विद्यालयमा दुर्लभ अजिंगर
राजविराज : प्रायः घना वनजंगलमा बस्ने दुर्लभ जीव अजिंगर बुधबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनीस्थित एक विद्यालयमा फेला परेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित योगनी दिनेश आधारभूत विद्यालयमा सात फिट लामो अजिंगर फेला परेको स्थानीयबासीले बताए।
लोपोन्मुख प्रजातिको मानिने अजिंगर सप्तरीको हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा प्रत्येक वर्ष फेला पर्ने गरेको छ। अजिंगरहरू आसपासको जंगल, कोशी टप्पु वन्य जन्तु आरक्ष र सप्तकोशी नदी हुँदै बगेर आउने गरेको छ।
फेला परेको अजिंगरलाई इलाका प्रहरी कार्यालय हनुमाननगर ल्याइएको छ। राजविराजस्थित डिभिजन वन कार्यालय सँग समन्वय गरेर फेला परेको अजिंगरलाई आरक्षको जिम्मा लगाउने तयारी भइरहेको छ।
रुखको ठूलाठूला मुडामा र सुकेको पातहरूमा लुकेर बस्ने अजिंगर संसारमा पाइने विभिन्न सर्पहरूमध्ये सबैभन्दा ठूलो सर्प हो। यो बिसालु नभए पनि कुखुरा, हाँस, बाख्रा र मृगका पाठाहरू पुरै निल्न सक्छ र बेरेर स्वास बन्द गराउन सक्छ।