सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा
वीरगन्ज : पर्सा दोस्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृतिमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा सर्लाहीलाई १–० को रोमान्चक जित हात पार्दै पर्साले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
पर्साका लागि खेलको ३२ औं मिनेटमा कृष्ण शाक्यले गरेको गोल नै निर्णायक बन्यो। खेल अवधिभर पर्सा माथि हाबी भएका सर्लाहीका स्कोररले गोल गर्ने थुप्रै अवसर पाए पनि फिनिसिङ गर्न नसक्दा उसले १–० हो पराजय व्यहोर्नु परेको हो।
आइतबारको खेलको म्यान अफ दी म्याच पर्साका कृष्ण शाक्य नै घोषित भए। प्रतियोगिता सोमबारको खेल बारा र सप्तरी बीच हुने फाउण्डेसन मधेस प्रदेशका संयोजक महम्मद शाहबुद्धिनले जानकारी दिए।
यसअघि शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले सेमिफाइनलको यात्रा तय गरिसकेको छ।
चैत १८ गते सम्म प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाका गरी आठ टिम सहभागी छन्। प्रतियोगिताको उपाधिक विजेताले नगद २ लाख ५० हजार र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका पर्सा अध्यक्ष धिरज कुमार गुप्ताले जानकारी गराए।