बिस्ट नै सम्पत्ति, बिस्ट नै अंश

बिस्ट नै सम्पत्ति, बिस्ट नै अंश
आरानको काम गर्दै धार्चे–१ हुलचुकका बिश्वकर्मा समुदाय।  शिव उप्रेती
सुन्नुहोस्

गोरखा : आफ्नो नाममा नङ्मा लाउने माटो पनि नभएकी धार्चे–१ हुल्चुककी मनमाया बिकलाई लाग्छ, आफ्नो श्रीसम्पत्ति भनेकै बिस्टहरू हुन्। उनीहरूले दिएको गहुँ, मकै, कोदोले जहान परिवारको पेट पाल्छिन्। उनीहरूले दिएको नुन, तेल, मरमसलाले भान्सा मीठो बन्छ। ‘यही बिस्टले दिएको आनासुकी पैसा, मानामुठी अन्नले त हामी पालिएको हो’, उनी सन्तानलाई पनि यही सिकाउँछिन्, ‘हाम्रो जे भन्नु सम्पत्ति नै बिस्टहरू हुन्।’

पूर्ण रूपमा किसानी पेसामा निर्भर हुलचुकका गुरुङ र घलेले कुटो, कोदालोलगायतका कृषि सामग्री बनाउन पाँच पुस्ताअघि गोरखाकै ताकुबाट एक बिश्वकर्मा दम्पतीाई त्यहाँ लगेका थिए। त्यसयता उनीहरू विकल्प नखोजी आरानमा खलाँती धुन्छन्, फलाम पिट्छन्, हँसिया, कुटो, कोदालो अर्जाप्छन्। अनि बिस्टको घरमा पुर्‍याउँछन्। त्यसबापत बिस्टले सिजनअनुसारको अन्नबाली, तरकारीबाली, मसलाबाली दिन्छन्। 

‘बिस्टलाई चाहिने कुटो, कोदालो, हँसिया, खुर्पा, खुकुरी, खुँडा, दाउ, बञ्चरो, छिनु, फाली, ताउलो, हण्डा, गाग्री बनाउँछौँ’, राज बिक भन्छन्, ‘कामको मिच्चो भएको बेलामा अर्जाप्नु पर्छ, नयाँ बनाउने फुर्सद हुँदैन। सिजन नभएको बेलामा चाहिँ नयाँ पनि बनाउँछौँ।’ नयाँ बनाएको छुट्टै पैसा लिने गरेको उनको भनाइ छ। ‘अर्जापेको चाहिँ बाली लिन्छौँ, नयाँको चाहिँ पैसा लिने हो’, उनले भने।

२ सय घर बिस्टलाई यहाँका १२ घरपरिवार बिश्वकर्माले बराबर अंश लगाउँछन्। ‘पाँच पुस्ता पहिले त हाम्रो एकै जना पुर्खा थिए। उनका छोराहरू छुट्टिँदा भिन्न हुँदा बिस्ट भाग लगाए। उनका छोराले पनि सन्तान ठूला भएपछि बिस्ट भाग लगाए। यसरी नै आजसम्म चलिरहेको छ’, मनमाया बिक भन्छिन्, ‘सगोलमा बसुञ्जेल त केही भएन, छोराहरू छुट्टाभिन्न भएपछि धनसम्पति अंश लगाउने हो। हाम्रो त सम्पत्ति भनेकै बिस्ट नै हो। यो बिस्ट यो छोराको भाग, त्यो बिस्ट त्यो छोरालाई भनेर अंश लगाउने हो।’ कुनै छोराले कुनै बिस्ट मन पराएन अथवा कुनै बिस्टले कुनै बिश्वकर्मा रुचाएनन् भने दाजुभाइका बीचमा साँटफेर गर्ने चलन रहेको पनि उनले बताइन्।

यहाँका सबै सुकुमबासी बिश्वकर्मा समुदायले आरान पेसालाई अविछिन्न अपनाइरहेका छन्। पेसा, व्यवसायको अर्को विकल्प नपाएका कारण पुस्तौंदेखिको बालीघरे प्रथालाई निरन्तरता दिएका हुन्। ‘गरिखानलाई बारी छैन। ओत लाग्ने घर त आफ्नो नाममा छैन’, राजु विश्वकर्मा भन्छन्, ‘जिजुबाजेको पालादेखिको चलन अहिले पनि छ।’ वैदेशिक रोजगारीमा नगएको त होइन। तर, विदेश कसैलाई पनि नफापेको उनको भनाइ छ।

कुटो, कोदालो अर्जापेबापत बिस्टहरूले सिजनअनुसार बाली दिन्छन्। ‘उहाँहरूकै सेवा गरेर त नुन दिन्छन्, खुर्सानी दिन्छन्। असोजमा मकै, भटमास, मंसिरमा कोदो, वैशाखमा गहुँ, जौ दिन्छन्’, उनी भन्छिन्, ‘एक घरले ५÷६ पाथीका दरले दिन्छन्। त्यसले हामीलाई खान पुग्छ। निमेक गरेर पनि अलिअलि कमाउँछौँ।’ निमेक गर्दा बाली दिए दिनको दुईपाथी, नगद दिए एकदिनको तीन सय रुपैयाँका दरले दिने उनले बताए। 

‘हामी दलित त खेरै गको हो। बस्ने ठाउँ छैन, गरेर खाने जग्गा जमिन छैन। गुरुङहरूको गरिखाने ठाम छ। हामीचाहिँ रातदिन उनीहरूको काम गरेर खाने हो’, तेजमाया बिक भन्छिन्, ‘सरकारी काम गर्न पाए लोग्नेछोराले दिनको छ सय, छोरीबहिनीले दिनको पाँच सय पाउँछन्। तर, सरकारी काम त एक दिन, दुई दिनभन्दा धेरै गर्न पाइँदैन। समितिमा बस्नेले चाहिँ काम नसकिन्जेल गर्न पाइन्छ।’ नत्र बिस्टकै काम गरेर परिवार पालिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.