देउडा गीतमा मायाको हेराइ हुन्छ, प्रकृतिको वर्णन त्यही मायालु हेराइबाट निस्किएकाले गीतहरू वनमा काम गर्न जाँदा छताछुल्ल पोखिने गर्छन्। त्यसैले घर गीतभन्दा वन गीतमा रस हुन्छ, जसले मनलाई सिञ्चित गर्छ।
माटोबाट शक्तिबीजका रूपमा जन्मिएका हुन् देउडा गीत। माटोमा बीज वनस्पति उमार्न सक्ने शक्ति भएजस्तै देउडा गीतमा पनि नयाँ भाका, शब्द, प्रकृति वर्णन उमार्ने शक्ति हुन्छ। प्रकृति र मानवबीचको सम्बन्ध, प्रकृति–प्रकृति र मानव–मानवबीचको सम्बन्ध सुमधुर तवरले स्थापित गर्न सक्ने अमूर्त शक्ति भएकाले नै देउडा गीत पुस्तापुस्तासम्म कायम रहन सकेको मानिन्छ। देउडा गीतमा मायाको हेराइ हुन्छ, प्रकृतिको वर्णन त्यही मायालु हेराइबाट निस्किएकाले गीतहरू वनमा काम गर्न जाँदा छताछुल्ल पोखिने गर्छन्। त्यसैले घर गीतभन्दा वन गीतमा रस हुन्छ, जसले मनलाई सिञ्चित गर्छ।
मानौं धानको ब्याडमा पानीले सिञ्चित गरेजस्तै। वनमा गीत गाउँदा मन हलुका हुन्छ, पीर पोखिन्छ, शत्रु ठानिएका मानिस सबै मित्रवत् रूपमा रूपान्तरित हुन्छन्। देउडा गीतको विशेषता पनि यसैमा छ। काठमाडौं छेउछाउमा गाइने घाँसे गीतमा पनि प्रकृतिको राम्ररी वर्णन गरिएको सुनिन्छ। रोपाइँमा गाउँदा काँठ क्षेत्रका कलाकारहरू पनि रमाइरमाई गीतमा प्रस्तुत भएको देखिन्छ, सुनिन्छ। कता–कता देउडा गीत र घाँसेगीतका शब्दहरू मिल्दाजुल्दा पनि लाग्छन्। गाउने तरिका भने फरक देखिन्छ।
घाँसे गीतहरू अर्थात् काँठे गीतमा पुनर्आवृत्ति देखिँदैन। नदी झैं एकनासले बगिरहन्छन्। तर, देउडा गीत नदीमा घुमाउरो परे झैं स्वतः घुमिरहन्छन्। यसरी गाउँदा गायक, गायिकाले गलाको जादु देखाउँछन्, जुन शैलीले गायक, गायिका उत्कृष्ट पंक्तिमा गनिन्छन्। प्रकृति र गीत, प्रकृति र कलाकारको मोहकता बढेको पाइन्छ, अनि गीतको भाव बुझ्नेहरूले यसको महिमा बढाउँछन्।
हिउँ भौती मालिका पड्डो पाटन पुरिँदैन
साइ दूरै म पनि दूरै माया दूरिँदैन।
जमिनको अग्लो भू–भाग मालिका, जुन स्त्रीलिंग शब्द हो। जहाँ मालिका देवीको बासस्थान रहेको मानिन्छ। बाजुरा जिल्लामा पर्ने मालिका यसको उदाहरण हो। त्यो उच्च चुचुरोमा भाद्र शुक्ल पूर्णिमामा भव्य मेला लाग्दछ। कात्तिकदेखि हिँउ परेर आफ्नो मौलिक स्वरूप देखाउँछ। जतिसुकै हिँउ परे पनि त्यहाँका ठूलाठूला घाँसे मैदानहरू, पाटनहरू, हिँउले पुरिँदैनन्। यसो भने झैं साइ र मेराबीचको दूरी पनि मेटिँदैन।
पूर्वाञ्चलमा गाइने मौलिक गीतहरूमा शब्दको ओजश्वीता र मिठासपन नपाइने कहाँ हो र ? बुझ्न पनि सजिलो, गाउन अझ धेरै सजिलो लाग्छ। पूर्वाञ्चलको संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ पाँचथर, इलाम आदि पहाडी जिल्लामा अत्यधिक रूपमा रुचाइएको गीत ‘वारी जमुना, पारि जमुना, जमुनाको फेदैमा मनकामना’ सबैको जनजिब्रोमा झुन्डिएको छ।
स्व. खेमराज गुरुङले गाएको उक्त गीतले पूर्वाञ्चलको जनजीवन र मेला पर्वलाई सहज रूपमा उतारेर नेपाली मौलिकपनलाई चिनाएको देखिन्छ। सुदूरपश्चिमका बझाङ, बाजुरा, दार्चुला, बैतडी, अछामलगायत देशभरि नै लोकगीतप्रेमीहरूको मनमा बस्न सफल उक्त गीतले सरल अर्थ दिन्छ। पूर्वेलीपनलाई टिप्न गायकलाई गाह्रो पर्दैन।
यसैगरी चर्चित पुराना गायक शम्भु राईले गाएको धानै नाचौं न हो, धानै नाचौं न’ ले पूर्वाञ्चलको प्रकृति र संस्कृतिको अनुपम सम्बन्धलाई सरल तरिकाले व्याख्या गरेको छ, बुझ्न सजिलो छ, संस्कृतिमा पाइने कला छर्लंग्याएको छ। यस्ता प्रकृति र संस्कृतिसम्बन्धी व्याख्या गरिएका गीतहरू पूर्वाञ्चलमा मात्र नभएर कलाकारद्वारा देशभरिकै व्याख्या विश्लेषण गीतद्वारा गरिएको पाइन्छ।
क्षेत्रगत रूपमा गीतहरूको व्याख्या र देउडा गीतसँगको तुलना पनि लेखमार्फत विस्तारै गरिनेछ। तर, यहाँनेर देउडा गीतमा पाइने प्रकृति वर्णन अरू गीतमा भन्दा विशेष किन हुन्छ ? बुझ्न कठिन पनि किन भइरहेको छ ? स्रोताहरूलाई भन्ने विश्लेषण गर्नु पनि सान्दर्भिक ठहरिने छ। देउडा गीतमा शब्द संगठनको महŒव बढी हुने गर्छ। शब्दको मात्रा घटबढ हुनेबित्तिकै त्यहाँ देउडाको धर्म रहन्न। १५ अक्षरसहितको मात्रा बोकेका हुन्छन्, यी गीतमा। १४ अक्षर मिलेर पनि हुँदैन, गीतमा पद लालित्य पनि हुनै पर्छ। गीतमा मिठासपन भएन भने श्रवणीय हुँदैन, अर्थरहित गीतले मनको भारी बोक्नु हुँदैन भन्ने गीतका पारखीको मत छ।
क्या रुस्या घाम् लागी आयो सल्ली चुथाइ चुथा
मेरो माया राखिराख्यै हजारिका घुता।
हिउँद महिनाको घामको र प्रकृतिको वर्णन बेजोड तरिकाले यो गीतमा गरेको पाइन्छ। यसैगरी शरदकालीन सयपत्री फूलको तुलनामा गीतांगीले आफ्नो प्रियसीसँग गरेका छन्। सल्लेरी वनका रूखका टुप्पामा खसेको सूर्यको किरणको सौन्दर्य शब्दमा उतार्न कठिन छ भन्दै देउडा साहित्यका कवि सयपत्री फूललाई पनि औधी मन पराउछन्। अनि भन्छन्– हजारी घुता (सयपत्री थुंगा) ! मेरो माया तिमीसँगै लुकाएर राख्नु, म तिमीलाई रुचाउँछु। ल आफैं तुलना गर्नुहोस् पूर्वाञ्चलका प्रकृति वर्णनका गीत, काठेगीत र देउडा गीतमा गरिएको वर्णन कति फरक छ ? सङ्लो साहित्यको बगैंचा हो कि होइन देउडा गीत ?
झान्छौं कि चैतली जात तेल् हाल्याका वाल
यसी सम्राइ म क्या लागी सेती गंगी छाल।
सुदूरपश्चिमाञ्चलमा मनाइने धेरै जात्रामध्ये बझाङ जिल्लाको चैतली एक हो। कुनै बेला बझांगी राजालगायत वर्तमानमा सर्वसाधारणले इष्टदेव मस्टोलाई कुलदेवताका रूपमा मान्दै आएका छन्। राजा जयपृथ्वीबहादुर सिंहको ऐतिहासिक दरबार (हाल अवशेषमात्र) बाट नजिक रहेको बान्नीमाणुमा चैत महिनामा जिल्लाभरिकै ठूलो मेला लाग्ने गर्छ। कपालमा बास्नादार तेल हालेर के तिमी चैतली जात्रामा जाँदैछौं ? सेती नदी, वान्नीमाणु, साइपाल हिमाल, धान फल्ने खेतहरू, वर्षामा काँक्रा, फर्सी (भुजो) झुल्ने, हरियाली वनजंगल र सुन्दर वस्ती भएको मेरो जन्मभूमिको र साथीसंगीको सम्झना (सम्राई) यति किन लाग्छ मलाई ? गीतमा कवि र गीतकार आफैंलाई प्रश्न गर्छन्।
गीत केवल मनोरञ्जनका साधन मात्र होइनन्। गीत त इतिहास हुन्, वर्तमान अवस्था हुन् र भविष्यका पठनीय पुस्तकसमेत हुन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रत्येक गाउँबस्ती, दरा, कन्दरा, माटी र मन्दिरहरूमा देउडा गीतका अक्षर खोपिएका छन्।
प्रकृतिको वरदान मानिएका यी दुई प्रदेशको भूगोल अनौठो छ। भाषामा लाडिलोपन छ, मिजासिलो तवरले बोल्नु यहाँका मानिसको पृथक् विशेषता मानिन्छ। हाँसेर बोल्नु, पेटभरि खान नपाएर पनि संस्कृतिमा रमाउनु, गीतमा अपनत्व कायम राख्नु यहाँका संस्कृतिप्रेमीको मौलिक विशेषता हो। त्यही मौलिकपन देउडा गीतमा छर्लंगिन्छ। भाषा देवनागरिक भएर पनि खस भाषामा बढी साहित्यिक हुनु देउडा गीतको खास विशेषता हो।
जति काट्यो पलाई झाँदो मार्खुको वन्पन
मेराइ जति मान्दो रैछ साइतम्रो मन्पन।
हरियो वन नेपालको धन भन्ने नेपाली उक्ति हाम्रो देशमा जीवित छ। तराईका चारकोसे झाँडी फँडानी गरी बस्ती बसाले पनि पहाडी भू–खण्डहरूमा सदाबहार वनजंगलले मानवलगायत सबै प्राणीलाई बचाएको छ। हिमाली चुचुरामा हिउँ प्रशस्त देख्न नपाए पनि घनाजंगलबाट निस्कने खोला र पवित्र जलाधारहरू देखेर हामी आफूलाई भाग्यमानी सम्झन्छौं। यही कुरा देउडा गीतले बताउन खोजेको छ।
अछाम जिल्लामा पर्ने मार्खु वनको विशेषता जोडिएको छ गीतमा। जतिसुकै वन विनाश गर्न खोजे पनि नेपालका घनाजंगलहरू बारम्बर पलाउँदै रहन्छन्। कुवेरको धनको भण्डार नरित्तिए झैं नेपालको हरियाली भण्डार कहिल्यै नास हुँदैन भन्ने अर्थबोध गराउँछ माथिको गीतले। गीतमा साई, बाज, रुपस्या, कली, लाइपिमा आदि मायालु शब्द आलंकारिक रूपमा जोडिएकाले गीत अझ सुगन्धित बनेको छ। यहाँ पनि साइशब्द प्रयोग गरी मेरी कलीको मन पनि मेरा जति नै गहिरो र भरपर्दो रहेछ भनी अथ्र्याइएको पाइन्छ।
छन्नालका भैंसी चर्दा खप्तडी पाटन
हातकी रुमाल दिउला सम्रणी साटन।
खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सम्पत्ति हो। बझाङ, बाजुरा, डोटी र अछामको सिरानीमा पर्छ रमरणीय खप्तड। सबै जिल्लाका भैंसी चर्ने वन पनि हो यो। खप्तडका धेरै विशेषता छन्। अहिले यतिमात्र लेखुँ, खप्तड सच्चिदानन्द सरस्वती स्वामीले तपस्या गरेको पुण्यभूमि हो। खप्तड बाबाका नामले कुनै बेला उहाँ सुपरिचित हुनुहुन्थ्यो।
त्रिवेणी धाम रहेको यो निकुञ्जमा भव्यरूपमा दशहरा मेला लाग्छ। प्रकृतिको भू–स्वर्ग मानिने खप्तडमा बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकाअन्तर्गत दारुगाउँका बासिन्दा भैंसीहरू वर्षभरि चराउने गर्छन्। छान्ना क्षेत्र बझाङको अन्नको भण्डार पनि हो। छान्नामा पनि खप्तडका जस्तै धेरै विशेषता छन्। सुन्दरताको साइनो जोडिएको मानिन्छ छान्ना क्षेत्र।
चार जिल्लाको धुरी खप्तड राष्ट्रिय निकुञ्जका बीच। यस्तो स्वर्गतुल्य भूमि सुदूरपश्चिमलाई छोडेर परदेशी हुँदाको पीडालाई देउडा कविले बिर्सन सक्दैनन्। मनका पीडा गीतमा उतार्दै परदेश जाँदा प्रिय सखीलाई सान्त्वता बाँड्छन् र भन्छन् सम्झना (सम्रणी) का रूपमा हातको रुमाल दिएर जान्छु, खप्तडको प्रकृति झैं सम्झिरहनु।
यी र यस्तै अनगिन्ती भाव बिनासर्त, बिनामूल्य र बिनासम्झौतामा धक नमानी पोखिदिन्छन् देउडा गीतका सर्जक। यदि देउडा संस्कृति समाजमा नफैलिने हो भने नुन नहालेको परिकार बन्ने छ, काली कर्णालीको लोक संस्कृति र परम्परा। गीतमा प्रकृतिको वर्णन, प्रचूर मात्रामा गरिने हुँदा देउडा गीतलाई कुनै बेला वन गीत पनि भनिन्थ्यो।