घट्दै कार्बन भण्डारण क्षमता
जलवायु परिवर्तनसँग जुध्न ‘गम्भीर समस्या’ उत्पन्न हुने देखिएको छ।
काठमाडौं : वन जंगलको राम्रो व्यवस्थापन नहुँदा विश्वमै कार्बन भण्डारण (सोसेर राख्ने) क्षमतामा ह्रास आएको छ। गत महिना ‘नेचर जर्नल’ मा प्रकाशित एक अध्ययनले विश्वका विभिन्न भू–भागमा कार्बन भण्डारण गर्ने क्षमता घट्दै गएको देखाएको छ। यसकारण जलवायु परिवर्तनसँग जुध्न ‘गम्भीर समस्या’ उत्पन्न हुने देखिएको छ। अध्ययनले दक्षिण एसियाका पाकिस्तान, भारत तथा मध्य एसियामा समेत कार्बन सोस्ने क्षमतामा ह्रास आएको उल्लेख छ। रूखले कार्बन सोस्ने र अक्सिजन प्रवाह गर्छ।
जंगल मासेर विकास निर्माण गर्ने, कृषि भूमि बनाउने र भएको जंगलको पनि राम्रो व्यवस्थापन नहुँदा कार्बन भण्डारण क्षमता घटेको अध्ययनले देखाएको छ। जलवायु परिवर्तनसँग जुध्न कार्बन भण्डारण अत्यन्त महत्वपूर्ण मानिन्छ। तर, विश्वका कतिपय मुलुकले भण्डारण क्षमता गुमाउनुले गम्भीर समस्या निम्त्याउन सक्ने अध्ययनको निष्कर्ष छ। एसियाली मुलुकमात्र नभई केन्या, इराक, कीर्गिस्तान, रसिया, मेक्सिको, मध्यपश्चिम तथा उत्तर अमेरिका, पूर्वी अफ्रिकालगायतका क्षेत्रले समेत भण्डारण क्षमता गुमाएको अध्ययनको निष्कर्ष छ।
त्यस्तै, जलवायु परिवर्तनका कारण पनि भण्डारण क्षमतामा असर गरेको हुनसक्ने उक्त अध्ययनले बताएको छ। पृथ्वीको तापक्रम बढ्दा हिटवेभ तथा खडेरीका घटना बढेकाले स्थलीय पारिस्थितिक प्रणालीमा असर गरेको छ। बारम्बार तापक्रम बढ्दा, पर्यावरणमा परिवर्तनशीलता देखिएकाले असर गरेको छ। तर, तापक्रम बढ्नुमा सबैभन्दा ठूलो भुमिका जलवायु परिवर्तनको छ। त्यसैले कार्बन भण्डारण घट्नुमा जलवायुको असर पनि हुनसक्ने वैज्ञानिकहरूको आँकलन छ।
‘डाइग्नोसिङ डिस्टबलाइजेसन रिस्क इन ग्लोबल ल्यान्ड कार्बन सिन्क्स’ ले सन् १९८१ देखि २०१८ सम्मको अवधिलाई अध्ययन गरेको जनाएको छ। फरक–फरक पारिस्थितिक प्रणालीको कार्बन उत्पादन क्षमताको समीक्षा गरिएको अध्ययनमा उल्लेख छ। अध्ययनको सहलेखक, युनिभर्सिटी अफ रिडिङ एन्ड द नेसनल सेन्टर फर एटमस्फेरिक साइन्स यूकेका पाटे«क मग्वायरले भनेकी छन्, ‘पहिलोपटक संसारका यस्ता क्षेत्रहरूबारे प्रकाशमा ल्याइएको हो। केही निश्चित क्षेत्रका जमिन तथा जंगली भू–भागमा कार्बन भण्डारण गर्ने क्षमताको गिरावट उच्च बिन्दुमा पुग्नसक्छ।’
उचित व्यवस्थापन नभएको खण्डमा संसारको धेरै भू–भागहरूले कार्बन भण्डारण गर्ने क्षमता गुमाउने खतरा रहेको अध्ययनले औंल्याएको छ। यसले पारिस्थितिक प्रणाली र जलवायु परिवर्तनमा दु्रत रुपान्तरण हुने देखिएको छ। कार्बन सोसेर राख्ने क्षमता पहिलाको भन्दा हराउनु चिन्ताको विषय मानिएको छ। मग्वायरका अनुसार यसले जलवायु परिवर्तनसँग जुध्न गम्भीर अवरोधहरू आउनसक्ने देखाएको हो। जंगल, जलाशय, दलदल क्षेत्र तथा अन्य पारिस्थितिक प्रणालीहरू कार्बन भण्डारणका प्रमुख स्रोतको रूपमा मानिन्छन्। यसले विश्वव्यापी तापमान १.५ डिग्री कायम राख्न महत्वपूर्ण भूमिका राख्ने पनि उल्लेख छ।
कार्बन भण्डारण गर्ने मामलामा गिरावट आउँदा कालान्तरमा त्यस्ता क्षेत्रहरू स्थायी रूपमा बुट्यान तथा झाडी जस्तो बन्न सक्ने पनि अनुमान गरिएको छ। यसले जलवायु परिवर्तनलाई झन्–झन् डरलाग्दो बनाउने आँकलन गरिएको छ। ‘कार्बन सन्तुलनमा अस्थिरता आए जलवायु पनि अस्थिर बन्छ।’ यदि हामीले कार्बन सन्चितिलाई अस्थिर राखे यसले जलवायुलाई झनै अस्थिर बनाउँछ,’ अनुसन्धानकर्ता म्याकोस फर्नान्डेजले भन्छिन्, ‘त्यसैले जमिनको राम्रोसँग व्यवस्थापन गर्नुपर्ने हुन्छ। कतिपय ठाउँमा जंगल फडानी गरेर कृषिभूमिमा परिणत गर्दा पनि समस्या थपिएको छ। रूखले बालीनाली र घाँसे मैदानले भन्दा धेरै नै कार्बन भण्डारण गर्छ।’ कार्बन सोस्ने उत्कृष्ट विकल्प वनजंगल र जलाशय व्यवस्थापनलाई मानिन्छ।
नेपालको कार्बन भण्डार स्थिति
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका उपसचिव यज्ञमूर्ति खनालका अनुसार कार्बन भण्डारण गर्ने सबैभन्दा उत्तम स्रोत जंगल व्यवस्थापन हो। यसलाई सबैभन्दा सस्तो र सजिलो माध्यम पनि मानिन्छ। रूखहरू बढेर एउटा निश्चित अवस्थामा पुगेपछि वृद्धि भएन भने क्षमता गुमाउँछ।’ उनका अनुसार दिगो वन व्यवस्थापन गर्ने, काठका उत्पादनहरू प्रयोगमा ल्याउने, फेरि नयाँ रूख लगाउने गर्दा कार्बन भण्डारण व्यवस्थापन राम्ररी हुन्छ। दिगो वन व्यवस्थापनमा वनपैदावर (वनबाट उत्पादन हुने सामग्री) संकलन गरेर उपयोग गरेमा कार्बन भण्डारणमा समस्या नहोला। तर, राष्ट्रिय निकुञ्जहरूको संरक्षित जंगलका हकमा भण्डार क्षमतामा ह्रास आउन सक्ने जनाए। उनले भने, ‘जति छ। पुराना रूखहरू हुन्छन्। नयाँ वनको विकास हुँदैन। त्यस्ता ठाउँमा भइराखेको कार्बन स्टोर हुन्छ। तर, नयाँ सञ्चिति हुँदैन।’
बिरुवा जति बढ्यो त्यसले खाना बनाउन वायुमण्डलमा भएको कार्बन सोस्छ। तर, निश्चित बिन्दुमा पुगेपछि रूख बढ्दैन। त्यसले धेरै कार्बन भण्डारण गरे पनि नयाँ रूखले जस्तो धेरै कार्बन खपत गर्दैन। त्यसैले व्यवस्थापन र उपयोग आवश्यक रहेको खनालले जनाए। ‘बुढा रूखले कार्बन सोस्दैन। त्यसलाई उपयोग गर्नुपर्छ। त्यो ठाउँमा नयाँ बिरुवा रोप्नुपर्छ। नयाँ विरुवा हुर्किनु भनेको कार्बन सञ्चिति बढ्नु हो। रूख जलाएमा कार्बन वायुमण्डलमा थुप्रिएर बस्छ। तर, बुढो भएका रूखहरूलाई काठको रूपमा प्रयोग गरेमा फाइदा हुन्छ। फलामको सट्टामा काठ प्रयोग गर्दा कार्बन सञ्चितिमा सहयोग पुग्छ। दिगो वन व्यवस्थापन कार्बन सञ्चितिका लागी एउटा नभई नहुने चीज हो’, उनले भने।
जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि हुने र तातो बढ्दा आगलागीका घटना बढेका छन्। त्यसैले दिगो वन व्यवस्थापन गर्दा जलवायुजन्य घटनालाई व्यवस्थापन गर्ने गरी काम गर्नुपर्ने उनले जनाए। हाल आगलागीको सिजन सुरु हुन लागेको छ। हिउँदे वर्षाले जमीन चिसो बनाइराख्दा वनमा डढलो लाग्दैनथ्यो। तर, अहिले सुक्खापन बढेको छ। वर्षाको शैली फेरिएको छ। खनालले भने, ‘जलवायुको दोहोरो भूमिका हुन्छ। वन डढेलो हुँदा वायुमण्डलमा कार्बन उत्सर्जन गर्छ। तापक्रम बढेसँगै सुक्खा भएपछि डढेलो वृद्धि हुन्छ।’
स्वस्थ वन व्यवस्थापनका लागि नियन्त्रित आगलागी महत्वपूर्ण हुने वन विशेषज्ञ पशुपतिनाथ कोइरालाले बताए। ‘स्वथ्य जंगलका लागि ब्लक बनाएर केही समयको अन्तरालमा आगो लगाउँदा फाइदा गर्छ। आगो लगाइसकेपछि त्यहाँ स्वथ्य बिरुवा उम्रन्छ’, उनले भने, ‘एउटा ब्लकमा बिरुवा उमे्रपछि अर्को ब्लकमा आगो लगाउन सकिन्छ। नयाँ घाँसबिरुवा जंगली जनावरका लागि चरीचरण बन्न सक्छ। तर, आगो नियन्त्रित हुनुपर्छ।’ अनियन्त्रिक आगोले फाइदा नहुने बताए।
कोइरालाका अनुसार रेड कार्यान्वयन केन्द्रले जंगल व्यवस्थापन गर्दै कार्बन व्यापारको लागि कामसमेत अघि बढाएको छ। सन् २०१८ देखि २०२४ सम्म भण्डारण गरेको कार्बन विश्व बैंकलाई बेच्ने काम अघि बढाइसकेको छ। वृक्षरोपण र वन व्यवस्थापनले वन कति वृद्धि भयो भन्ने कुरा हेरेर कति वनविनाश र वन क्षयीकरण घटायौं भन्ने हेरिन्छ। कतिपय क्षेत्रमा विकासका नाममा धेरै वन विनाश भएको हुनसक्छ। कुनै वर्ष खाली ठाउँमा वृक्षरोपणले परिणाम फरक दिएको पनि उनले बताए। त्यसैको आधारमा कार्बन भण्डारको आँकलन गरिन्छ। रेडको २०७७ को वार्षिक प्रतिवेदनमा नेपालको वनमा १ अर्ब ५ करोड ५० लाख टन कुन कार्बन सञ्चिति रहेको जनाएको छ। औसतमा प्रतिहेक्टर १७६.९ टन हुन आउँछ।
कार्बन व्यापारको हकमा नेपालले (मेजरमेन्ट रिपोर्टिङ एन्ड भेरिफिकेसन) रिपोर्ट तयार गर्दै गरेको बताए। डिसेम्बरसम्ममा बुझाउने योजना थियो। तर, प्राविधिक समस्याका कारण गणनामा समस्या आएकाले रिपोर्ट बुझाउन नपाएको बताए। अप्रिलमा बुझाउने प्रयास भइरहेको छ। उतm समयसम्म रिपोर्ट ठीक भए नभएको प्रमाणित गरेपछि २०२३ को अन्त्यसम्म कार्बन बेचेको पैसा आउँने बताए।
रेडले बुझाएको रिपोर्टमा विश्व बैंकले थर्डपार्टीद्धारा नेपालले गरेको रिपोर्ट ठीक भए÷नभएकोमा समीक्षा गर्छ। त्यसको आधारमा सुधार गर्नुपर्ने भए सुझाउँछ। अन्यथा त्यसैको आधारमा सर्टिफिकेट दिन्छ। त्यसले कति उत्सर्जन न्यूनीकरण गरेको छ स्पष्ट उल्लेख गरेको हुन्छ। त्यसबापत पैसा पाउँछ। अहिले पहिलो रिपोर्ट सन् २०२१ सम्मको बुझाउने तयारी भएको हो। त्यसको पैसा २०२३ मा पाइने र २०२४ सम्ममा गरेको कामको २०२५ सम्ममा पैसा पाउन सकिने खनालको भनाइ छ।
नेपालले वनको क्षेत्रफल ४५ प्रतिशत पुगिसकेको छ। त्यसलाई नमासी व्यवस्थापन गरेमा प्रतिवद्धता पूरा हुन्छ। वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययन ‘नेसनल ल्यान्ड कभर मोनिटरिङ सिस्टम अफ नेपाल २०२२’ को तथ्यांकअनुसार नेपालमा सन् २००२ देखि २०१९ को बीचमा वनको क्षेत्रफल १.७० प्रतिशतले बढेको छ। तर कृषिभूमि २.१० र घाँसेमैदानहरू ०.६८ प्रतिशतले घटेको छ। सन् २०१९ मा नेपालको वन क्षेत्र ४१.६९ प्रतिशत (६१६६७६६ हेक्टर) पुगेको छ। सन् २००० मा ३९.९९ प्रतिशत (५९१५५१८ हेक्टर) थियो। विश्वव्यापी रूपमा हेर्दा जंगलबाट हुने कार्बन उत्सर्जन १७ देखि १९ प्रतिशत हुन आउँछ। त्यस्ता उत्सर्जन कम गर्न जंगल व्यवस्थापना आवश्यक छ।
राष्ट्रिय निर्धारित प्रतिवद्धता (एनडीसी) अनुसार सन् २०३० सम्म नेपालले वन व्यवस्थापन वन व्यवस्थापन गर्ने र वनक्षेत्रबाट हुने उत्सर्जन शून्य बनाउने लक्ष्य राखेको छ। सन् २०४५ सम्म कार्बन नेगेटिभमा जाने बताएको छ। काठमाडौं फरेस्ट्री कलेजका सहप्राध्यापक लीना शाहका अनुसार कार्बन न्यूनीकरणमा वनजंगलको भूमिका सबैभन्दा धेरै भएको बताइन्। जलाशयहरूले वनले जति कार्बन सोस्दैनन्। त्यसैले वन व्यवस्थापनका लागि कार्बन व्यापारले थप हौसला दिने बताइन्। कार्बन हटाउन बढी प्रदूषण गर्ने मुलुकहरूले कार्बन सञ्चितिबापत पैसा दिनु राम्रो भएको र त्यसको उचित सदुपयोग हुनुपर्ने बताइन्।
वृक्षरोपणमा समर्पित अमेरिकन संस्था ‘आर्बर डे फाउन्डेसनका’ अनुसार एउटा परिपक्व रूखले वर्ष दिनमा ४८ पाउन्ड कार्बन वायुमन्डलबाट सोस्छ र त्यसको सट्टामा अक्सिजन उपलब्ध गराउँछ। रूखका फाइबरले वायुलाई स्वच्छ बनाउँदै मानव स्वास्थ्यमा योगदान दिन्छ। साथै वायुमन्डलमा भएका कार्बनको नकारात्मक असरलाई न्यूनीकरण गर्छ। प्रदूषण नियन्त्रणमा समेत मुख्य भूमिका खेल्छ।