चरित्रमा चुकेको राजनीति

चरित्रमा चुकेको राजनीति

निर्वाचित नेता वा सांसदहरूको सरकारमा पुग्नुअघि र पुगेपछिको मनोविज्ञान नै बहुत असन्तुलित छ।

राजनीतिको अस्थिरता हुनुका पछाडि धेरै तत्त्वले काम गरिरहेका हुन्छन्।  यसमा आन्तरिक मात्र छैनन्, बाह्य तत्त्व पनि छन्।  संसदीय लोकतन्त्र सभ्य मान्छेहरूले नेतृत्व गर्ने शासन पद्धति हो भन्ने संसारमा देखिएको र अभ्यास भएको विषय हो।  जस्तो जवाहरलाल नेहरू, राजेन्द्रप्रसाद अथवा पटेल।  उनीहरू उच्च बौद्धिक मान्छेहरू थिए।  

नेपालको सन्दर्भमा हेर्ने हो भने अलि फरक छ।  पहिलेको कुरा छोड्ने हो भने २०४६ सालपछि धेरै नेतामा अदूरदर्शिता देखियो।  भनौं, उनीहरू अलि बढी बौद्धिक देखिएनन्।  देशलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा आफू केन्द्रित देखिए।  त्यो प्रवृत्ति क्रमश: अरूमा देखिँदै आयो, जुन स्वाभाविक होला।  बुझ्नु पर्ने के हो भने अलिकति पढेलेखेको, शिक्षामात्र भन्दा दीक्षा र इच्छाशक्ति भएको मान्छेले मात्रै लोकतन्त्र सञ्चालन गर्न सक्छ।  समग्रमा दुई तथ्यलाई बाँड्दा कस्तो देखिन्छ भने गणतन्त्र आउनुभन्दा अगाडि आरोप प्रत्यारोपको राजनीति धेरै देखियो।  त्यसपछि गणतन्त्र आयो तर राजनीतिमा प्रतिशोधात्मक भयो।  द्वेषमा परिणत भयो।  राजनीतिमा प्रतिपक्षीचाहिँ प्रतिद्वन्द्वीमा हुनुपर्ने हो।  तर, यहाँ शत्रुताको व्यवहार गर्ने परिपाटीको विकास भयो जुन हुनुहुँदैन थियो। 

राजनीति भनेको प्रजातन्त्र भनेको सहमति नै हो।  प्रतिपक्ष सानो गुटकै छ भने पनि त्यसको पनि भावनालाई कदर गर्नुपर्छ।  यसरी लोकतन्त्र चल्ने हो।  लोकतान्त्रिक शासन पद्धतिमा भएका नेताहरूको एउटा ठूलो कमजोरी के भने जुनसुकै कुरा पनि व्यक्तिगत रूपमा लिइदिने।  आलोचना गरे पनि पत्रकारहरूले मलाई यस्तो लेख्ने ? भन्ने किसिमको देखियो।  खासमा देश हाँक्ने नेता भइसकेपछि यस्ता विषयलाई त्यसरी लिनुहुँदैन।  

यदि अहिले प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको कुरा गर्ने हो वा कांग्रेस सभापति शेरबहादुर देउवाको अथवा एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा गर्ने हो भने पनि यिनको कमजोरी र लाचारी आदि सबै पक्ष औंल्याउनै पर्छ।  त्यसमा उनीहरूले प्रतिवाद गर्ने होइन, सच्चिने हो।  अझ चौथो अंगको काम नै गल्ती, कमजोरी देखाउने, औंल्याउने नै हो।  तर, उहाँहरूका सहयोगीहरूले पनि यसरी लेख्ने वा आलोचना गर्ने व्यक्ति हाम्रो मान्छे होइन, त्यसले हामीलाई यस्तो यस्तो आरोप लगायो वा सार्वजनिक गरिदियो भनेर लिएको पाइन्छ। 

अर्को समस्या के देखिन्छ भने नेताहरूमा अहिले भइरहेको आसेपासे समूह जो बन्छन् ती बौद्धिक र कार्यात्मक(परिणाममुखी) नै छैन।  यसले के गर्छ भने नेताहरूले आवेसमा आएर केही कुरा भनिसके भने पनि यो सन्दर्भमा भनेको होइन भनेर जिकिर गर्छन्।  बचाउका लागि जो नजिकका मान्छेहरू लागि पर्छन् तर त्यो किन र कसरी भनेर अध्ययन नै गर्दैनन्।  यस्तो समूह पढेलेखेको, ज्ञान र विवेकमा आधारित हुनुपर्छ।  आफ्ना नेतालाई यस कारण यसो गर्नुपर्छ र यसरी गए आलोचना हुँदैन र देश विकासमा पनि दीर्घकालीन फाइदा पुग्छ भनेर सल्लाह दिनुपर्छ।  यो सबै नहुँदा समूहले भने पछि त्यही ठीक हो भन्ने समस्या हामीकहाँ छ। 

अर्को कोणबाट हेर्ने हो भने नेताहरूले दायित्व नै बोध नगरेको जस्तो देखिन्छ।  अधिकार के र कर्तव्य के भन्नेमा नेताहरू संवेदनशील भएको जनताले अनुभूति गरेकै छैनन्।  कुन नेताले के गर्नुपर्ने हो ? स्वयंलाई पत्तो छैन कि जस्तो महसुस हुन्छ।  प्रधानमन्त्री भएपछि के गर्नुपर्ने हो ? गृहमन्त्री भएपछि के गर्नुपर्ने हो ? राष्ट्रपति भएपछि के गर्नुपर्ने हो ? अधिकार खोजेको तर कर्तव्य बेवास्ता गरेको अवस्था स्पष्ट छ।  

कस्तो भइरहेको छ भने दुई महिना एउटा दलको सरकार चल्यो। किन चल्यो ? किन बनेको हो ? के उद्देश्य थियो ? थाहा नभई फेरि अर्को दल सत्ताामा उक्लन्छ। त्यो पनि किन बनेको हो ? थाहा हुँदैन।

इमान्दारिता स्वत: गाँसिएर आउनु पर्छ देश हाँक्ने नेतामा।  निष्पक्ष भएर भन्ने हो भने गरेका वा गर्न नसकेका काम जनतालाई बुझाउन सक्ने क्षमतासमेत भएका नेताहरू धेरै कम देखिएका छन्।  २०४६ पछिका ३३ वर्षको कुरा गर्दा नामै लिएर कुरा गर्दा नैतिकवान् नेताहरूमा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गणेशमान सिंह आदिमात्र हुन सक्छन्।  यसपछि अलि फरक किसिमका नेताहरूको प्रवेश भयो।  असाधारण क्षमता भएका नेताहरू अहिले पनि छन्।  नभएका होइनन्।  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि त्यत्रो युद्ध लडेर आएका नेता हुन्।  के भएन भनेर के गर्न आएका हुन् ? त्यो उनलाई राम्रो थाहा छ।  तर खै त आजसम्म ? २०६३ यता पनि थुप्रै वर्ष बिते त। 

प्रचण्डले देश विकासका लागि के के गरे ? उनले गरेका परिवर्तनको सूची कसैले माग्यो भने के दिन सक्लान् ? वा उनले पनि त्यो आफ्नै स्वार्थमात्रैका लागि युद्ध लडेका हुन् ? अहिले आएर त्यस्तै देखियो पनि।  बृहत्भन्दा पनि आफैं माथि हुने वा आफैंले त्यसमा राज गर्ने हिसाबले आफ्नै स्वार्थ पूर्ति गर्न मान्छे मारेको हो कि भन्ने अवस्था अहिले आभास हुँदैछ जनतालाई।  १० वर्षे जनयुद्धको परिणाम के त ? किन यसप्रति माओवादी नेता सचेत छैनन् ? जे भए पनि ‘ठीक छ’ भनेर त्यसलाई पनि जनताले माफी दिएकै अवस्था थियो।  तर, त्यो ‘पावर सेन्ट्रिक’ भयो।  नेताहरूकै कुरा गर्दा केपी ओली त्यति क्षमता राख्ने साथै निर्भिक भएर बोल्न सक्ने त्यस्तो नेताहरू अब अहिले समकालीनमा छैनन्।  

ओली बहुतै ज्ञान भएका मान्छे हुन्, निष्पक्ष भएर कुरा गर्छन्।  तर, उनले पनि के गर्दिए भने मौका पाउँदा सत्ताको सदुपयोग राम्रोसँग गर्न सकेनन्।  उहाँमा एउटा कमजोरी रह्यो।  भाइभारदारहरू अथवा आफ्ना समूहहरूको लैलैमा लागेर विभिन्न किसिमका काण्डहरू पनि खडा भए।  यसमा नेपाललाई आक्रान्त पारेको भ्रष्टाचार पनि त्यतिकै रह्यो।  उहाँले एउटा इमान्दारको प्राविधिक तरिकाले पनि यसलाई लैजानु पथ्र्यो। 

इमान्दारिता, व्यावहारिकता र क्षमता गरी तीनवटामा आधारित भएर काम अगाडि बढाउनु पर्नेमा त्यसो हुन सकेन।  क्षमताकै कुरा गर्दा अब नेताहरू भनेको बाहिरबाट बनाइदिएर बन्नेजस्तो देखिए।  कांग्रेस सभापति शेरबहादुर देउवा पनि लहैलहैमा हिँड्ने निक्लनुभयो।  समग्रमा कुनै पनि पार्टीको लक्ष्य अहिले गतिलो देखिँदैन।  त्यो एमाले होस् वा कांग्रेस होस् वा अन्य।  दोस्रो तहका नेताहरूले पनि त्यसलाई व्याख्या गरेका छैनन्।  हामीले हेर्दा कांग्रेसमा शेरबहादुरपछि को त ? कसको विचारले दल र देश चल्ने हो ? के छ त्यस्तो विचार भन्ने हो भने कोही पनि देखिदैन।  युवा भनिएका गगन थापा वा विश्वप्रकाश शर्माहरू जो भने पनि उनीहरूको आफ्नो कुनै विचार पनि आडिलो छैन।  अब कहिले–कहिले हामीले यसरी राजनीतिक परिवर्तन गर्छौं ? आर्थिक यसरी परिवर्तन गर्छौं भन्ने कुरा नै गतिलो भएन।  आशलाग्दा भनिएका पनि हल्काफुल्का खालका मात्रै आइराखे।  मेरो यो सिद्धान्त छ, म दल र देशलाई यसरी  चलाउँछु भन्ने विचार, आँट र जोश खै ?

कांग्रेसमात्र होइन, नेकपा एमाले र अन्य दलमा पनि देखिएन।  किनभने उही शीर्षस्थ नेताहरूले जे भन्छन्, त्यसैका लागि इमान्दार काम गर्ने मान्छेहरू मात्र छन्।  एमालेमा पनि छन्।  ओलीपछि को त ? भन्ने किसिमको अहिले देखिएको छैन।  आफ्नो तर्कले पार्टीलाई एक राख्न सक्ने अवस्था भएको ओलीपछि कोही पनि छैनजस्तो लाग्छ।  कांग्रेसमा पनि छैन।  नेकपा माओवादी त एक किसिमले भन्दा पार्टी नै भएको छैनजस्तो लाग्छ।  अलिकति पनि संगठनात्मक निर्णय हुँदैन।  कांग्रेस र एमालेमा केही संगठन छ र निर्णय पनि अलि स्तरीय देखिन्छ।  माओवादीमा त पुष्पकमल दाहालले जे भन्यो त्यही किसिमको हुने परिपाटी अझै छ।  उनको ‘आइडिओलोजी’ पनि त्यही अनि ‘डिसिजन’ पनि त्यही।  यत्तिका वर्ष बितेपछि अब त संस्थागत हुनुपथ्र्यो।  संस्थागत गराउने दायित्व पनि नेताहरूकै न हो।  कर्तव्य नै हो उनीहरूको।  

तर पनि त्यो देखिएन। 

चुनाव जितेर आइसकेपछि अहिले नै र म नै सरकारमा सबै हुन पाए हुन्थ्यो भनेजस्तो मनोविज्ञान देखिन्छ।  निर्वाचित नेता वा सांसदहरूको सरकारमा पुग्नुअघि र पुगेपछिको मनोविज्ञान नै बहुत असन्तुलित छ।  कस्तो भइरहेको छ भने दुई महिना एउटा दलको सरकार चल्यो।  किन चल्यो ? किन बनेको हो ? के उद्देश्य थियो ? थाहा नभई फेरि अर्को दल सत्तामा उक्लन्छ।  त्यो पनि किन बनेको हो ? थाहा हुँदैन।  २०५१÷५२ मा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई एमाले र कांग्रेसले पालैपालो गरेर बोकेको अवस्थासम्म आयो।  

यसले गर्दा २०४७ को संविधान काम लागेन।  हिजो ओलीले गरेको जुन गल्ती थियो, अहिले देउवाले गरेको गठबन्धन पनि गल्ती नै हो।  सत्ता क्याप्चर गर्नुभन्दा बाहेक केही उद्देश्य पनि छैन।  उद्देश्य लक्ष्य पनि छैन।  यतिभन्दा भन्दै पनि राष्ट्रपतिको चुनाव भयो।  अब रोकिएका विभिन्न किसिमका ऐन कानुन पनि छन्।  ती कुराहरू उठ्लान् वा पास नै होलान्।  एमसीसी र एसपीपी भन्ने पनि आउनेवाला छन्।  राष्ट्रपति रामचन्द्र पौडेलमार्फत फास्ट ट्र्याकमा सबै गर्ने भन्ने पनि होला अब।  धेरै छन् यस्ता मुद्दा, जसले मुलुकलाई नोक्सान गर्छ भने सबै पार्टी मिलेर यसको समाधान निकाल्नु पर्ने हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.