दान महिमाको शास्त्रीय सार
दान नगर्नाले दरिद्र हुन्छ, दरिद्रताको कारण पापकर्ममा रुमलिन्छ, पापकर्मका प्रभावले नरकमा पर्छ। यसरी नरक भोग्न पुगेको जीव फेरि जन्म—मरणचक्रमा परेर घुमिरहन्छ।
संस्कृत भाषाअनुसार दातव्यम् यद् (वस्तुविशेष) तत् दानंम् भनिन्छ। दिन योग्य वस्तुविशेष दिने काम भन्ने अर्थ लाग्ने दान शब्दको तात्पर्य आफ्नो हकमा रहेको धनमाल अर्काको हातमा गरिदिने काम भन्ने हुन्छ। कुनै वस्तुको अधिकारको हस्तान्तरण गर्ने, दिने वा प्रदान गर्ने काम नै दानको अर्थ हो। धार्मिक भावनाले गरिब—गुरुवालाई वस्त्र, द्रव्य आदि दिने कामका साथै तिल, जौ, कुश र जलसहित प्रतिज्ञा संकल्पपूर्वक ब्राह्मणलाई द्रव्य, वस्त्र, अन्न आदि दिने कामलाई पनि दान भनिन्छ।
हामी सबैको खोज सुख, शान्ति र आनन्दको प्राप्ति हो। ती तीनवटै कुराको प्राप्तिका लागि दान दिइन्छ। सृष्टिचक्रमा मानव चोलालाई सर्वोत्तम मानिएको छ। सनातन वैदिक धर्मले पुनर्जन्म मान्दछ। ठूलै सुकर्मको सञ्चयले मानव जुनी प्राप्त हुन्छ। वेद संसारकै सबैभन्दा पुरानो र प्रामाणिक ज्ञाननिधि हो। वेदले धर्मकर्मको व्यवस्था गरी मानवले तिनको परिपालना गर्नुपर्ने निर्देशन गरेको छ। प्राणीको उत्पत्ति र विनाश पनि कर्मबाटै हुने कुरा हाम्रा शास्त्रले उद्घोष गरेका छन्। श्रीमद्भगवद् गीताले जन्मेपछि प्राणीको मृत्यु र मृत्युपछि पुनर्जन्म हुन्छ भनेको छ। मानवचोला अनित्य भएकोले मानिस जन्मेपछि मर्छ, यो प्राकृतिक सत्य हो।
हाम्रो वैदिक धर्मसम्बन्धी सम्पूर्ण कर्मकाण्डपद्धतिभित्र संस्कारपद्धति र पूजापद्धतिको विधान छ। यी दुवै पद्धति कर्मकाण्डपद्धति अन्तर्गतका विषयवस्तु हुन्। कर्म एक प्रकारको क्रियासूचक शब्द हो भने कर्मकाण्ड वेदले विधान गरेको कर्मसमूहको नाम हो। संस्कार पद्धति गर्भाधानदेखि मृत्युसम्म १६ प्रकारका छन्। हाम्रो वैदिक कर्मकाण्डअनुसार मान्छे मरेपछि अन्तिम संस्कार गरिन्छ जसलाई अन्त्यसंस्कार भनिन्छ। दस दानदेखि वार्षिक श्राद्धसम्म गरिने संस्कार अन्त्यसंस्कारभित्र पर्दछन्।
शास्त्र भन्छन् : धर्म, अर्थ, काम र मोक्ष मानिसका चार पुरुषार्थ हुन्। जीवन सुखदुःखको भाँडो हो। पतिपत्नी, जहान छोराछोरी, पद प्रतिष्ठा, धनसम्पत्तिको मोहबाट छुटकारा वा मुक्ति नै मोक्ष हो। धर्मशास्त्रले जीवनको मूल लक्ष्य जीवनमरणबाट मुक्ति बताएका छन्। कर्म नगरी मुक्ति हुँदैन। शारीरिक र मानसिक शुद्धिबिनाको कर्म निरर्थक हुन्छ। सार्थक कर्मका लागि इन्द्रिय, मन, चित्त आदिको शुद्धि आवश्यक हुन्छ। इन्द्रिय पनि ज्ञानेन्द्रिय र कर्मेन्द्रिय छन्। शुद्धि नभई मुक्ति असम्भव छ। मन्त्रदान, विद्यादान, अन्नदान, वस्त्रदान, भूमिदान शय्यादान, जीवनदान, वाग्दान, कन्यादान पददान, अष्टदान, दस दान आदि दानका किसिम हुन्।
तृष्णा नमेटिइकन भगवद्भक्ति हुन्न। दानको तात्पर्य त्याग हो। त्यस्तो त्याग दानबाट मात्र हुन्छ, दानमा स्वत्व (निजत्व)को त्याग हुने भएकोले शास्त्रले दानको महिमागान गरेका छन्। सत्ययृगमा तपस्याबाट, त्रेतायुगमा यज्ञयागादिबाट, द्वापरयृगमा भगवान्का श्रीविग्रहको पूजा आराधनाबाट र कलियुगमा भगवन्नाम संकीर्तन गर्नाले पाप (विभिन्न दोष) बाट मुक्ति हुने उद्घोष सबै शास्त्रको छ। प्रत्येक मानिसको चाहना मुक्ति हो। कलियुगमा भगवन्नाम संकीर्तन मात्र यमराज र वैतरणी नदीको दुःखद् यातनाबाट मुक्ति हुन्छ भन्ने शास्त्रीय सार बुझिन्छ।
दानका विभिन्न नाममध्येको एउटा मुख्यदान दशदान हो। विभिन्न ज्ञात अज्ञात पापबाट मुक्ति पाउने हेतुले मरणासन्न अवस्थामा पुगेपछि वा केही सारसौँदो छँदैमा दशदान गर्नुपर्छ। गाई, भूमि, तिल, सुन, घिउ, वस्र, धान, गुड, चाँदी र नुन समेतका दस वस्तु दान दिने कामलाई दसदान भनिन्छ। मरणासन्न व्यक्तिका छोराछोरी वा आफन्तले कुनै तीर्थमा लगेर वा घरैमा प्रायश्चित्तसहित दशदान गराउने निर्देशन छ। शक्ति भएमा रोगी आफैंले पनि दशदानादी गर्न सकिन्छ। प्रायश्चित्तको अर्थ जीवनमा गरिएका नानाविध पापबाट मुक्तिका लागि देहावसान कालमा देहशुद्धिद्वारा परमेश्वरलाई प्रसन्न गर्ने प्रयास हो। मृत्युपछि हुने विभिन्न यातनाबाट मुक्तिको उद्देश्यले दशदान गरिन्छ। यो दान जीवित अवस्थामा गरिने दान हो।
जन्मदेखि मृत्युपर्यन्त उपार्जित सम्पूर्ण पापको नाशर्पूवक शरीर शुद्धिको उद्देश्यले गरिने अर्को महŒवपूर्ण दान अष्टदान हो। अष्टदानमा गाई, भूमि, तिल, फलाम, कपास, सुन, नुन र सप्तधान्यसमेत आठवटा सामग्री दान गरिन्छ जसले महापातक नाश हुन्छन्। आतुरकाल र गहणकालमा दिइएका दानको विशेष महŒव भएकोले आतुरकालमा अष्टदान गर्नुपर्ने विधान छ। भूमिदान गर्न नसक्ने व्यक्तिका लागि गाईदान गर्ने विधान छ। गाईदान पनि पाँच प्रकारको हुन्छ जसलाई पञ्चधेनुदान भनिन्छ। यसभित्र पापापनोद अर्थात् अन्तधेनु, रुद्रधेनु, ऋणधेनु, मोक्षधेनु र वैतरणीधेनु पर्छन्। अन्त्य
समयको अन्दाज गरी मरण समयमा पञ्चधेनुदान गरिन्छ। मन, वाणी र शरीरले आजन्म हुन गएका वा गरिएका पापको दोषबाट छुटकाराका लागि गाईको दान गरिन्छ।
तीर्थमा, ब्राह्मणका निवासमा, ग्रहणकालमा, संक्रान्ति, अमावास्या, उत्तरायण—दक्षिणायन, विषुव (मेष र तुला संक्रान्ति) व्यतिपातयोग, युगादि तिथि (क्रमशः वैशाखशुक्ल तृतीया, कार्तिकशुक्ल नवमी, भाद्रकृष्ण त्रयोदशी, माघकृष्ण अमावस्या) र अन्य पुण्यकालमा पनि गाईदान गर्नुपर्छ। दानमा दिइएका गाईले आधिभौतिक, आधिदैविक र आध्यात्मिक त्रिविध ताप तथा कायिक, वाचिक र मानसिक पापबाट मुक्ति हुन्छ भनिएको छ। दान नगर्नाले दरिद्र हुन्छ, दरिद्रताको कारण पापकर्ममा रुमलिन्छ, पापकर्मका प्रभावले नरकमा पर्छ। यसरी नरक भोग्न पुगेको जीव फेरि जन्म—मरणचक्रमा परेर घुमिरहन्छ। त्यसैले अन्तकालमा कृष्णप्रिय गाईको दान गर्नुपर्छ। एकादशी व्रत, गीता, गंगाजल, तुलसीदल, विष्णुको चरणामृत र भगवन्नाम संकीर्तनले मरणकालमा मुक्ति मिल्छ भनिएको छ। सत्पात्रमा दिएको गाईदान लक्ष्यगुना फलदाता हुन्छ। अपात्र (अयोग्य व्यक्ति)लाई दिएको गाईदानले नरक लान्छ। दान दिंदा दाता, दिइने वस्तु र लिने पात्रको शुद्धि हुनुपर्ने पनि शास्त्रको आशय हो।
सम्पत्ति अस्थिर र शरीर नश्वर भएकोले श्रद्धा उत्पन्न भएको बेला र सत्पात्र पाइएको बेला दान दिने पुण्यकाल हो भन्ने बझेर दान दिनु, मृत्यु प्रतिदिन नजिक आइरहने भएकोले नपर्खनु। आफ्नो सम्पत्तिअनुसार दिएको र आफ्ना हातले दिएको दान अनन्त फलदायी हुन्छ। मानवले धर्माचरण गर्नुपर्छ जसले परमगति प्राप्त हुन्छ। धर्मसेवनले मानवजीवन सफल हुन्छ। जीवित अवस्थामा आफैं आफ्नो मित्र भएकोले आफ्नै हातबाट दान गर्नुपर्छ, मरेपछि अरुले दान गरिदिँदैनन्।
मान्छे मरेपछि उसले गरेका शुभ र अशुभ कर्म जीवका साथै जान्छन्। पुण्य र पापकर्म नभोगी धर छैन। आफ्ना अधीनमा धन भएको बेला आफ्नै हातले दान गर्नु आवश्यक छ। धर्म गरेकै कारण अर्थ, काम र मोक्षको प्राप्ति हुन्छ। धर्म श्रद्धाले गरिन्छ न कि ठूलो धनराशिले। भक्तिले दिएको दान भगवान्ले पनि ग्रहण गर्नुहुन्छ। अतः विधिपूर्वक दान दिनुपर्छ।