साहसिक क्रसमाण्डु बाइक रेसिङ, विजेताले जिते १ लाख ५० हजार
नासाका अध्यक्ष दशरथ रिसालले नासाको वार्षिक क्यालेण्डर भित्र रहेको डटबाइक रेसिङ प्रतियोगिताले नेपाली युवाहरु साहसिक खेलमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने पुष्टी धुलिखेलमा भएको खेल मार्फत भएको बताए। यो खेल डटबाइक रेसिङ महङ्गो र जोखिम भएको बताए।
काभ्रे : जिल्लाको धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको साहसिक तथा पर्यटकीय खेल डटबाइक रेसिङ क्रसमाण्डु च्याम्पियनसिप खेल सम्पन्न भएको छ। चैत्र २ र ३ गते छनौट भएका खेलाडीहरुको अन्तिम प्रतिस्पर्धा चैत्र ४ गते शनिबार धुलिखेलमा फाइनल खेल सम्पन्न भएको हो।
नेपालकै हालसम्मको सबैभन्दा ठूलो बाइक रेसिङ प्रतियोगिता धुलिखेलमा आयोजना गरिएको डट टेम्पल प्रालिका अध्यक्ष इजव बरुणले जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्डको ट्रयाक मोटो क्रस तयार गरी यो प्रतियोगिता आयोजना गरिएको खेल नासाको समन्वयमा देशका विभिन्न स्थानबाट १७ जना प्रतिस्पर्धीहरु सहभागी भएका बरुणले बताए।
१७ जनामध्ये १२ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए। तीन समुहमा विभाजन गरिएका मध्ये भिम होना, राजकुमार कार्की, रिजोन खड्गी, रोनिश कार्की पहिलो समुहका हुन्। दोश्रो समुहमा आशुतोष धुँजु, दिपेश क्षेत्री, रामविक्रम थापा र मनिष गुरुङ दोश्रो समुहमा थिए। एलिस बस्नेत, श्रेयस पौड्याल, संगम श्रेष्ठ र प्रशान्त जंग कार्की तेश्रो समुहमा थिए।
प्रतिस्पर्धामा सहभागी पहिलो समुहका भिम होना र राजकुमार कार्की क्रमशः दोश्रो र तेश्रो भए। दोश्रो समुहका दिपेश क्षेत्री प्रथम भए। आयोजक डट डेम्पल प्रालीका तर्फबाट प्रथम हुने क्षेत्रीलाई नगद १ लाख १० हजार, दोश्रो हुने भिम होनालाई ७५ हजार र तेश्रो हुने राजकुमार कार्कीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ।
धुलिखेल नगरपालिका प्रमुख मेयर अशोक ब्याञ्जुले नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा चिनाउन धुलिखेलमा आयोजना गरिएको साहसिक खेलको प्रर्वद्धन तथा विकासका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताए। यो खेल मार्फत युवाहरुले अन्तराष्ट्रिय रुपमा नेपालको पहिचान बनाउने सक्ने मेयर ब्याञ्जुले बताए।
नासाका अध्यक्ष दशरथ रिसालले नासाको वार्षिक क्यालेण्डर भित्र रहेको डटबाइक रेसिङ प्रतियोगिताले नेपाली युवाहरु साहसिक खेलमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने पुष्टी धुलिखेलमा भएको खेल मार्फत भएको बताए। यो खेल डटबाइक रेसिङ महङ्गो र जोखिम भएको बताए।
८३० मिटरको लम्बाइ रहेको मोटो क्रस खुल्ला माटोमा २० ल्याब्स घुमाएर युवाहरुले साहसिक प्रतियोगितामा सहभागी जनाउँदा सर्वसाधारणले हुटिङ गरेका थिए। नासाको रेसिङ लाइसेन्स प्राप्त ब्यक्तिहरु मात्रै उक्त प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। दुई पाग्रेंबाइकसँगको खेललाई मनोरञ्जनका रुपमा लिंदै अन्तराष्ट्रिय स्तरमा पुर्याउन साहसिक खेलमा सहभागी युवाहरुलाई अवसर र ब्यवसायिकताका लागि सरकारले सहयोग गर्नु पर्ने नासाका सचिव निरोज खड्काले बताए।
धुलिखेलमा रहेको निजी क्षेत्रका व्यक्तिहरुको ३८ रोपनी जमिन १० वर्षका लागि भाडामा लिंदै विभिन्न प्रतियोगिता आयोजना गरिंदै आएको खड्काले जानकारी दिए। क्रसमाण्डु अफरोडमा आयोजना गरिन्छ भने रेसमाण्डु पिचमा हुनेछ। विदेशमा सिकेको सिप र अध्ययनलाई नेपाल तथा आफ्नै जन्मस्थानमा केही गर्ने उद्देश्यले आयोजक डट टेम्पल प्रालीका अध्यक्ष इजव बरुणले आगामी दिनमा फरक फरक खालका प्रतियोगिता आयोजना गरिने जानकारी दिए।