लोकतन्त्र र संघीयतामा पहिचान माग्नेको ज्यान लिनु निन्दनीय : अशोक राई
काठमाडौं : सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भ समय माग गर्दै राईले प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनले यस किसिमका दुखद् घट्नाको अन्त्य गर्न माग गर्दै शान्तिपूर्ण रुपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै यसमा हुने दमनलाई रोक्न आग्रह गरे ।
राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताए । राईले भने,‘दुःखद घटनाहरुको शृंखलाहरुको अन्त्य कहीं पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम मधेश जनविद्रोहमा ५९ जनाको निधन भएको थियो । हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं । तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ । यो निन्दनीय छ ।’