एसईईमा उच्च अंक !
एसईई प्रत्यक्ष हेर्दा विद्यार्थीका लागि जस्तो लाग्छ। परोक्षरूपमा भने राज्यले विद्यालय शिक्षाको नीति–नियम कार्यक्रम जाँच्ने कसी पनि हो।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ अर्को साताबाट सञ्चालन हुँंदैछ। जसमा नियमित, ग्रेडवृद्धि तथा प्राविधिक धारका परीक्षार्थी सम्मिलित हुनेछन्। परीक्षामा पाँच लाख बढी परीक्षार्थी सहभागी हुनेछन्। १९९० सालदेखि एसएलसीका रूपमा राष्ट्रियस्तरमा लिइँदै आएको विद्यालय तहको एकमात्र परीक्षाको नतिजा विगतदेखि उत्साहप्रद देखिँदैन। १९९८ सालमा सबैभन्दा बढी ७७.७८ र २०३८ सालमा सबैभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ।
शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए तापनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो। यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त ? उपलब्धि स्तर सतप्रतिशत पुर्याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न बिलम्ब भइसकेको छ। तथापि आगामी परीक्षामा परीक्षार्थीको नतिजा उच्च प्रतिफलमुखी बनाउन निम्न सूत्र कामयावी हुनेछन्। :
- परीक्षा तयारीको समयमा स्वास्थ्यबारे विशेष चनाखो हुनुपर्छ। स्वस्थकर आहारविहार र सहज परिश्रमको नियमितताप्रति विशेष चनाखो रहनुपर्छ।
- एसईईलाई हाउगुजीका रूपमा नलिई सहजरूपमा आत्मसात गरेर सकारात्मक सोच र उच्च मनोबलका साथ परीक्षा दिने मनस्थिति बनाउनुपर्छ।
- मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुने गरी अनिँदो बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ। शारीरिक तथा मानसिक थकानको हेक्का राख्नुपर्छ।
- अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्छ। किनभने विगतमा कहिलेकाहीँ पाठ्यपुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिने गरिएका वास्तविकतालाई बिर्सनु हुन्न।
- कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिँंदै अध्ययनको दैनिक समय तालिका नै बनाएर सबै विषयलाई समानुपातिक रूपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ।
- सहपाठीहरूको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानीले बहुआयमिक तथा दिगो स्मरणमा रहने वास्तविकता हो।
- विगत वर्षहरूका प्रश्नहरूको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तरबारे आवश्यक सल्लाह लिन उपर्युक्त हुन्छ।
- परीक्षा दिन जाँदा राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोवलका साथ हतोत्साहित नभई परीक्षा हलमा प्रवेश गर्नुपर्छ।
- विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नुपर्छ।
- परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारे अवलोकन पहिलै नै गर्दा सहजता हुन्छ।
- प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशनहरू परीक्षा सुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ।
- उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्नबाट क्रमश लेख्न सुरु गर्नुपर्छ।
- प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मौलिकता झल्किने गरी बँुदागत रूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्छ।
- सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरूलाई पुनः सर्सर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ।
एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ। छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाइ सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिनुपर्छ। विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठन–पाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाइदिनु पर्छ। एसईईको नतिजाको आधारमा विद्यालयको स्तर कायम हुने भएकाले हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो। तसर्थ विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्नुपर्छ।
यसरी तिनीहरूको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्छ। विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको यकिन गर्ने परीक्षा पनि हो एसईई। प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पर्छ। अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्नुपर्छ।