नेताहरूले नैतिकता गुमाउँदा भ्रष्टाचार मौलायोः उपसभापति गुरुङ

नेताहरूले नैतिकता गुमाउँदा भ्रष्टाचार मौलायोः उपसभापति गुरुङ
सुन्नुहोस्

हेटौंडा : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक दलका नेताहरूले नैतिकता गुमाउँदा मुलुकमा भ्रष्टाचार मौलाएको बताएका छन्। 

नेपाल शिक्षक संघ बागमती प्रदेश समितिको हेटौंडामा आयोजित दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले देश र जनताको हितका लागि अब नैतिक शिक्षा सुधारमा जोड दिनुपर्ने बेला आएको बताए। 

‘हामी नैतिक शिक्षा सुधारका लागि एकजुट हुनुपर्ने बेला भएको छ। अहिले नेताहरूले विस्तारै नैतिकता गुमाउँदै गएका छन्। जसका कारण मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको छ। यसलाई न्यूनीकरण गर्न नैतिक शिक्षा नै प्रभावकारी विकल्प हो। अहिले विद्यमान  आर्थिक संकट र राजनीतिक संकट टार्न नैतिक शिक्षा नै प्रभावकारी विकल्प हुनेछ।’ 

उनले स्थानीय पाठ्यक्रमबाट शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै नैतिक शिक्षा प्रवर्द्धन गर्न सके अहिलेको जस्तो विकराल अवस्थाको विस्तारै अन्त्य हुँदै जाने बताए। 

सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाएर त्यसलाई अन्य विद्यालयहरूले पछ्याउँदै जाँदा शैक्षिक क्षेत्रको परिवर्तन सम्भव हुने गुरुङले उल्लेख गरे। 

उनले प्रत्येक स्थानीय तहमा कम्तिमा १२ वटा नमूना विद्यालय आवश्यक रहेको भन्दै त्यसतर्फ शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकाय र स्थानीय तह एक हुनुपर्नेमा जोड दिए। 

धनी र गरिबबीच शैक्षिक गुणस्तरको खाडल पुर्न अब सामुदायिक विद्यालयलाई क्रमिक रुपमा सुधार गर्दै लैजानुपर्ने गुरुङले बताए। शिक्षा ऐन पनि सामुदायिक विद्यालय, शिक्षक एवम् विद्यार्थीको हितमा हुनुपर्ने उनको भनाइ छ। 

उनले जिम्मेवारी पाएर सम्बन्धित क्षेत्रको हितका लागि काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाइने समेत उद्घोष गरे। 

कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्र बानियाँ प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईं लगायत शिक्षा क्षेत्रको प्रवर्द्धनमा आआफ्नो क्षेत्रबाट खेल्न सक्ने भूमिका र शिक्षकका पेशागत सवालमाथि धारणा व्यक्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.