मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सुर्खेत : सुर्खेतको विरेन्द्रनगर नगरपालिका-७ शिवालय चोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पछाडि सवार एक जना भने घाइते भएका छन्। सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाका अन्दाजी २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो। घाइते भएका उनलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते भएका पछाडि सवार बाँकेको बैजनाथ गाउँपालिका-३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाइकल गए राति सवा १ बजे अनियन्त्रित भई पल्टिएको थियो।
मृतक र घाइते दुवै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।