केन्द्रीय कारागार अस्पतालमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी कक्ष सञ्चालन
काठमाडौंः केन्द्रीय कारागार अस्पतालमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी कक्ष सञ्चालनमा आएको छ।
गृहसचिव विनोद प्रकाश सिंहले अस्पतालमा एक समारोहका बीच कैदी/बन्दीहरूका लागि अस्पतालले विस्तार गर्न लागेको मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी सेवा तथा एम्बुलेन्स सेवाको उद्घाटन गरेका हुन्।
गृहसचिव सिंहले अस्पतालमा रहेका बहिरंग तथा अन्तरंग विभाग, एक्सरे विभाग, प्रयोगशाला कक्ष, मानसिक कक्ष, लगायतका सेवाको अवलोकन तथा निरीक्षण गरि उपलब्ध सम्पूर्ण सेवाहरूका बारेमा जानकारी लिए।
सिंहले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको कार्यक्रम समावेश हुन सक्ने अवस्था नरहेको बताउँदै साधन र श्रोतको अभावका बीच इच्छाशक्तिको भरमा केन्द्रीय कारागार अस्पतालले गुणस्तरीय उपचार सेवा व्यवस्थापनमा देखाएको उदाहरणप्रति गृह मन्त्रालयको तर्फबाट धन्यवाद दिए। साथै अस्पतालको सुदृढीकरणलाई गृह मन्त्रालयले उच्च प्राथमिकतामा राख्ने जानकारी दिए।
केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले अस्पतालको वर्तमान अवस्था, निकट भविष्यमा सञ्चालन हुन लागिरहेको स्वास्थ्य बिमा व्यवस्थापन, अस्पतालको बजेट, कर्मचारीहरूका लागि प्रोत्साहन, ३० शैय्यामा सञ्चालनमा रहेको अस्पताललाई ५० शैय्याको अस्पतालका रूपमा विस्तार गर्ने योजना लगायतका विषयवस्तुमा ध्यानाकर्षण गराएका थिए।