ढल्केवर खानेपानी आयोजनाले प्राधिकरणलाई एक करोड बक्यौता नतिरेपछि लाइन काटियो

ढल्केवर खानेपानी आयोजनाले प्राधिकरणलाई एक करोड बक्यौता नतिरेपछि लाइन काटियो
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–६ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सञ्चालन गरेको ढल्केवर खानेपानी आयोजना धरापमा परेको छ। 

आयोजनामा आम्दानीभन्दा तिर्नुपर्ने रकम चार गुणा बढी देखिएपछि उक्त खानेपानी आयोजनाको अवस्था संकटमा परेको तथ्य पुष्टि भएको छ। 

नेपाल विद्युत प्राधिकरणले खानेपानीको लाइन काटेपछि खानेपानीको अवस्था बाहिरिएको छ। विद्युतको बक्यौता एक करोडभन्दा बढी भएपछि नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्रले खानेपानीको विद्युत आपूर्ति बन्द गरेको छ। 

खानेपानीको विद्युत बक्यौता १ करोड ४ लाख ९ हजार ७६४ रुपैयाँ ३० पैसा पुगेपछि लाइन काटेको नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन सिंहले जानकारी दिए। 

खानेपानी जस्तो सम्वेदनशील विषय भएकाले लामो समयसम्म प्रतिक्षा गरेको भए पनि पैसा तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन काटेको इन्जिनियर सिंहले बताए।

‘खानेपानी संस्थामै पुगेर उहाँहरूलाई पटक पटक आग्रह गरेको छु। फोन गरेको छु। कुनै रेसपोन्स आएन। अति नै भएपछि लाइन काटेका छौं,’ सिंहले भने। 

संस्थाले २०७३ सम्म थोर थोरै भएपनि नियमित पैसा तिरिरहेको बताउँदै उनले २०७३ साल कात्तिक महिनापछि तीनपटक मात्रै भुक्तानी गरेको देखिएको उनले बताए। 

पछिल्लो पटक गएको पुसमा ४ लाख रुपैयाँ तिरेको इन्जिनियर सिंहले उल्लेख गरे। त्यसअघि २०७८ कात्तिकमा ४ लाख ५० हजार र २०७३ कात्तिक महिनामा ६५ हजार ७०३ रुपैयाँ भुक्तानी गरेको देखिएको उनको भनाइ छ। 

‘पछिल्लो चोटी ४ लाख रुपैयाँ तिरेको देखिन्छ। बक्यौता १ करोड बढी छ। त्यसमा ४ लाख रुपैयाँ तिरेर के हुन्छ ?,’ प्रमुख इन्जिनियर सिंहले भने ‘उहाँहरूको खानेपानी हो। उहाँहरूले कलेक्सन गरेर कमसेकम केही पैसा तिरेर बस्नुभयो भने केही निराकरण निस्किन्छ। एउटा बोन्ड बनाएर यति दिनमा पैसा तिर्छु भनेर सहमतिमा आउनुपर्‍यो नि।’

प्राधिकरणले मुख्य खानेपानी आयोजनाको लाइन काटेपछि अतिरिक्त खानेपानीको विद्युतको प्रयोग गरेर खानेपानी सञ्चालनमा राखेको छ। उक्त विद्युतको पनि १५ लाखको हाराहारीमा महशुल बक्यौता रहेको प्रमुख इन्जिनियर सिंहले बताए।

विद्युतलाई तिर्नुपर्ने १ करोडभन्दा बढी भएपनि खानेपानीलाई उपभोक्ताबाट असुल्नु पर्ने २५ लाख रुपैयाँ मात्रै रहेको पाइएको छ। 

हालसम्म उपभोक्ताबाट असुल्न बाँकी २५ लाख रुपैयाँ रहेको ढल्केवर खानेपानी योजनाको प्रमुख मिनबहादुर लामाले पुष्टि गरे। उनले अत्याधिक जरिवानाले विद्युतको बक्यौता बढी भएको बताए।

प्रमुख लामाले विद्युतकै लापरवाहीका कारण महशुल भुक्तानी गर्न समस्या भएको जिकिर गरे। २०६६ साउन महिनादेखि महशुल बुझाएको महिनाको समेत विद्युत महशुल बक्यौता देखिन आएको र हरेक महिनाको भुक्तानी बिलमा २५ प्रतिशत जरिवाना समेत बुझाउनु पर्दा खानेपानीलाई थप मार भएको उनको दावी छ। 

उक्त विषयमा समितिले भुक्तानी गरेको विलहरूको फोटोकपि बक्यौता फरछ्यौटका लागि पटक पटक विद्युत प्राधिकरणमा पेश गरेपनि कुनै सुनुवाइ नभएको उनले गुनासो पोखे। 

पछिल्लो पटक समितिका तत्कालीन अध्यक्ष रामविरोध महतोले विद्युतको बक्यौता पुनरावलोकन गर्न २०६९ भदौ २६ गते नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्रमा निवेदन दर्ता गराएको आयोजना प्रमुख लामाले जानकारी दिए। 

ढल्केवर खानेपानी आयोजनाको हाल १५ सय बढी उपभोक्ता रहेको लामाले बताए। विद्युतले लाइन अवरुद्ध पारेपछि उपभोक्ता चिन्तामा परेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.