चार वर्षदेखि चीन सरकारले नाकाबन्दी गर्दा उत्तरी गोरखाबासी सकसमा
मिङ्ग्युरलाई मात्र होइन, चार वर्षदेखि नाकाबन्द हुँदा अत्यावश्यकीय सामान ल्याउन नपाउँदा उत्तरी गोरखाबासीमा दु:खको सीमा छैन। हिमाली हावा पानी भएकाले उत्तरी गोरखाका गाउँबस्तीमा अन्नबाली राम्रोसँग उत्पादन हुँदैन। आवश्यक पर्ने अधिकांश खाद्यसामग्री तिब्बतबाटै आउँछ।
गोरखा : चुमनुब्री गाउँपालिका ७ निलेका मिङ्ग्युर दोर्जे लामा र तिब्बतको केरुङ निवासी उनकी हजुरआमाको चार वर्षअघिसम्म नियमित भेट हुन्थ्यो। नाका बाह्रै महिना खुल्ला थियो। उताकाहरु यता आउन नपाए पनि मिङ्ग्युरहरु काम परेका बेला जुनसुकै बेला उता गएर ८२ वर्षकी हजुरआमासँग भेट्न पाउँथे।
कोभिडको बहानामा चिनियाँ सरकारले चार वर्षअघि एकातर्फी रुपमा नाकाबन्दी गर्यो। दुईतर्फी आवतजावत ठप्पै भयो। सामान ओसारपोसारसमेत बन्द भयो। ‘हजुरआमाको दुई वर्षअघि मृत्यु भयो। मर्ने बेलामा भेट्न जान पनि पाइएन। दु:खमा परेका परिवारसँग भेटघाट गर्न पनि पाइएन’, मिङ्ग्यूरले दु:ख व्यक्त गरे।
‘हाम्रो बारीबाट आउने गौं, जौले दुई महिनालाई पनि पुग्दैन। अरु दिन हामीले खाने खाद्यान्न माथिकै हो’, चुमनुब्री १ साम्दोका छिरिङ धारक्याल लामा भन्छन्, ‘पिठो, घ्यूचिया तल पाउँदैन। माथिबाटै ल्याउने हो। तर नाका बन्दले गर्दा तिब्बतको पिठो, घ्यूचिया काठमाडौं ल्याएर काठमाडौंबाट फेरि हाम्रोमा पुर्याउँदा मूल्य आकाश, जमिनको फरक पर्छ।’
उनका अनुसार साम्दो गाउँबाट रुईला जम्मा १६ किलोमिटर टाढा पर्छ। चार घण्टाको पैदलयात्रामा गाउँबाट सीमाना पुगिन्छ। स्तरीय सडक भएकाले यसअघि तिब्बती व्यापारीले रुईलासम्मै सामान ल्याउने गर्थे। ‘सीमानाबाट गाउँसम्म त आफ्नै याक, चौरीलाई बोकाएर ल्याउने हो। ढुवानी भाडा नै लाग्दैन’, छिरिङ भन्छन्, ‘तलबाट ल्याउँदा प्रतिकिलो एकसय नौ रुपैया त ढुवानी भाडा मात्र तिर्नुपर्छ। सामानको मूल्य त कहाँ हो कहाँ।’
नियमित भेटघाट हुने तिब्बती गाउँका आफन्तसित भेटघाट नभएको चार वर्ष भइसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘हाम्रा गाउँका सबैको रुई गाउँमा आफन्तहरु छन्। पहिले त वर्षमा एकदुईफेर नाका खुल्थ्यो। आफन्तहरु भेटघाट हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले नभेटेको पनि चार वर्ष भइसक्यो। न्यास्रो लागिरहेको छ। कहिले नाका खुल्ला र आफन्त भेटौँला जस्तो भइरहेको छ।’
साम्दो र निलेको मात्र यो समस्या होइन, मोटरबाटो नभएको चुमनुब्री गाउँपालिकाका दर्जनौँ गाउँबस्तीमा माछाखोलादेखि खच्चडमा बोकाएर सामान ढुवानी गर्नुपर्छ। ‘माछाखोलाको सामान खच्चडलाई बोकाएर निलेसम्म पुर्याएको ढुवानीभाडा मात्र प्रतिकिलो ७० रुपैयाँ तिर्नुपर्छ। माथिबाट ल्याउँदा आफ्नै याकचौँरीलाई बोकाएर ल्याउने हो। भाडा लाग्दैनथ्यो’, मिङ्ग्यूर दोर्जे लामा भन्छन्, ‘हाम्रो अहिंसा क्षेत्रमा याक, चौरी बेच्न पनि पाइँदैन। नाका नखुलेर भारी बोकाउन पनि पाएको छैन। त्यस्सै खुवाएर पालेर राखिरहनु परेको छ। जताततै घाटैघाटा छ।’
आयात मात्र होइन, नाका नखुल्दा यता संकलन भएका जडिबुटीहरु निर्यात गर्न नपाउँदा कौडीको भाउमा यतै बेच्नु परेको स्थानीयबासीको चिन्ता छ। यता उत्पादन हुने यार्सागुम्बा, कुड्की, बनलसुनलगायतका जडिबुटी चित्त बुझ्दो भाउमा तिब्बतका व्यवसायीलाई बेच्ने गर्थे तर अहिले गाउँकै व्यवसायीलाई पहिलेको भन्दा मूल्य घटाएर बेच्नु परेको उनको भनाइ छ।
तिब्बतको सीमाना क्षेत्रमा रहेको नेपालको अन्तिम गाउँ चुमनुब्री १ साम्दो।
चार वर्षदेखि बन्द रहेको तिब्बती नाका खुलाउन प्रधानमन्त्री, मन्त्री, सांसद सबैलाई गुहार गर्दा पनि केही उपाय नलागेको गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाइ छ। ‘एक पटक पनि होइन, पटक-पटक, सांसद, मन्त्री, प्रधानमन्त्रीसम्मलाई अनुरोध गर्दा पनि हाम्रो नाका खुलाउन सकिएन’, अध्यक्ष लामा भन्छन्, ‘नाका नखुल्दा हाम्रो जनजीवन धेरै नै समस्याग्रस्त भयो भनेर डेलिगेशन गएर पनि भनेका छौँ, ज्ञापनपत्र पनि पटक पटक दिएका छौँ। पहल गर्न बाँकी केही पनि छैन, तैपनि नाका खुलाउन सकिएन।’ पहल भने अझै पनि गरिरहने उनको भनाइ छ।
गोरखा र तिब्बतको रुई–लास्थित सीमानाका।