आजसम्म भूलकोटको दरबारको भग्नावशेष भने स्पष्ट देख्न सकिन्छ। यसरी एउटा शत्तिशाली आदिवासी सार्की भूल राजाको इतिहास आजसम्म गुमनाम पारिएको छ।
बझाङको थलरा गाउँपालिका जिल्लाकै रमणीय क्षेत्रमध्ये एक हो। गाउँपालिकाको बीचबाट ठूली गाड नदी बगेको छ। यसको मुहान प्रसिद्ध खप्तड क्षेत्र हो। ठूली गाडको सहायक सानो खोला र गोमती खोला हुन्। यहाँ डुङराकोट, थलारीकोट (पहिला आग्रीकोट), जामकोट, भूलकोट र गुरुकोट आमने–सामने छन्। यस कोट क्षेत्रमा सबैभन्दा वृद्ध २००१ सालमा जन्मिएका गोेरे उखेडा हुन्। थलराकोट राज्य कहिले बस्यो भन्ने उनलाई थाहा छैन।
तर कोटका राजा रागमनारायण सिंहसँग उठबस भएको उनी बताउँछन्। उनको काम सूचना आदानप्रदानको रूपमा कटुवाल र सुरक्षा व्यवस्था मिलाउनु थियो।
थलराकोट दरबार जाने पुरानो सिँढी र प्रवेशद्वार ।
राजा डोटी गौंडा र बझाङ गौंडामा जाँदा सुरक्षाको जिम्मा उनकै हुन्थ्यो। एकपटक राजा बिरामी हुँदा उखेडा काठमाडौंबाट डाक्टर बोलाउन डोटीसम्म आवा (आकाशवाणी) गर्न पैदलै गएका थिए। उनले आवा गरेपछि हेलिकोप्टरबाट डोटीसम्म डाक्टर आएर बझाङतर्फ लाग्दै थिए। तर अचानक बाटोमै राजा मरेको खबरले डाक्टर त्यहीँबाट फिर्ता गरी एक्लै बझाङ फर्किए।
राजा बस्ने दरबारको एकचुली भत्किएकाले आँगनमा पाल हालेर बसेका थिए। यसबिच केन्द्र सरकारबाट ७ दिनभित्र कोटदरबार छोड्नू भन्ने आदेश आएकाले राजा कोटदरबार छोडेर गए। उखेडा भन्छन्, ‘बझाङकै खोली बजार भन्ने ठाउँमा एक पाण्डे बाहुनको घरमा राजाको मृत्यु भएको थियो।’ राजाले कोटदरबार छोडेर जानुअघि राजाका प्रिय उखेडालाई दरबारमा विद्यालय खोल्नु भन्ने सल्लाह दिएका थिए। त्यही सल्लाहबमोजिम अहिले पुरानो कोटमा २०२६ सालमा स्थापना भएको थलरा माध्यमिक विद्यालय सञ्चालनमा छ। कोटे राजा रागमनारायण सिंहसँग नजिक रहेर दरबारमा काम गरेको हुँदा गाउँपालिका, वरपर र बाहिरबाट आउनेहरूका लागि समेत गोरे उखेडाकै नाम लिने गरिन्छ।
‘राजाले प्रचलनमा ल्याएको छालाको मुद्राको प्रसंग निकाल्नु भयो। उहाँले छालाको मुद्रा आफैंले गुच्चा खेलेको जस्तै खेलाउने गरेको बताउनुभयो’, उखेडा सम्झन्छन्। छालाको मुद्राको विवरण यस्तो रहेछ– ‘सानो गोलाकार छालाको छेउमा सानो प्वाल थियो। छेउमा साबरको मसिनो डोरी, चरीमरी बुट्टा भएको, लेकाली चिनो धानको बालोले घेरिएको, बीचमा सुनको सानो फूली, टीकाजस्तो हालिएको १२ रुपैयाँको छालाको मुद्राबाजे रुसे र बुबा माने उखेडाले राख्नुभएको थियो। यो मुद्रा २००८/९ सालतिर गुच्चा खेलेजस्तै खेल्दै गर्दा हरायौं। अहिले पछुतो लागेको छ। यसलाई राख्न सकेको भए निकै मूल्यवान् मुद्रा रहेछ।’
थलराकोटको यस संवादपछि भूलकोट नजिकै बस्ने ८० वर्षीय महावीरे सार्कीसँग संवाद गर्ने अवसर मिल्यो। उनी भन्छन्, ‘जामकोट, भूलकोट (डोमकोट) पुर्खा र हामीले नै पहिला आवादी गरेका हौं। नापी आउँदा पछि सबै टाठाबाठाले कुलोमुनिको खेत स्याउ, सुन्तला हुन्छ भन्ने बुझे। नापीले सात दिनको सूचना जारी गरे। सूचनाबमोजिम नापी आयो तर हाम्रो नाममा पुख्र्यौली जमिन नाप्न दिइएन। सबै जमिन उपाध्याय... आदि भन्दै आफ्नै नाममा जमिन नापे। हामीलाई सुकुम्बासी जस्तै बनाए।’
भूलकोटकै स्थानीय तिलवीर सार्की भन्छन्, ‘भूलकोटमा भूल राजा बस्छन्, छालाको पैसा काट्छन् भन्ने कुरा जिजुबाजेबाट सुनेको थिएँ।’ यसै सन्दर्भमा विष्णु सार्कीको बुझाइ यस्तो छ, ‘भूलकोटी राजाको दरबारको भग्नावशेषमा जगको ढुंगा र वाल देखेको अरूले भनेको सुनेको छु।’ भूलकोट क्षेत्रकै लाल सार्कीका अनुसार जामकोट, भूलकोट (डोमकोट) कथित तल्ला भनिएका जातिको भएकाले २०४५ सालको नापीमा टाठाबाठाले कोटका सबै जमिन आफ्नो नाममा पारेछन्। ‘बाजे, बराजु, बुबाको पुख्र्यौली भूमिसमेत मुखियाहरूले पोता (तिरो) तिर्दा खस बाहुनहरूले नै सबै कब्जा गरिदिए’, उनी थप्छन्। पहिला यस ठाउँलाई थलारी (पुचौंडी) ज्युलो भनिन्थ्यो। भूलकोटी राजाको दरबार आसपासको जमिन करिब ३५ देखि ४० रोपनी जति रहेको छ।
अहिले भूलकोट लगभग पूरै जंगलमा परिणत भएको छ। यस जंगल क्षेत्रलाई थलराकोट गाउँपालिका–६ का भाट गाउँका टाठाबाठाले दर्ता गरी कब्जा गरेका छन्। स्थानीय राजेन्द्रबहादुर विश्वकर्माका अनुसार टाठाबाठाले भूलकोट क्षेत्रको सबै जमिन नापीमा नापेर रैथाने भूलवंशका सन्ततीहरूलाई लगभग भूमिविहीन बनाएका छन्। उनी भन्छन्, ‘पहिला खोलीखेत र जामकोटसमेत हाम्रै पुर्खाले मालपोत तिरेको रसिद थियो।’
यस विषयमा भूलकोटका स्थानीय मोहन सार्की र सिद्ध कामीले समेत सत्य र साँचो रहेको बताएका छन्। अरू स्थानीय, इतिहासकार, जानकार वा लेखकहरूले भने आजसम्म भूलकोटका बारेमा रे, अरे, ऐ, हो रे, होला, थाहा छैन भनेर सत्यतथ्य वास्तविक इतिहासलाई विषयान्तर र किंवदन्तीमा सीमित गर्दै आएको पाइन्छ।
बझाङमा जामकोट र भूलकोट नजिकै छन्। जामकोटमा जाम राजाले राज्य गर्थे। पल्लो थुम्कोमा जामकोट र वल्लो थुम्कोमा भूलकोट छ। जामकोटमा शूद्र राजा नै थिए वा अरू समुदायकै थिए भन्ने खोजीको विषय छ। तर भूलकोटको नजिकै रहेकोले जामकोट पनि शूद्र राजाकै हुने सम्भावना छ।
तर २०७८ फागुन १५ गतेका दिन भूलकोटका ९० वर्षीय नरी गिरी साक्ष्य प्रमाणको रूपमा उभिए। गिरी सारा अनुमान रे, ऐ भन्नेहरूलाई भौगोलिक तथ्य प्रमाणको रूपमा आफैं जिउँदो प्रमाणको स्वरूपमा प्रस्तुत भइदिए। उनी १५ वर्षको उमेरदेखि भूलकोट क्षेत्रवरपर चरण, खर्कमा भैंसी, गाईबस्तुको गोठ खर्क चलाएर बस्दै आएका रहेछन्। यसर्थ उनलाई जामकोट, भूलकोटलगायत वरपरको वातावरण र भूगोलको बारेमा रौं रौं थाहा रहेछ। लेखक ‘दमु’को नेतृत्वमा थलरा गाउँपालिका–६ बस्ने गिरीको अगुवाइमा भूलकोट भग्नावशेषको पहिलोपटक स्थलगत अवलोकन, अध्ययन भ्रमण गरिएको हो। स्थानीय निकायको पुनर्संरचनापछि जामकोट, भूलकोट थलरा–६ मै छ। भ्रमणमा अन्य सहभागीमा थलरा गाउँपालिका–६ बस्ने लाल सार्की (४०), तिलवीर सार्की (६१), सिद्ध कामी (४५) र मोहन सार्की (३५) थिए।
खेत बाँझै पाल्या वन, बाँझै।
खेत बाँझै पाल्या वन, बाँझै।।
पारिका ताडले बझाङ जिल्ला बगाई लइगो।
पारिका ताडले बझाङ जिल्ला बगाई लइगो।।
खानु छै है अमिले हलो जोती बाउसी खनी।
खानु छै है अमिले हलो जोती बाउसी खनी।।
गिरीले यस्तो गीत सुनाए। उकालो यात्रामा गीतले सबैलाई हौसला, ऊर्जा र जाँगर थपिदियो। उकालो डेढ घण्टाको यात्रापछि डाँडापार गरी तेर्सो बाटो लागियो। उनका अनुसार १५–२० वर्ष अघिसम्म कोट क्षेत्र प्रस्ट रूपमा देख्न सकिन्थ्यो। लेकाली बोटबिरुवा, काँडेदार बुट्यान र रूखपातले भूलकोट क्षेत्र छपक्कै ढाकिएको छ। गोठखर्कमा बस्दा गिरीसँग यहाँको भौगोलिक अवस्थाको राम्रो जानकारी रहेकाले धैरै सजिलो भयो। बुट्यान, झाडी र काँडा पन्छाउँदै, टाउको निहुराएर, घुँडा र हात टेक्दै, बामे सर्दै करिब आधा घण्टा जति अघि बढ्यौं।
बझाङ थलारास्थित भूलकोट दरबार (झाडी र जंगलमा परिणत) बसेको थुम्को
भूलकोट दरबारको अवलोकन सकेर रानीचौरबाट अर्कोबाटो निकै तल झर्यौं। झाडी पार गर्दै झाडीकै बीचमा पुगियो। जहाँ अलि–अलि खाल्डो परेको डोबजस्तो भग्नावशेष देखियो। त्यहाँ पुगेपछि नरी गिरीले रोकिन भने।
गिरीका बाजे लाल गिरीले सुनेको, आफैंले देखेको, भोगेको भूलकोटका बारेमा भग्नावशेष दरबार परिसरमै बसेर निम्न तथ्य प्रमाणको विवरण बताए। यस भौगोलिक तथ्य प्रमाण र आधारले भूलकोटका बारेमा थप खोज, अध्ययन तथा अनुसन्धानका लागि बलियो आधार बन्न सक्ने विश्वास लिन सकिन्छ। गिरीले बताएअनुसार भूलकोटको वस्तुगत र तथ्यगत भौगोलिक आधारहरू यस प्रकार छ–
- भूलकोटको उत्तरी मोहोडामा घोडी लास (तवेला) को गोठको भग्नावशेष रहेको प्रत्यक्ष देखिन्छ। गोठको धुरीको खाँबो बस्ने जमिनको सतहबाट ७ फुट जति अग्लो, धुरीबाट पानी बग्नेतिर ६ फुट र घोडा बस्ने वरिपरिको ठाउँ २० फुट जति फराकिलो रहेछ। यो गोठमा दुबैतिरबाट पस्ने र निस्कने ढोका देखिन्छ। गोठ खाल्डोको सतहमा पातपतिंगरले छोपेको देखिन्छ। यसलाई चारैतिर बुट्यान र झाडीले पुरै छोपेको छ। गिरीका अनुसार १५–२० वर्षअघि खुल्ला रूपमा गोठको संरचना देख्न सकिन्थ्यो। नरी गिरीले भाट गाउँका गोठालाहरूबाट सुनेअनुसार यस घोडा बाँध्ने लासमा हरेक रातको समयमा बत्ती बलिरहन्थ्यो भन्ने जानकारी दिए।
- भूलकोट दरबार परिसरको भग्नावशेष झाडी र बुट्यानले छोपिएको अवस्थामा दरबारको आँगनसहित करिब ६० फुट लम्बाइ र चौडाइ ४५ फुट जति छ। दरबार सुरक्षाका लागि घेरिएको पर्खालसमेत ठाउँ–ठाउँमा टुटेको तर प्रष्ट देख्न सकिन्छ। अहिले यो पर्खाल कतै २ फुट, कतै ४ फुटसम्मको र २४ इन्चसम्मको मोटाइ छ।
- गिरीका अनुसार दरबारको पूर्व दिशा बैठक कक्ष, छालाको मुद्रा बनाउने, सुकाउने ठाउँ छ।
- बैठक कक्षसँगै जोडिएको दरबारको आँगनको भागको क्षेत्र पनि प्रष्ट देख्न सक्ने अवस्थामा छ।
- दरबार परिसर क्षेत्रबाट करिब तीन सय मिटर जति सामुन्ने तलतिर पूर्वी दक्षिण क्षेत्रमा रानीचौर नामकरण गरिएको चौर रहेको पाइयो। गिरीका अनुसार यहाँ सार्की रानी समयसमयमा खेल्ने, रमाउने, आनन्द लिने र घुमफिर, आराम गर्ने क्रीडास्थलको रूपमा प्रयोग गरिएको पाइयो। रानीको खेल्ने, रमाउने गर्ने ठाउँ भएकाले नै रानीचौर नामकरण गरिएको रहेछ।
- सार्की राजाको भूलकोट क्षेत्र अत्यन्तै सुन्दर, मनमोहक र उच्च स्थानमा छ। यहाँबाट सुरक्षाको हिसाबले चारैतिर उपर्युक्त स्थानमा देखिन्छ।
- गिरीकै अनुसार भूल राजाले रानीचौरको ठीक तलतिर पूर्वदिशामा चार सय मिटर जति पारिपट्टी खप्तड क्षेत्रको हिउँको जरा रहेको खौलो र कोटको पश्चिमतिर थुम्कोमुनि पाँच सय मिटर जति टाढाको कुवाबाट पानीको आपूर्ति गरी खाने गर्थे।
- भूलकोट दरबारको पूर्वतिर खप्तड, पश्चिमतिर ग्वाल्लेक, उत्तरतिर सुर्मासरोवर, कैलाश र मानसरोवर र दक्षिणतिर मालिकाको पहाड र डोटी जिल्ला छ।
यसरी गरियो सार्की राजाको वंश नाश
बझाङमा जामकोट र भूलकोट नजिकै छन्। जामकोटमा जाम राजाले राज्य गर्दथे। पल्लो थुम्कोमा जामकोट र वल्लो थुम्कोमा भूलकोट छ। जामकोटमा शूद्र राजा नै थिए वा अरू समुदायको भन्ने कुरा थप खोजीको विषय छ। तर भूलकोटको नजिकै रहेकोले जामकोट पनि शूद्र राजाकै हुन सक्ने प्रबल सम्भावना देखिन्छ।
भूलकोटलाई डोमकोट पनि भनिँदो रहेछ। त्यसो त मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा आमउत्पीडित समुदायलाई गाली वा हियाएर अरू जातकाले
डोम भन्ने गर्थे। कथित तल्लो मानिएका सार्की जातिको कोटराज्य भएकाले अरूले डोमकोट भनिएको हो। यसको सुन्दरता, आकर्षण, मनमोहक, चारैतिर पहाड तर उपत्यकाजस्तो देखिने दुई थुम्कोमा कोट छ।
दरबारले विकल्पको रूपमा प्रयोग गर्ने खानेपानीको कुवा देखाउँदै स्थानीय ।
नरी गिरीका बाजे लाल गिरीले बताएअनुसार डोमकोटमा डोम राजा बस्थे। त्यहाँ भदौ महिनामा छाला सुकाउने रहेछन्। डोमकोटका राजाकी छोरी/चेली कुमाउँका चन्द राजाले विवाह गरी लगेछन्। कुमाउँका राजा चन्द (डोटी राजा हरि शाही, कुमाउँ राजा चन्द भन्ने गर्छन्), यता भूलकी छोरी। उहाँ गएर बसेर घरबार भइसकेपछि एकदिन चन्द राजाले बाह्र महिनाभित्र कुन महिना घाम बढी लाग्छ भनेर सोधेछन्। सहभागीले कसैले भदौ, कसैले कात्तिक, कसैले असोज महिना भनेछन्।
दरबार परिसर क्षेत्रबाट करिब तीन सय मिटर तलपूर्वी–दक्षिण क्षेत्रमा रानीचौर नामकरण गरिएको चौर पाइन्छ। जहाँ सार्की रानी समयसमयमा खेल्ने, रमाउने, आनन्द लिने र घुमफिर, आराम गर्ने क्रीडास्थलको रूपमा प्रयोग गरिएको पाइयो। यसरी रानीचौर नामकरण गरिएको इतिहास छ।
तर कसैले सही महिना भन्न सकेनछन्। तर भूल राजाकी छोरीले सबैभन्दा बढी घाम भदौको महिना लाग्छ भनिछन्। त्यसपछि चन्द राजाले रानीलाई लौ तैंले कसरी थाहा पाइस् भनेर सोधेछन्। उनले भनिछन्– मेरो बुबाले भदौमा छाला सुकाएर मुद्रा बनाउनु हुन्छ। नौ पत्र छाला खप्टाएर सुकाउँदा पनि सुक्थ्यो। त्यसैले बढी घाम भदौको महिना लाग्छ। किनकि उनले बुवाको दरबारमा छालाको मुद्रा बनाएको सबै प्रक्रिया देखेकी थिइन्।
कोटहरूको अध्ययन, अनुसन्धान र वार्तालापका लागि पुगेका लेखक नेपाली स्थानीयवासीसँग ।
भूल राजाले गाई, गोरु र भैंसीको नौ पत्र छाला एकै ठाउँ खप्टाएर सुकाएर मुद्रा बनाउने गर्थे। नौ पत्रसम्म छाला सुक्ने चर्को घाम लाग्ने भदौको सन्दर्भले चन्द राजा झस्किएछन्। ओहो ! म चन्दको छोरो, ऊ भूलकी छोरी !? भनेर कुमाउँबाट चन्द राजा रातारात आएर भूल राजा, उनको परिवार र सबैलाई काटेर हत्या गरिदिएछन्। थाहै नपाई आएर चन्द, ठकुरीहरूले हत्या गरेर दरबारमा आगजनी, लुटपाट गरेर भागेको बाजेबाट सुनेको गिरी बताउँछन्।
यस सन्दर्भबाट साँच्चिकै चन्द राजा कुमाउँकै थिए वा स्थानीय कुनै सामन्त, ठालुहरूको षड्यन्त्रबाट श्रमजीवी रैथाने आदिवासी सार्की राजा मारिए ? विषय गम्भीर छ। पश्चिम नेपालका धेरैजसो ठाउँहरूका रैथाने उत्पीडित जातिहरूका कोट, किल्ला, गढीका राजकाज यसैगरी षड्यन्त्रमूलक रूपमा हडपेको पाइन्छ। त्यस समयदेखि आजसम्म भूलकोटको बारेमा न कसैले खोज्यो, न कसैले लेख्यो, न कसैले नै चासो दियो।
आजसम्म भूलकोट दरबारको भग्नावशेष भने स्पष्ट देख्न सकिन्छ। यसरी एउटा शक्तिशाली आदिवासी सार्की भूल राजाको इतिहासलाई आजसम्म गुमनाम पारिएको छ। नरी गिरी १५ वर्षको उमेरदेखि यही गोठखर्कमा काम गरेर बसेकाले भूल राजाको पर्खाल धेरै नै प्रष्ट देखेको बताउँछन्। तर अहिले बुट्यान, झाडी र जंगलले ढाकेकाले अलि कम देखिन्छ। यसको संरक्षण, उत्खनन र खोज गर्न सकेमा किंवदन्ती जस्तो बनाइएको सार्की राजाको इतिहास बाहिर आउन सक्छ।