चिनियाँ कम्पनीले मर्स्याङ्दी नदीभित्रै एक्साभेटर लगाएर अवैध उत्खनन गर्दै

चिनियाँ कम्पनीले मर्स्याङ्दी नदीभित्रै एक्साभेटर लगाएर अवैध उत्खनन गर्दै
चिनियाँ कम्पनी सीसीसीसीद्वारा अवैध रुपमा मर्स्याङ्दी दोहन भइरहेको शाहघाट। तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्शन कम्पनी (सीसीसीसी)ले मर्स्याङ्दीको मूल प्रवाहमै एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन गरेको छ। 

मुग्लिन पोखरा सडक स्तरोन्नतिको काम गरेको सो कम्पनीले नदीको प्राकृतिक संरचनामा नकारात्मक असर पर्ने गरी एक्साभेटर प्रयोग गरी मूल प्रवाहबाट उत्खनन गरेको हो। 

सीसीसीसीकै देखासिकी गर्दै अरू निजी कम्पनीहरूले पनि नदीको मूल प्रवाहबाट अवैध रुपमा उत्खनन गरिरहेका छन्।

कम्पनीले तनहूँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकघाटबाट ३९ हजार ४५७ घनफिट, रोधीखोलाबाट सातलाख छ हजार दुईसय र बरादीघाटबाट पाँचलाख ३६ हजार तीनसय ५८ घनफिट तथा वडा नं. १ को सत्रसय फाँटबाट तीन लाख ५७ हजार चारसय ५० घनफिट नदीजन्य सामग्री नदीको मूल प्रवाहबाट एक्साभेटर प्रयोग गरी धमाधम उत्खनन् गरिरहेको छ। 

त्यस्तै गोरखाको पालुङ्टार नगरपालिकाको अवण्डा घाटबाट १८ सय तीन घनमिटर, मझुवा घाटबाट नौ सय ८२ घनमिटर, खोलाघाटबाट तीन हजार पाँच सय दुई घनमिटर, चनौटेघाटबाट एक हजार पाँच सय ७० घनमिटर नदीजन्य पदार्थ नदीको मूल प्रवाहबाट धमाधम उत्खनन गरिरहेको छ।

सोही कम्पनीले गोरखा नगरपालिका-१४ शाहघाटबाट एक लाख ४३ हजार ४६ घनफिट र भैसेटार घाटबाट ८६ हजार पाँच सय ९४ घनफिट ढुंगा, गिटी, बालुवा धमाधम एक्साभेटर प्रयोग गरी उत्खनन गरिरहेको छ। 

पालुङ्टार र आँबुखैरेनीका घाटहरू सिधै सीसीसीसी कम्पनीले दोहन गरेको छ भने गोरखा नगरपालिकाका विभिन्न घाटबाट निजी कम्पनीले उत्खनन गरी ढुंगा, गिटी, बालुवा सीसीसीसी कम्पनीलाई उपलब्ध गराएका छन्। 

भानु नगरपालिकाको बेनिबगर घाटबाट चारहजार दुईसय ५६ घनमिटर र बलिफाँट घाटबाट दुई हजार तीनसय १२ घनमिटरका लागि अनुमति लिई धमाधम एक्साभेटर प्रयोग गरी उत्खनन भइरहेको छ।

बन्दीपुर गाउँपालिकासँग पनि कम्पनीले उत्खननका लागि माग गरिरहेको छ तर आईईई प्रतिवेदन बनिनसकेकाले उत्खनन कार्य अघि बढ्न नसकेको गाउँपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले जानकारी दिए।

उत्खनन भएका सबै ठाउँमा चेनवाला एक्साभेटर प्रयोग भएका छन्। ‘कम्पनीका मान्छेहरू एडीबीले तयार गरेको र सडक विभागले स्वीकृत गरेको आईईई लिएर आउनुभयो। त्यही अनुसार उत्खनन गर्न पाउनुपर्छ भन्नुभयो’, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले भने, ‘त्यसमा पनि एक्साभेटर प्रयोग गर्न पाउने उल्लेख थियो।’ 
राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा आईईईमा नै मेसिन लगाएर उत्खनन गर्न पाउने व्यवस्था हुन्छ भनेर सबैले भनेपछि मेसिन प्रयोग गर्न दिइएको उनले बताए।

पालुङटार नगरपालिकाले भने मेसिन प्रयोग गरेर उत्खनन गर्न इन्कार गरेको थियो। तर अनुमति दिनका लागि धेरै तिरबाट लिखित तथा मौखिक आग्रह गरेपछि दिइएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए। 

‘एडीबीले बनाएर सडक विभागले स्वीकृत गरेको आईईई लिएर आउनुभयो। हामीले फेरि जिल्ला अनुगमन समिति, जिल्ला समन्वय समितिले दिन आग्रह गर्छ भने हामी दिन्छौँ भन्यौँ’, भण्डारीले भने, ‘जिल्ला समन्वय समितिबाट पनि अनुमति दिनका लागि आग्रह गरेर पत्र ल्याउनु भयो। हामीले माग गरेअनुसारको पत्र लिएर आएपछि दुई महिना ढिला गरी हामीले अनुमति दिएका हौँ।’ 

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले भने कानुन विपरीत उत्खनन भएको भए अनुगमन गरेर कारबाही गरिने बताए। 

‘प्राविधिक र जनप्रतिनिधि अनुगमनका लागि जानुहुन्छ। पठाउँछौँ, हामीपनि अनुगमन गर्छौँ’, उनले भने, ‘कानुन बिपरीत पाईएमा कारबाही गर्छौँ’ उनले भने। (आईई) रिपोर्ट भन्दा बाहिर गएर काम गर्न छुट नभएको उनले बताए। 

आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दूरीमा रहेको कुडुले घाटमा अवैध उत्खनन भएको छ। 

१७ हजार चार सय ९४ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने गरी जिम्मा लिएको अभियान कन्ट्रक्शनले मर्स्याङ्दी नदीभित्रै एक्साभेटर प्रयोग गरेर उत्खनन् गरिरहेको हो।

गत पुसको आठगते उत्खननका लागि गाउँपालिकासँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए। 

सो कम्पनीले चाइना कम्पनीले झैँ एक्साभेटर प्रयोग गरेर उत्खनन गर्न पाउनु पर्ने भन्दै बारम्बार जिद्दी गरेपछि उसलाई पनि एक महिनाका लागि पालिकाले नदीभित्र मेसिन लगाउन अनुमति दिएको थियो। 

‘चितवनको एक निर्माण आयोजनालाई सप्लाई गर्ने भनेर पत्र ल्यायो। त्यसैले पुस आठगतेदेखि एक महिनासम्म मेसिन लगाएर उत्खनन गर्ने भनेर पालिकाले अनुमति दियो’, प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘तर म्याद नाघेपछि पनि रातदिन मेसिन लगाएर उत्खनन गरिरहेको भन्ने उजुरी आयो। जिससबाट पनि अनुगमन गरेपछि दुई दिन रोकिएको थियो। तर सधैं अनेक ढिपी, जिद्दी गरेपछि दुई दिनका लागि मेसिन लगाउन अनुमति दिएका हौँ।’ 

तर अभियान कन्स्ट्रक्शनले अनुमति पाएको माघ १७ गतेपछि पनि निरन्तर नदीभित्रै एक्साभेटर लगाएर दोहन गरिरहेको छ। पालिका भने थाहा पाए पनि नपाए झैँ गरिरहेको छ।

मर्स्याङ्दी नदीको बाँधका कारण उत्खनन भएको तटीय क्षेत्रमा पानीको बहाव कम छ। पानी बग्ने बीच भागबाट निर्माण कम्पनीले सम्झौता बिपरित उत्खनन गरिरहेको हो। ४३ लाख रुपैयाँमा ठेक्का लागेको कुडुले घाटमा अहिले सम्म कति उत्खनन् भयो र अब कति बाँकी छ भन्ने तथ्यांक पनि पालिकासँग छैन।

मर्स्याङ्दीवारि गोरखातर्फको घाटमा पनि अवैध दोहन भइरहेको छ। जिल्ला अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले नदीजन्य पदार्थ उत्खनन्को प्रभावकारी अनुगमन गर्न नसकिएको स्वीकार गरेका छन्। मर्स्याङ्दी नदीमा पानीको बहाव नै परिर्वतन हुने गरी भइरहेको उत्खननबारे अनुगमन गरिने उनले बताए। 

‘अनुगमन समितिमा छलफल गरेर कानुनी प्रक्रियामा अघि बढ्छौँ’ उनले भने ‘समय अभाव, लगायत विभिन्न कारणले हामीले प्रभावकारी अनुगमन गर्न सकेका छैनौँ।’

मुग्लिन पोखरा सडक स्तरोन्नति आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले अवैध उत्खनन नभएको दाबी गरेका छन्। ‘राष्ट्रिय प्राथमिकताका आयोजनाहरू फास्ट ट्रयाकमा सम्पन्न गर्न आवश्यक परिमाणका निर्माण सामग्री उपलब्ध गराउनु पर्ने हुन्छ’, उनले भने, ‘त्यसका लागि आईईईमा उल्लेख भएअनुसार मेसिन प्रयोग गरेर उत्खनन गर्न पाउने व्यवस्था हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.