गर्नेसमेत थाहा नभएको देखिन्छ। आकस्मिक उपचार सेवा पर्याप्त छैनन्। साथै विपत जोखिम न्यूनीकरण कार्यक्रमहरू नहुनुलगायतका समस्याले विकासोन्मुख देशहरू बढी क्षति हुने गरेको छ।
प्रिमनसुन सिजन (अप्रिल–जुन) मा चट्याङका धेरै घटना हुने गर्छन्। देशको मध्य तथा दक्षिणपूर्वी भागमा १५ किलोमिटरको दूरीमा प्रतिवर्ष सयभन्दा बढी घटना भएको अध्ययनले देखाएको छ। पहाडी क्षेत्रमा मे महिनामा अत्यन्त जोखिम हुन्छ। र, दक्षिणी तराईतिर जुन महिनामा जोखिम बढी देखिन्छ। यस अवधिमा ती क्षेत्रहरूमा धेरै घटना भएका छन्। नेपालका चुरे तथा महाभारत र पहाडी क्षेत्र चट्याङ जोखिम ठाउँमा चिनिन्छन्।
निश्क्रिय सेन्सर स्टेसन
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुमनकुमार रेग्मीका अनुसार सरकारले सन् २०१७ मा ९ ठाउँमा ‘चट्याङ डिटेक्सन सेन्टर’ को स्थापना गरेको थियो। स्टेसनहरू राखेको डेढ वर्षसम्म चले। त्यसपछि केही आंशिक मात्रै चलेका छन्। सबै स्टेसनहरूले राम्ररी काम नगरेसम्म उचित नतिजा नआउने रेग्मी बताउँछन्। उक्त समयमा तुम्लिङटार, विराटनगर, सिमारा, भैरहवा, काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा स्टेसनहरू स्थापना गरिएको थियो।
इसिमोडले यूएडएआईडी र नासासँगको सहकार्यमा मौसम पूर्वानुमान साधन ‘वेदर एसेसमेन्ट टुलकिल’ विकास गरेको छ। त्यसले विभिन्न देशमा हुने मौसमी पूर्वानुमान गर्न सक्छ। यो प्रयोग गरे
चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ।
मनिष श्रेष्ठ
हाइड्रोलोजिस्ट, इसिमोड
रेग्मीले भने ‘स्टेसन ब्युँताउन हामीले धेरै नै प्रयास गरेको हो। तर, चलाउन सकेका छैनौं। ’ यो विषयमा फिनल्यान्डको मौसम विभागसँग समेत सल्लाह गरेको उनी बताउँछन्। उने भने, ‘त्यहाँको प्राविधिक टोलीसँग केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको भए पनि स्टेसनहरू सञ्चालनमा ल्याउन सकिएन। ’
दर्जनौं मान्छेको मृत्यु भइरहेको अवस्था भएकाले सबैतिर स्टेसनहरू आवश्यक छन्। सुर्खेतको स्टेसनमा बत्ती जाने गरेको र बारम्बार चट्याङले समस्या निम्त्याएको उनले बताए। इन्टरनेट प्रदायक कम्पनीहरूले पनि चट्याङले बिगारेको भन्दै बिमा माग्न आउने गरेको बताए। रेग्मीका अनुसार यस्ता स्टेसनहरू राख्नलाई प्रविधिको हिसाबमा सुर्वसुलभ छैन। स्थानीय निकाय वा कुनै संस्थाले पनि यसबाट बच्न कुनै तयारी नगरेको पाइन्छ। सामान्य अर्थिङ सिस्टम अत्यावश्यक भए पनि त्योसमेत राखिएको पाइँदैन। ‘नियमित काममा केन्द्रित छौं र पनि रिसर्चमा बजेट छुट्याएको हुँदैन। यसपटक पनि बजेट घटाएको छ’, रेग्मीले थपे।
विश्वविद्यालयहरूसँग सहकार्य गरेर अनुसन्धानका कामहरू गरिरहेको उनले बताए। अन्य काम भने खासै गर्न नसकेको उनले बताए। प्रोजेक्टहरूमार्फत राखिएका स्टेसनहरूमा प्रोजेक्ट अवधि सकिएपछि समस्या आउने गरेको उनले बताए। यता चट्याङ विज्ञ डा. शर्मा सरकारले राखेको सेन्सर एन्टेना मृत रहेको बताउँछन्। सेन्सरहरूले काम गरेमा १५÷२० मिनेट अगाडि पूर्वानुमान गर्न सकिन्छ। सामान्यतः फिल्डमिल भन्ने सेन्सर ठाउँ–ठाउँमा राखेर हेर्न सकिन्छ। तर, महँगो हुन्छ हुने बताए।
सन् २०१० मा शर्माको पहलमा नेपाल विज्ञान तथा प्रविधि एकेडेमी (नास्ट) मा ग्लोबल लाइटेनिङ नेटवर्कको सेन्सर राखिएको थियो। त्यसले नेपालका कहाँ घटना भयो हेर्न सकिन्थ्यो। सन् २०१८ सम्म काम गरे पनि व्यवस्थापनको अभावमा उक्त सेन्सर मृत अवस्थामा रहेको शर्मा बताउँछन्। डब्लूएसआई नामकोे अमेरिकी संस्थाको सहयोगमा उक्त सेन्सर स्थापना भएको थियो।
जनशक्ति र बजेट सधैं अभाव
सरकारले स्थापना गरेको स्टेसनको अनुगमनका लागि स्रोतसाधन र जनशक्ति चाहिन्छ। कार्यस्थलमा पुगेर समस्याको समाधान गर्नुपर्ने हुन्छ। त्यसका लागि जनशक्ति चाहिन्छ। तर, न्यूनतम जनशक्तिबाट बढी परिणाम खोज्दा समस्या समाधान हुन नसकेको प्रवक्ता रेग्मीले बताउँछन्। नियमित काममा मात्रै अहिलेको जनशक्ति खर्चिएकाले बिग्रिएका स्टेसनहरू ब्युँताउन गाह्रो हुने उनको भनाइ छ।
प्रायजसो स्टेसनहरूमा आवाज बढी आउने समस्या देखिने गरेको छ। निश्चित सिग्नल देखाउनुपर्नेमा अन्य विद्युतीय साधनका कारण, फ्रिक्वेन्सी जुध्ने समस्या रहेको छ। काठमाडौंमा र अन्य ठाउँमा परीक्षण गर्दा पनि आवाज बढी आएकाले त्यसमा आएको तथ्यांक फिल्टर गर्न नसकेको रेग्मी बताउँछन्। उनले भने, ‘हामीसँग त्यस्तो हाइटेक जनशक्ति छँदै छैन। त्यसलाई रिप्लेस गर्नुभन्दा अर्को विकल्प छैन। ’ सम्बन्धित कन्ट्र्याक्टरसँग कुरा गरे पनि समस्या पत्ता नलागेको उनले बताए।
चट्याङ पूर्वानुमान गर्न कठिन
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल चट्याङ पूर्वानुमान गर्न अत्यन्त गाह्रो हुने बताउँछन्। चट्याङको घटना हुनलाई तातो जमिन, असन्तुलित वायुमण्डल र आद्रता चाहिन्छ। तल्लो सतहको हावा तातो, माथिको तह चिसो भयो भने त्यसलाई अस्थिर वातावरण भनिन्छ। माथि–माथि जाँदा तापक्रम घट्दै जानुलाई अस्थिरता भनिन्छ। यी तीनवटा कुरा भएपछि मेघगर्जन हुन्छ र चट्याङ पर्छ। त्यसैले पनि चट्याङको घटना देखाउन सक्ने स्टेसनहरू महत्वपूर्ण रहेको उनले बताए।
डिग्री तापक्रम बढ्दा १२ प्रतिशत जोखिम बढ्ने
एउटा नयाँ अध्ययनले प्रत्येक एक डिग्री तापक्रम बढ्दा १२ प्रतिशत जोखिम बढ्ने आकलन गरेको छ। वैज्ञानिकहरूले तापक्रम बढ्दा कसरी चट्याङलाई प्रभाव पार्छ भन्ने विषयमा अध्ययन गरिरहेका छन्। जलवायु परिवर्तनका लागि अन्तरसरकारी प्यानल (आईपीसीसी) कोे एक अध्ययनका अनुसार तातो वातावरणमा यस्ता घटना अझै बढ्ने गरेको छ। यसले मानव, पारिस्थितिक प्रणालीलाई समेत नकारात्मक असर गरिरहेको छ। संसारमा प्रत्येक दिन ८० लाखभन्दा धेरै पटक चट्याङ पर्ने गर्छ। प्रत्येक सेकेन्ड सयौंपटक चट्याङ पर्छ। चट्याङको ज्वालाले आकाशबाट जमिनमा प्रहार गर्छ।
इसिमोडको चट्याङ पूर्वानुमान ‘टुलकिट’
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले अन्तर्राष्ट्रिय विकासका लागि संयुक्तराज्य एजेन्सी (यूएडएआईडी) र नासासँगको सहकार्यमा एउटा मौसम पूर्वानुमान साधन ‘वेदर एसेसमेन्ट टुलकिल’ विकास गरेको छ। त्यसले नेपाल, भुटान, बंगलादेश र उत्तर भारतमा हुने मौसमी पूर्वानुमान गर्न सक्छ।
इसिमोडमा कार्यरत हाइड्रोलोजिस्ट मनिष श्रेष्ठका अनुसार यसले वर्षा, असिना, तापक्रम र चट्याङका बारेमा पूर्वानुमान गर्न सक्छ। नेपाल र बंगलादेशीमा उक्त टुलमार्फत पूर्वानुमान गरिँदै आएको छ। पूर्वानुमान मिल्दै आएकाले यसलाई विश्वास योग्य मानिएको छ। यसले ५४ घण्टा पछिको पनि मौसमी विवरण बताउन सक्छ।
श्रेष्ठका अनुसार उक्त टुल प्रयोगका लागि कुनै पनि शुल्क लाग्दैन। जो कसैले पनि वेबसाइटमा गएर आगामी ५४ घण्टाको मौसमी विवरण हेर्न सक्छ। प्रयोग गर्न सजिलो मात्रै छैन यसले पालिका तहसम्मको मौसम पूर्वानुमान गर्न सक्छ। इसिमोडले उक्त टुल प्रयोगको नियमित निगरानी गर्छ र सम्बन्धित निकायलाई टुल प्रयोगमा सिकाउने गर्छ। यसलाई मोबाइल एपका रूपमा ल्याउने प्रयास भइरहेको छ। उक्त टुलले चट्याङको मात्रै नभएर बाढी र मौसमको समेत सूचना दिन्छ। श्रेष्ठले भने, ‘मौसम पूर्वानुमान विभाग, बंगलादेशले उक्त टुल सञ्चालन गरिरहेको छ। यसलाई भरपर्दो माध्यम मानिएको छ। ’ बंगलादेशले उक्त टुलमार्फत मौसमका बारेमा सूचना प्रसारण गर्दै आएको छ।
बच्न के गर्ने ?
चट्याङ परेको बेला कोही पनि खुला ठाउँमा बस्नु हुँदैन। चौरमा पल्टिएर बस्न हुँदैन। समूहमा कुनै पनि क्रियाकलाप गर्नुहुँदैन। अग्ला संरचनाहरू, उच्च भोल्टेज टावर मुनि, विद्युत्का पोल, रूखका फेदतिर बस्नु हुँदैन। विद्युतीय सामग्री, मोबाइल, टेलिफोन चलाउनु हुँदैन। घरबाहिर भरसक जान हुँदैन।
चट्याङले आगलागीसमेत हुन सक्छ। यसले डढेलोको उच्च जोखिम निम्त्याउने हुन्छ। प्राकृतिक स्रोतको तथा जैविक विविधताको ह्रास ल्याएको छ। सुरक्षित ठाउँमा बस्नुपर्छ। चट्याङबाट जोगिन अग्ला घरहरूमा बनाउँदा जमिनमा चट्याङ प्रतिरोधी रड राख्न सकिन्छ। त्यसले जोखिम घटाउँछ। अथवा यस्तै खालका भरपर्दो स्रोतहरूको प्रयोग गर्न सकिने पनि सकिन्छ।