मधेस प्रदेश स्तरीय फुटबलको उपाधि बारालाई
वीरगन्ज : मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बाराले जितेको छ। वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सालाई १–० ले स्तब्ध पार्दै बाराले उपाधि उचालेको हो।
पहिलो हाफको ३८ औं मिनेटमा बाराका लागि सन्देश चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बनेपछि उपाधि बाराको पोल्टामा गएको हो।
पहिलो हाफमै १–० ले पछि परेको पर्साले दोस्रो हाफमा भने केही सुधारात्मक प्रदर्शन गरेको थियो। तर बाराको रक्षापङ्ति अझ सशक्त हुँदा पर्साका स्टाइकरले राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेपछि खेलको अन्तिम नतिजा बाराको पक्षमा गएको हो।
उपाधिसँगै बाराले नगद १ लाख ५० हजारसँगै ट्रफी पायो भने उपविजेता पर्साले नगद ७५ हजारमै चित्त बुझाउनु पर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पर्साका कार्लोस पटेल घोषित भए। यस्तै उत्कृष्ट स्टाइकर पर्साकै सुजल डंगोल, उत्कृष्ट मिडफिल्डर पर्साकै कृष्ण शाक्य, उत्कृष्ट गोलरक्षक बाराका दिलमणी चौधरी र उत्कृष्ट रक्षक बाराकै विश्वास गुरुङ घोषित भए।
मधेस प्रदेश सरकारका वन राज्यमन्त्री रहबर अन्सारी र प्रदेश सभा सदस्य श्याम पटेलले विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र ट्रफी प्रदान गरे। दुवै टिमका खेलाडीलाई मेडल भने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनले प्रदान गरे।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा चैत ११ गतेदेखि आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका आठ टिम सहभागी थिए।