हराएको मान्छे!

हराएको मान्छे!
सांकेतिक तस्बिर।
सुन्नुहोस्

कहिलै उठ्न नसक्ने गरी मान्छे मान्छेकै नजरबाट खस्न थाले। नैतिकता भुल्न थाले। मान्छेले मान्छेकै बीच पर्खालहरू बनाउन थाले।

सत्यका रूप फरकफरक हुन्छन्। समय र परिस्थितिले सत्यलाई असत्यमा पनि बदल्न सक्छ। एउटा निश्चित स्थान र परिस्थितिमा मानिएको सत्यलाई समयले अर्को स्थान र परिस्थितिमा असत्यको रूपमा उजागर गरिदिन सक्छ। तथापि यस्ता केही अपरिवर्तनीय सत्यहरू पनि छन्। तर भुलभुलैयामा रमाउने मान्छे अपरिवर्तनीय सत्यको खोजी गर्दैन वा गर्न चाहँदैन। अर्थात् दोष दृष्टिमा छ, वस्तुमा होइन। यो दुनियाँ हिजोजस्तो थियो, आज त्यस्तो छैन। आज जस्तो छ, भोलि यही रूपमा पनि रहँदैन।

दुनियाँको सर्वोत्तम सृष्टि हो मान्छे। ऊभित्र फूलका सुवास, जूनका माधुर्यतासँगै सूर्यको तेजमात्र होइन, प्रेम र धैर्यका खानी पनि हुन्छन्। दुःखीहरूका दुःख समेट्दै सुख बाँड्न सक्छ। निश्चलताका अनेकौं सागरहरू बगाउन सक्छ। दुनियाँलाई इन्द्रेणीका रंगले सजाउन सक्छ। निराशाबाट आशा, समस्याबाट समाधान, मरणबाट सरण, अशान्तिबाट शान्ति, आँसुबाट हाँसोमा बदल्न सक्छ। अभाव छ त केवल सुदृष्टिको। ऊ हेर्न चाहँदैन वा देख्न चाहँदैन।

मन्दिर, सडक, सहर बजार जहाँ गयो, त्यहाँ मान्छे नै मान्छेको भीड छ। सोच तथा दृष्टि मेल नखाए झैं एउटा मान्छेको अनुहार अर्को मान्छेसँग मेल खाँदैन। सबै तँछाडमछाड गरिरहेछन्। गिद्धले सिनोलाई झम्टिए झैं स्वार्थलाई झम्टिरहेछन्। पासो थाप्ने, ढोक्सो थाप्ने र जाल हान्नेहरूको कमी छैन यहाँ। आफूले थापेको ढोक्सोमा कति माछा पर्ने हुन् ! मान्छेको जिन्दगी पनि माछाको जस्तै रहेछ। कसले कतिखेर कहाँनेर ढोक्सो थाप्छ ? पत्तै नहुने। झट्ट हेर्दा उस्तै देखिने मान्छेहरू। फरक छ त मान्छेको अनुहार भएका मान्छे र मान्छेको अनुहारमा मानवताका मर्यादाहरूले भरिएको हृदय भएको मान्छे।

मान्छेभित्रका फरकफरक मान्छेहरू। कोही आफ्ना मान्छे, कोही पराइ मान्छे, कोही मेरो मान्छे त कोही तेरो मान्छे। विभिन्न नामहरू अर्थात् अगाडि विशेषण गाँसिएका र नाम उपनाम थपिएका थुप्रै मान्छेहरू। मान्छेले मान्छेलाई दिएका नाम र उपनामहरू। मृत्युपश्चात आर्यघाटमा लगिएको मान्छेलाई मलामीले ऊ जीवित हुँदा बोलाउने गरेको नामले सम्बोधन गर्दैन। त्यो लासलाई यहाँ राख, त्यहाँ राख, यसो गर उसो गर। उसको नामले उसलाई छोडिसक्यो। अर्थात् उसको विगतको नामले पनि उसँगै मृत्युवरण गरिसक्यो। तर लास अगाडि जोडिएको मान्छे रहिरहन्छ। अर्थात् ‘मान्छेको लास’।

मान्छेभित्रको मान्छे मर्दैन। मान्छे हुन धर्तीमा मान्छेको अनुहार लिएर मात्र हुँदैन। उभित्र मानवमा हुनुपर्ने गुणहरू पनि हुनुपर्छ। मानवतामा मान्छेको वर्ग, जाति, लिंग, धर्म, योग्यता केही हुँदैन। हुन्छ त केवल मानव मर्यादा। मान्छेको प्रजातिलाई आजको युगमा आउन कति वर्ष लाग्यो। कस्ताकस्ता चरणहरू पार गर्‍यो। अन्तरमनका व्यथाहरू झैं पुस्तान्तरका कथाहरू पनि आफ्नै होलान्। वैज्ञानिक प्रयोगशाला तथा विश्वविद्यालयहरूमा अध्ययन तथा खोज, अनुसन्धानहरू भए होलान्। पढ्नेले कति पढे। पढाउनेले के कति पढाए। कति खोज गरिए। सिक्नेले के सिके ? त्यसको चर्चा इतिहासले गर्ला।

विश्वका कुनै पनि विश्वविद्यालय तथा प्रयोगशालाहरू जिन्दगीका पाठशालाभन्दा ठूला छैनन्। जीवन एउटा जन्मदेखि मृत्युसम्मको यात्रा हो। यात्राका हरेक पाइलासँगै भेटिने दोबाटा चौबाटाहरूमा सिक्नलाई केही न केही नयाँ भेटिइरहन्छ। जीवनका यात्रामा चालिएका हरेक पाइलापाइलामा अन्धकारतर्फ र उज्यालोतर्फ दुईवटा बाटा देखा परिरहेका हुन्छन्। अल्मलिएर कतै अँध्यारो बाटोमा पाइला जाँदैमा उसको यात्रा टुंगिँदैन। बरु ठेस लाग्न सक्छ। ठेसले केही पाठ सिकाउँछ र जिन्दगीको टर्निङ प्वाइन्ट नै फेला पार्न पनि सक्छ।

लाग्छ मान्छे यति व्यस्त छ कि आफूले आफैंलाई हेर्ने फुर्सद छैन। कहीं एटम बनेर पड्किरहेछ। कहीं विष बनेर फैलिरहेछ। त्यो पनि आफ्ना कमजोर दृष्टिहरूमा स्वार्थ र लोभका चस्मा लगाएर। घोर निद्रामा भए झैं बन्द छन् नयनहरू। तर आँखा चिम्लेर हेरे पनि आँखा खोलेर हेरे पनि सत्य, सत्य नै हुन्छ। शाश्वत सत्यको कुनै अन्त्य हुँदैन। हिजो पूर्वबाट उदाउने सूर्य आज पनि पूर्वबाटै उदाइरहेछ र भोलि पनि उदाइरहनेछ। निदाएको अभिनय गर्नेका लागि निदाउनु र ब्युँझनु दुवै अभिनय मात्र हो। सागरमा आधा डुबेर उत्रने कोसिस गरिरहेको डुंगा झैं भएको छ, आज मान्छेभित्रको मानवता। उत्रने कि डुब्ने संघर्षमा विशुद्ध एक्लो।

कहिलै उठ्न नसक्ने गरी मान्छे मान्छेकै नजरबाट खस्न थाले। नैतिकता भुल्न थाले। संवेदनशीलता मर्न थाले। चेतना हराउन थाले। मान्छेले मान्छेकै बीच पर्खालहरू बनाउन थाले। धनी र गरिब, सानो र ठूलो, तेरो र मेरो अनेकौं स्वार्थका खाडलहरू खन्न थाले। राम्रा–नराम्रा, अँध्यारा–उज्याला, नर्क–स्वर्ग यहीँ देखिन थाले। मान्छेका अगाडि विशेषण थपिए। यस्तो मान्छे, उस्तो मान्छे। नाम, उपनाम एवं विशेषणहरूबाट चिनिन थाले। फेरिन थाले बोली र भाषा अनि स्थान र आवश्यकता। कहिलै पुरानो नहुने गरी सधैं नयाँ नयाँ अनुहारमा। विशेषण थपिएका मान्छेहरू जताततै देखिन थाले। तर मानवता भरिएको सिंगो मान्छे भने हराउँदै गए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.