बिपिसीले विद्युत महसुल बढाएको भन्दै उपभोक्ताको बिरोध
स्याङ्जा : बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले स्याङ्जामा उत्पादित एवं वितरित विद्युत महसुलमा दोब्बर वृद्धि गरेको सूचना सार्वजनिक भएपछि स्याङ्जाका उपभोक्ताहरू आक्रोशित भएका छन्।
उपभोक्तासँग छलफल नै नगरी एकलौटी रुपमा महसुल दर दोब्बर बढाएको भन्दै स्याङ्जाका जनप्रतिनिधिसहित स्थानीयले बिरोध जनाएका हुन्। उपभोक्ताले अहिले ५ रुपैयाँ ८० पैसामा प्रतियुनिट विद्युत खरिद गर्दै आएकोमा कम्पनीले प्रतियुनिट ११ रुपैयाँ प्रस्ताव गरेको छ।
गण्डकी प्रदेश सांसद भोजराज अर्यालले प्रस्तावित रकम तत्काल फिर्ता लिन र सम्बन्धित क्षेत्रमा आएर छलफल गर्न विज्ञप्ति मार्फत आग्रह गरेका छन्।
कम्पनीले काठमाडौंमा बसेर सार्वजनिक सुनुवाइ गरेकोमा समेत उनीहरूको आक्रोश छ। उपभोक्ताबीच स्याङ्जामा छलफलगरी महसुल दर निर्धारण गर्न स्याङ्जाका जनप्रतिनिधिहरूको भनाइ छ।
कम्पनीले ९ दशमलव ४ मेगावाट क्षमताको विद्युत आधीखोला जलविद्युत केन्द्र मार्फत बिक्री गर्दै आएको छ। आयोजनाबाट स्याङ्जा र पाल्पाकागरी ३९ हजार २ सय ग्राहक छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकासहित केही वडा बाहेक यहाँका १० पालिका र पाल्पाको रामपुर र अर्सेदी क्षेत्रमा यही उत्पादित विद्युतको उपयोग हुन्छ।