व्यवस्थापनको पर्खाइमा ह्यारीहिल

व्यवस्थापनको पर्खाइमा ह्यारीहिल
बेलायती राजकुमार ह्यारीको नाममा नामाकरण गरिएको धार्चे-७ स्थित ह्यारीहिल। तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : बेलायतका तत्कालीन राजकुमार ह्यारी २०७२ सालको चैत ११ गते लापुवेशीको प्रभातकिरण माविमा आए। 

टिम रुविकनको समन्वयमा उनीसहित १२ जनाको टिमले त्यहाँ चैत १६ गतेसम्म विद्यालयको भवन निर्माणका लागि श्रमदान गर्‍यो। राजकुमार ह्यारीले पनि अरू कामदार सरह भूकम्पले ध्वस्त भएको विद्यालयको पुरानो भवन भत्काउने, ढुंगा, काठ बोक्ने, जग खन्ने जस्ता काम गरेर राजकुमार ह्यारीले सबैलाई चकित बनाए। 

६ दिनसम्म श्रमदान गरेपछि जब भवनको डीपीसी तयार भयो, त्यसपछि ह्यारीको टोली बेलायत फर्किएको थियो। 

उनको मायाले स्थानीयबासी पुलकित भए। स्थानीय सरकार पनि कृतज्ञ भयो। बेलायती राजकुमारसंगको सम्बन्ध अजर–अमर रहोस् र भावी पुस्ताहरूले पनि उनको स्मरण गरुन् भन्ने उद्देश्यले धार्चे गाउँपालिकाकाले सो विद्यालयसंगै उभिएको डम्बुडाँडालाई ह्यारीहिल नाम दियो। 

सो ह्यारी हिललाई पर्यटकीय स्थल बनाउने, बेलायती वा युरोपेली पर्यटकलाई धेरैभन्दा धेरै आउने वातावरण बनाउने लक्ष्य राखेर गाउँपालिकाले ह्यारी हिलमा पर्यटकीय पूर्वाधार बनाउन सुरु गर्‍यो। 

प्रभातकिरण माविको आँगनदेखि ह्यारीहिलको टुप्पोसम्म पुग्नेगरी ११८ वटा रेलिङसहितको सिँडी निर्माण गर्‍यो। हिलको टुप्पामा प्रतिक्षालय, खानेपानीको धारा निर्माण गर्‍यो। सडक छेउमा ह्यारीहिलमा स्वागत छ भन्ने साइनबोर्ड पनि स्थापना गर्‍यो तर त्यहाँ अपेक्षा गरेअनुसार पर्यटक भित्रिएनन्।

‘पहिला–पहिला त अब यहाँ विदेशी पर्यटक आउलान्, ह्यारी हिल पुरै विदेशी पर्यटकले भरिएलान् भन्ने सबैले सोचेका थियौँ’, स्थानीय आयुषा गुरुङले भनिन्, ‘तर कोही पनि विदेशी आउँदैनन्। मैले थाहा पाएसम्म जम्मा एकफेर पालुङ्टारका टोली पिकनिक आएका थिए। त्यत्ति हो।’ विशेषगरी पर्यटक मोटरबाट सिधै माछाखोलासम्म जाने भएकाले यो क्षेत्र पछाडि परेको उनको तर्क छ। ‘यो साइन बोर्डलाई अल्लि ठूलो, अल्लि आकर्षक बनाएर राखेको भए गाडीमै आएका पर्यटक पनि झरेर हेर्न जान्थे कि ?’ उनी भन्छिन्, ‘एकफेर बनाएको साइनबोर्ड खुइलिएर गयो। जतन छैन, अक्षर पनि मेटिएर गयो।’

गाउँपालिकाले केही व्यवस्थापन गर्छ कि भन्ने आशा गर्दागर्दै वर्ष बितिरहेको प्रभातकिरण माविका प्रधानाध्यापक जीव गुरुङ बताउँछन्। ‘अघिल्लो गाउँपालिकाका अध्यक्षले बरु अलिअलि बजेट छुट्याएर काम सुरु गरेका थिए’, गुरुङ भन्छन्, ‘अहिले त बजेटै बिनियोजन गरेनन्। हामीले पटक पटक सम्झाउँदा पनि वास्ता गरेनन्।’

आफ्नो पालिकाभित्रको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गर्ने र प्रचारप्रसार गर्ने काम पालिका सरकारले गर्नुपर्छ भन्ने मनन गरी पूर्वाधार निर्माणको सुरुवात गरिएको भन्दै निवर्तमान गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

गाउँपालिकाका वर्तमान अध्यक्ष लक्ष्मण गुरुङले भने यसवर्ष कार्यक्रम बनाउँदा छुटेको बताए। ‘यसवर्ष सम्बोधन गर्न सकिएन, अब अर्को वर्ष कार्यक्रम पारुँला भन्ने सोचेको छु’, उनले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.