आसिफ र आरिफलाई महानगरले दियो मोटरसाइकल
वीरगन्ज : आईसीसी विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई शुक्रबार वीरगन्जमा नागरिक अभिन्दन गरिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज महानगरपालिकाले शुक्रबार साँझ भव्य समारोह नै गरेर वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको हो।
नागरिक अभिनन्दनसँगै महानगरले यसअघि घोषणा गरे अनुसार शेख दाजुभाईलाई एक एक थान यमहा एफजेडएफआइ मोटरसाइकल पनि प्रदान गरेको छ।
आदर्शनगर स्थित पुरानोबसपार्क परिसरमा आयोजित समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहले दुवै जना खेलाडीलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मानित गरे। उनले दुवैलाई मोटरसाइकलको साँचो पनि हस्तान्तरण गरे।
वीरगन्जको मुर्ली निवासी आरिफ राष्ट्रिय टिमको ब्याट्सम्यान हुन् भने आसिफ ब्याट्सम्यान तथा विकेट किपर हुन्। चैत २ गते काठमाडौंमा भएको आईसीसी विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आईसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो।
नागरिक अभिनन्दन गर्दै मेयर सिंहले वीरगन्ज निवासी दुवै खेलाडीको थप हौसला र उर्जा बढाउन महानगरले वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको बताए।
यी दुइ खेलाडीले वीरगन्जको मात्र नभइ नेपालकै नाम अन्तर्राष्ट्रिय जगतमा उँचो बनाएको भन्दै मेयर सिंहले भने,‘ आसिफ र आरिफ नेपालकै गहना हुनुहुन्छ, उहाँहरूको साथमा सारा वीरगन्जवासी छन्।'
उक्त अवसरमा इरानमा सम्पन्न १९ वर्षमुनिको वर्ल्ड कबड्डी च्याम्पियनसिपमा नेपाललाई तेस्रो स्थानमा पुर्याउन सफल राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय वीरगन्ज निवासी दिपेन्द्र यादव र सागर यादवलाई पनि सम्मान गरिएको छ।
समारोहमा मेयर सिंहले यादवद्वयलाई दोशल्ला र कदरपत्रले सम्मानित गर्दै व्याक्तिगत तर्फबाट दुवैलाई जनही २१/२१ हजार रुपैयाँ प्रदान गरे।
समारोहमा आसिफ र आरिफका वीरगन्जका प्रशिक्षक जाहुर अन्सारी, क्रिकेटका प्रशिक्षक प्रकाश शर्मा लगायतलाई पनि सम्मानित गरिएको थियो।