विराटनगरमा ‘नेपाल भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता’ हुने
विराटनगर: ‘नेपाल भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।
विराटनगर–६ ब्रह्मपुरास्थित ज्वाला क्रिकेट ग्राउण्डमा शनिबारदेखि यो प्रतियोगिता हुने भएको हो ।
विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल क्रिकेट फाउण्डेशनले प्रतियोगिताबारे जानकारी दिएको छ । मेरीलीबोन क्रिकेट क्लब (एमसीसी), रेड मड कफी र न्यूरो अस्पतालसँगको सहकार्यमा काठमाडौंबाहिर पहिलोपटक महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल क्रिकेट फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अनुसार चैत्र ४ गतेदेखि सुरु हुने प्रतियोगिता कुल ४ दिनसम्म चल्नेछ ।
प्रतियोगिताको पहिलो दिन एक दिवसीय खेलको आयोजना गरिएको आयोजक संस्थाका संस्थापक अभिषेक श्रेष्ठले बताए । प्रतियोगितामा विराटनगर क्रिकेट क्लबको तर्फबाट १६ जना र अल इण्डिया वुमेन टि–ट्वेन्टी क्रिकेट एशोसिएसनको तर्फबाट १५ जना महिला खेलाडी हुनेछन्।
प्रत्येक खेल बिहानको साढे ९ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा उत्कृष्ट ब्याटिङ र बलिङ गर्नेलाई पनि पुरस्कारको प्रबन्ध मिलाईएको छ । प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट किपरलाई समेत पुरस्कृत गर्ने तयारी रहेको आयोजकले जनाएको छ।