ठाकुरराम क्याम्पसका कर्मचारीहरू आन्दोलनमा
वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा करारमा कार्यरत कर्मचारीहरू क्याम्पसमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका छन्।
क्याम्पस प्रमुखले त्रिवि कर्मचारी संघको अध्यक्षकै पत्निलाई आफूखुशी पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको विरोधमा कर्मचारीहरू सोमबारदेखि आन्दोलित भएका हुन्।
आन्दोलनरत कर्मचारीहरूले सोमबार क्याम्पसको प्रशासन, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिहान १० देखि साँझ ५ बजेसम्म धर्ना पनि दिएका छन्। मंगलबार पनि धर्ना दिने कार्यक्रम रहेको त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको एकाई समिति अध्यक्ष गीता श्रेष्ठले बताइन्।
क्याम्पस प्रमुख उमेश चौरसियाले त्रिवि कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीसँग मिलोमतो गरी चौधरीकै पत्नि श्रीगणेशमाया शाहीलाई क्याम्पसको पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको आन्दोलनरत कर्मचारीहरूको आरोप छ।
क्याम्पसमा विगत १४ वर्षदेखि १० जना कर्मचारीहरू अति न्युन तलबमा काम गर्दै आइरहेको भए पनि नयाँ कर्मचारी नियुक्तिमा उनिहरूलाई प्राथमिकता नदिइ कर्मचारी संघका अध्यक्षकै पत्निलाई आफूखुशी क्याम्पस प्रमुखले नियुक्त गरेकाले त्यसको विरोधमा उत्रिएको आन्दोलनरत त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको एकाई समिति अध्यक्ष श्रेष्ठले बताइन्।
शाहीको नियुक्ति खारेज हुनुपर्ने आन्दोलनरत कर्मचारीहरूको माग छ। अन्यथा तालाबन्दी र धर्ना कार्यक्रम जारी नै रहने अध्यक्ष श्रेष्ठले बताइन्।
यसका साथै विगत १४ वर्ष देखि अति न्यून तलबमा काम गरिरहेका १० जना कर्मचारीहरूको तलब त्रिवि नियमानुसार उपलब्ध गराउन पनि उनीहरूले क्याम्पस प्रशासनसँग माग गरेका छन्।