भण्डारीलाई जानकी साहित्य पुरस्कार
हरेक वर्ष प्रदान गरिने यो पुरस्कार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई प्रदान गरिन्छ।
काठमाडौं : किरण पुस्तकालय तम्घास, गुल्मीले यस वर्षको जानकी साहित्य पुरस्कार गुल्मीको धुर्कोट गाउँपालिका निवासी आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ।
हरेक वर्ष प्रदान गरिने यो पुरस्कार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई प्रदान गरिन्छ।
२०१६ सालमा जन्मिएका उनी तिलोत्तमा–८, रूपन्देही बसाइँ सरेका थिए। सरकारी नोकरीबाट सेवानिवृत्त उनका चिराग (लघुकथा संग्रह), अस्वीकृत कथाहरू ! (कथा संग्रह), अविरल यात्रा (लघुकथा संग्रह), चरीका रमाइला कथा (बालकथा संग्रह), काला सर्पको खोजी (लघुकथा संग्रह), कुनमिनको सेरोफेरो (नियात्रा), मनको आँखा (बालकथा संग्रह), गोनु झा र चोरहरू (बालचित्र कथा), सुनको स्याल (बाल उपन्यास) प्रकाशित छन्।
पुरस्कार मोती जयन्तीका दिन प्रदान गरिने पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले जानकारी दिए। स्व. जानकी ज्ञवाली गौतमको सम्झनामा परिवारले २०७३ सालमा पुरस्कार स्थापना गरेको हो। सूर्यबहादुर सेन वलीलाई २०७५, भागीरथी श्रेष्ठलाई २०७६, रामप्रसाद पन्तलाई २०७७, नारद गौतमलाई २०७८ र रुद्र ज्ञवालीलाई २०७९ सालमा उक्त पुरस्कार प्रदान गरिएको थियो।